१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

दुई सय ७ जना पकेटमार पक्राउ, यस्ता छन् पकेटमारका सांकेतिक कोडहरु



काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले विशेष अभियान सञ्चालन गर्दै सवारी साधनमा पकेटमारी गर्ने २ सय ७ जनालाई पक्राउ गरेको छ । भदौ ५ गतेदेखि असोज १५ गतेसम्मको अवधिमा विभिन्न क्षेत्रबाट २ सय ७ पकेटमारलाई प्रहरीले पक्राउ गरेको हो । उपत्यकाको सुरक्षा व्यवस्थालाई त्रुटिरहीत, भरपर्दो, विश्वसनीय र मजबुत बनाइ जनजीवन सामान्य तुल्याउन र देश विदेशबाट दशैं तिहार मनाउन घर फर्कनेहरुको सवारी साधनमा पकेटमारी हुन सक्ने वा किनमेल गर्न जाँदा पकेटमारी हुन सक्ने भएकोले सक्रिय भएको प्रहरीले जनाएको छ ।

काठमाडौंको रिङरोडबाहिर र भित्रि इलाकामा चल्ने सार्वजनिक यातायातहरु सपिङ मल, मुख्य मुख्य मार्केटहरुमा पकेटमारी हुन नदिन प्रहरी सक्रिय भएको छ । माइक्रोबसका यात्रुहरु तथा किनमेल गर्न गएकाहरुको पकेट तथा झोलामा रहेका नगद, मोबाइल, गरगहना चोर्दाचोर्दै उनीहरुलाई पक्राउ गरिएको र जसमध्ये ४६ जना कारागार चलान भएको परिसर काठमाडौंले जनाएको छ । सादा पोशाकका प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

सार्वजनिक बसहरुमा पकेटहरु २/२ जनाको दरले ६ जनासम्मको समूह बनाइ बसभित्र छिर्ने र पैसा भएको यात्रु पत्ता लगाई अगाडि पछाडिबाट घेरावन्दीमा पारेर ठेलमठेलको अवस्थामा मोबाइल, नगद र सुनचाँदी पकेटमारी गरेको अनुसन्धानबाट खुलेको छ । उनीहरुले पकेटमारी गर्दा विभिन्न कोड भाषा प्रयोग गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

यस्ता छन् पकेटमारका सांकेतिक कोड

पकेटमारले प्रयोग गर्ने सांकेतिक भाषा स् ९ पैसा – द , मोबाइल – कान, पकेटमारी पीडित – रामे,

पकेटमारी गर्ने (मास्टर) – काशी, पैसा धेरै छ – ‘टानको द’ पैसा थोरै छ ‘जुटको द’, गाडी –‘कांचा’

केटा – छापा, केटी –भद्रि, पुलिस आयो– ठल्दाइ आयो , ड्राइभर – माम, खलासी– मले

गाडीबाट झरेर भाग– टप्की

गाडीभित्र अगाडि सर – अकल जा

गाडीभित्र पछाडि सर – चिछल जा


प्रतिक्रिया दिनुहोस !