१ जेष्ठ २०८१, मंगलवार
 |   Tue May 14 2024
Logo

प्रदेश १ का मुख्यमन्त्रीको विश्वासको मतमाथि आज मतदान



प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले प्रदेशसभामा पेश गरेको विश्वासको मत लिनेसम्बन्धी प्रस्तावमा आज (आइतबार) मतदान हुने भएको छ ।गत असोज २५ गते नै मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्ताव संसद् सचिवालयमा पठाएका थिए । तर नेकपा एमालेको विरोध र अडानका कारण मतदान प्रक्रिया पछि सरेको बताइन्छ । यसअघि शुक्रबार मतदान गर्ने विपक्षी गठबन्धनको माग भएपनि सभामुख र एमालेका कारण ७ गतेलाई सारिएको बताइएको थियो ।

सत्तारुढ दल विभाजन भएको ३० दिनभित्र मुख्यमन्त्रीले संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । मुख्यमन्त्री आचार्यको दल एमालेमा गत भदौ ९ गते विभाजन आएको थियो । त्यसको भोलिपल्ट आचार्य मुख्यमन्त्री बनेका थिए ।

सभामुख प्रदीपकुमार भण्डारीका अनुसार आचार्य मुख्यमन्त्री बनेदेखि नै अल्पमतमा छन् । एमाले विभाजन भएपछि उनले बहुमत जुटाउन नसक्ने अड्कल गरिँदै आएको छ र सक्दो चाँडो नै विश्वासको मत लिएर यसको छिनोफानो गर्न चाहन्छन् ।उता विपक्षी गठबन्धन दलहरुले संवैधानिक प्रावधानको अपव्याख्या गर्दै वा बेवास्ता गर्दे अल्पमतका मुख्यमन्त्रीको आयु लम्ब्याउने प्रयास भइरहेको आरोप लगाएका छन् ।

हाल प्रदेशसभामा सत्तारूढ एमालेका कुल ४१ सांसद भए पनि सभामुख र एक जना फरार सांसदको संख्या घटाउँदा ३९ जना मात्रै एमाले पक्षमा देखिन्छन् । तर सरकार बनाउनका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ । उता प्रतिपक्षी गठबन्धनसँग भने ५० सांसद संख्या सजिलै पुग्ने देखिन्छ । त्यसमा कांग्रेसका २१ जना, माओवादी केन्द्रका १५, एमाले फुटेर बनेको नेकपा एकीकृत समाजवादीका १० जना, जसपाका तीन र संघीय लोकतान्त्रिक मञ्चका १ जना रहेका छन् ।


प्रतिक्रिया दिनुहोस !