३ जेष्ठ २०८१, बिहीबार
 |   Thu May 16 2024
Logo

नेपाल-भारत रेल सम्बन्धी संयुक्त कार्यदल बैठक: रक्सौल-काठमाडौं रेलमार्गको सम्झौता हुने



 नेपाल भारत जोड्ने रक्सौल – काठमाडौं रेलमार्गको द्धिपक्षीय सम्झौता (एमओयु) गर्ने तयारी भएको छ। बुधबारबाट दिल्लीमा सुरु भएको नेपाल-भारत रेलसम्वन्धि संयुक्त कार्यदल (जोइन्ट वर्किङ कमिटी)को बैठकमा एमओयु हुँदैछ।

कार्यदलमा रक्सौल – काठमाडौं रेलमार्गको एमओयुको एजेण्डामा छलफल चलिरहेको छ। ‘हामी अहिले भारतीय पक्षसँग छलफलमै छौ। बेलुकीसम्म दुई/तीनवटा महत्वपूर्ण निर्णय गर्छौ,’ रेल विभागका महानिर्देशक दीपक भट्टराईले भने,’रक्सौल काठमाडौंको एमओयु हुन सक्छ।’

रक्सौल – काठमाडौं रेलमार्गको तीन बर्ष पहिले नै पूर्व सम्भाव्यता अध्ययन भैसकेको छ। भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा प्रिलिमिनरी इन्जिनियरिङ एण्ड ट्राफिक सर्भे  भएको हो। सोही अध्ययनले आयोजना सम्भव देखाएको थियो। तीन बर्ष अघि नै पूर्व सम्भाव्यता अध्ययन भएपनि थप अध्ययनको प्रक्रिया भने अझै अघि बढ्न सकेको छैन। पछिल्लो समय थप अध्ययनका लागि भारतीय पक्ष इच्छुक भएपनि नेपालले चासो देखाएको छैन।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मन्त्रीविहिन हुदा निर्णय हुन सकेको थिएन्।  सहसचिवस्तरीय कार्यादलले एमओयु गर्ने निर्णय गर्ने र मन्त्री नियुक्त भएपछि हस्ताक्षर हुनेछ। भारतीय पक्षले आफ्नै प्राविधिक र आर्थिक सहयोगमा अध्ययन गरिदिन लागेको हो। १८ महिनामा फाइनल लोकेसन सर्भे गरिदिनेछ। जुन विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) सरहकै हुनेछ। एमओयु भए थप अध्ययनका लागि बाटो खुल्ने भट्टराईको भनाइ छ।

यस अघि भारतीय कम्पनी कोंकर्ण रेल्वे कर्पोरेशनले पूर्व सम्भाव्यता अध्ययन गरेको हो। जसले   १४० किलोमिटरदेखि २ सय किलोमिटरसम्मका चार वटा एलाइन्टमेन्टसहितको प्रतिवेदन नेपाललाई दिइसकेको छ।

१४० किमिको एलाइन्टमेन्ट सबैभन्दा उपयुक्त रहेको समेत प्रतिवेदनमा उल्लेख उल्लेख छ। १४० किमीको एलाइन्मेन्टमा करिव ५० किमीमा टनेल निर्माण गर्नुपर्ने उल्लेख छ। सो रुट अनुसार रक्सौल (जिरोकिलो) बाट वीरगंजको ड्राइपोर्ट हुँदै जीतपुर भएर निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल छेउछाउ भएर द्रुतमार्ग सँगसँगै काठमाडौं आइपुग्नेछ। ५ खर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ।

बैठकमा सहभागी हुन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव केशव कुमार शर्माको संयोजकत्वमा रेल विभागका महानिर्देशक भट्टराई, सिनियर डिभिजनल इन्जिनियर अमन चित्रकार, अर्थ  र परराष्ट्र मन्त्रालयका प्रतिनिधी सहितको टोली मंगलबार दिल्ली गएको थियो। टोली बैठक सकेर शुक्रबार फर्कदैछ।


प्रतिक्रिया दिनुहोस !