१ जेष्ठ २०८१, मंगलवार
 |   Tue May 14 2024
Logo

एमालेको वडा अधिवेशन आजदेखि सुरु, बाढी पहिरो प्रभावित वडाहरुमा केही समयपछि हुने



काठमाडौं । नेकपा (एमाले) को दसैं राष्ट्रिय महाधिवेशनअन्तर्गत आज मुलुकभर वडास्तरका अधिवेशन हुँदैछन् । वडा अधिवेशनलाई अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने र इन्टरनेट पहुँच भएका वडाका कार्यक्रममा त्यसलाई ‘डिस्प्ले’ गरिने तय गरिएको छ ।एमाले केन्द्रीय कार्यालयले हालैको बाढी पहिरोबाट प्रभावित जिल्लामा भने केही समयपछि अधिवेशन हुने जनाएको छ । यस्तै यही कात्तिक ९ गते सबै पालिकास्तरमा अधिवेशन हुनेछ ।

एमालेले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको मापदण्ड तय गर्न सो पार्टीले यही कात्तिक ११ गते स्थायी कमिटी र १२ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ । आगामी मंसिर १० देखि १२ गतेसम्म एमालेको दसैं महाधिवेशन वाग्मती प्रदेशको चितवनमा हुनेछ ।२०७७ चैत मसान्तसम्म पार्टी सदस्य भएकालाई महाधिवेशन प्रतिनिधि बन्न योग्य बनाइएको छ । चितवनमा हुने एमालेको महाधिवेशनमा निर्वाचन प्रयोजनका लागि विद्युतीय भोटिङ मेशिन प्रयोग गरिनेछ ।

एमालेको स्थायी कमिटीको शुक्रबारको बैठकले महाधिवेशनका लागि नेता रामबहादुर थापाको संयोजकत्वमा गठित २१ सदस्यीय मूल व्यवस्थापन समितिको सहसंयोजकमा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र सचिवमा विष्णु रिमाललाई तोक्नाका साथै समितिका केही सदस्य थप गरेको छ ।


प्रतिक्रिया दिनुहोस !