१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

एमालेसँग सम्वाद गरेर अर्को बैठक राख्न सभामुखलाई नेताहरूको सुझाव



काठमाडौं । दलहरुले प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई सम्वादमा ल्याउन सभामुखलाई सुझाव दिएका छन् ।

संसदमा एमालेले लगातार नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले सोमबार संसदमा भएका दलका शीर्ष नेताहरुको बैठक बोलाएका थिए । बैठमा एमालेका नेताहरु उपस्थित नै भएनन् । एमाले नै अनुपस्थित भएपछि बैठक कुनै निष्कर्षमा पुग्न सकेन ।

सभामुख सापकोटाले आफूले विहानसम्म पनि प्रयास गरेको, तर सम्भव नभएको बताए । ‘जोसँग सम्बन्धित थियो, उहाँहरु नै नआइदिनुभएको हुनाले कुनै निष्कर्षमा पुग्न सकिँदैन भन्ने आयो । प्रतिपक्षलाई सम्वादमा ल्याएर सर्वदलीय बैठक बोलाउन आग्रह गरेका छौं’, बैठकपछि राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले भनिन् ।

सभामुख र कानूनमन्त्रीले बैठकमा एमालेलाई बैठकमा बोलाउन गरिएको प्रयत्नबारे नेताहरूलाई ‘ब्रिफिङ’ गरेका थिए । बैठकमा प्रधानमन्त्री एवं कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा, माओवादी केन्द्रका पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एस) का माधवकुमार नेपाल, जसपाका नेता उपेन्द्र यादव, लोसपाका महन्थ ठाकुर, जनमोर्चाकी दुर्गा पौडेल, नेमकिपाका प्रेम सुवाल, राप्रपाका राजेन्द्र लिंदेनलगायत उपस्थित थिए ।

कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङसँग सोमबार विहान भएको सका नेताले सोमबारको बैठकमा नजान भनेका कारण आउन नसक्ने उनको भनाई छ ।

यस्तै लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले बैठकमा एमाले सहभागी नभएका कारण बिना निष्कर्ष टुंगिएको जानकारी दिए । एमालेसँग फेरी पनि संवादको प्रयास गर्नुपर्ने सुझाव रहेको उनको भनाई छ ।

सभामुखको भूमिकाप्रति असन्तुष्टि व्यक्त गर्दै प्रमुख प्रतिपक्षि एमालेले संघीय संसदको अधिवेशन चालू भएदेखि दुवै सदनमा अवरोध गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस !