५ जेष्ठ २०८१, शनिबार
 |   Sat May 18 2024
Logo

यातायात व्यवसायीको फेरि बार्गेनिङ सुरु, भाडा बढाउनुपर्ने सर्त



बागमती प्रदेशका यातायात व्यवसायीले भाडा बढाउनुपर्ने भन्दै आन्दोलन सुरु गरेका छन् । पेट्रोलियम पदार्थको मूल्य बढे पनि सरकारले सार्वजनिक सवारी साधनको भाडा नबढाएको भन्दै आन्दोलन गरेका हुन् । गत साउनमा केही दिन आन्दोलन गरेका व्यवसायीहरुले सोमबारबाट पुनः आन्दोलन सुरु गरेका हुन् । 

सरकारले अन्तरप्रदेश चल्ने लामो दूरीमा बसमा भाडा बढाइ सकेको छ भने अन्य केही प्रदेशले पनि भाडा बढाएका छन् । नियमअनुसार स्थानीय क्षेत्र र आन्तरिक प्रदेशको भाडा समायोजनको अधिकार सम्बन्धित प्रदेशलाई हुन्छ । तर, बागमती प्रदेश सरकारले भने हालसम्म भाडा बढाएको छैन । 

‘मन्त्रालयमा छलफल त भइरहेको छ, भाडा बढाउन बनेको समितिले प्रतिवेदन बुझाएको छ । तर, मन्त्रीको व्यस्तताले बाँकी काम भने अगाडि बढ्न सकेको छैन ।’ भौतिक पूर्वाधार विकास मन्त्रालय, बागमती प्रदेशका प्रवक्ता नवीनकुमार सिंह भन्छन्, ‘भाडा समायोजनाको विषयमा आज केही छलफल भएको छैन, मन्त्रीहरुको कहिले समय मिल्छ र निश्कर्ष निस्किन्छ भन्न सक्ने अवस्था अहिले छैन ।’ 

चक्रपथ वरिपरि करिब ५ सय वटा बस राखेर व्यवसायीहरुले आन्दोलन गरेको प्रहरीले जनाएको छ । साथै सबै सवारी चालकहरुले चाबी लिएर हिँडेकाले प्रहरीलाई बसको व्यवस्थापन गर्नसमेत समस्या भएको छ । व्यवसायीले सवारी साधन बन्द गरेपछि उपत्यका यात्रुलाई सास्ती हुनुका साथै सवारी व्यवस्थापनसमेत अस्तव्यस्त बनेको छ ।


प्रतिक्रिया दिनुहोस !