६ जेष्ठ २०८१, आईतवार
 |   Sun May 19 2024
Logo

उखु किसानको समस्यामा उत्तर प्रदेश मोडल अपनाउन सुझाव



काठमाडौं, २० पुस

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले उखु किसानको समस्या समाधान गर्न भारतको उत्तर प्रदेशको मोडल अपनाउन सरकारलाई सुझाव दिएको छ ।

मंगलबार बसेको समितिको बैठकमा सभापति भरतकुमार शाहले उत्तर प्रदेशको कानुनबारे उल्लेख गर्दै किसानले सहज भुक्तानी पाउने र उद्योग तथा उपभोक्तालाई पनि राहत हुनेगरी, अर्थतन्त्रमासमेत टेवा पुग्नेगरी ऐन बनाउन सुझाव दिएका हुन् ।

२०५५ सालदेखि उखु किसानको समस्या सुल्झिन नसकेको, उत्पादन घटिरहेको, भुक्तानी नपाउँदा किसान पलायन भइरहेको, उद्योग पनि विस्थापित भइरहेको र यसले आत्मनिर्भरता तर्फ गइरहेको अर्थतन्त्रमै धक्का पुगेको भन्दै समितिले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ मन्त्रालय र कृषि मन्त्रालयलाई यसको तत्कालीन र दिर्घकालीन समाधान खोज्न सुझाएको हो ।

उत्तर प्रदेशमा कानुन बनाएर राज्यले सहकारीमार्फत उखु किसानलाई प्राथमिकता दिएको, उद्योगलाई पनि संरक्षण गरेको र नयाँ प्रविधिसहित उत्पादनमा जोड दिएको सभापति शाहले बताए । ‘उत्तरप्रदेश, उत्तराखण्ड, पञ्जाबमा किसानले विक्री गर्ने उखुको लागि सहकारीमार्फत निश्चित मिल तोक्ने र खरीद गर्ने नीति रहेछ । यतिसम्मकी किसानले काटेको उखु आधा घण्टाभन्दा बढी बाहिर राख्न नपाउने रहेछ । किनभने तौल घट्ने रहेछ,’ उनले भने, ‘सरकारले नै इनिसियसन लिएको छ । सहकारीहरु हेर्ने एक जना प्रमुख हुँदा रहेछन् । उनलाई राज्यमन्त्री सरह सुविधा दिएर राखेको छ । त्यहाँ धेरै सुविधा दिइएको छ । यहाँ कुनै सुविधा छैन । किसानले भुक्तानी पनि नपाउने अवस्था छ । यसमा छलफल गरेर कानुनले नै व्यवस्था हुनेगरी समाधान गरौं ।’

शाहले उखु किसानको समस्या झन् बल्झिँदै गएकाले छिमेकी देशमा कसरी व्यवस्थापन गरिएको छ भनेर बुझ्न आफूले उत्तर प्रदेशकै सहकारी बोर्ड अध्यक्ष बोलाएर छलफल गरेको जानकारी गराए । ‘उताको मोडल बुझेर आज यसमा छलफल गर्न वाणिज्य, राजस्व र कृषि सचिवलाई बोलाएको छु,’ उनले भने ।

सभापति शाहको प्रस्तावमा सहमति जनाउँदै वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराई, राजश्व सचिव कृष्णहरि पुष्कर, कृषि सचिव गोविन्दप्रसाद शर्माले नयाँ ऐन बनाउनुपर्ने आवश्यकता औंल्याएका थिए । समितिका सदस्यहरुले पनि उखु किसानको दीर्घकालीन समाधानका लागि उच्चस्तरीय अध्ययन समितिदेखि नयाँ ऐनसम्म बनाउन आग्रह गरेका थिए ।

वाणिज्य मन्त्रालयको तथ्यांकअनुसार हाल नेपालमा २ लाख ५० मेट्रिक टन माग छ भने १ लाख ७० मेट्रिक टन उत्पादन क्षमता छ ।

चीन मिल संख्या २९ बाट घटेर ८ मा पुगेको छ । उखु किसानालाई ४० करोड भुक्तानी दिनपर्नेमा अब ८ करोड ७० लाख भुक्तानी गर्न बाँकी छ । पाँच वटा मिल हिमालय, अन्नपूर्ण, श्रीराम, लुम्बिनी र इन्दिराले वक्यौता तिर्न बाँकी छ ।

७ पुसमा भुक्तानी नगर्ने मिलहरूलाई कारवाही गर्न पत्र काटिएको आपूर्ति सचिव भट्टराईले जानकारी दिए । ‘अरू निकायमार्फत पनि भनिएको छ । जस्तो भूमि व्यवस्था मन्त्रालयमार्फत भूमि रोक्का गर्न भनिएको छ । खाता रोक्का राष्ट्र बैंकमार्फत गरिएको छ । गृह मन्त्रालयमार्फत थप कडाइ गरिएको छ,’ उनले भने ।

उनले किसानलाई दिँदै आएको अनुदानमा केही थप गरेर दिनुपर्ने सुझाव पनि दिए । सरकारले प्रतिक्वीन्टल ६५ रुपैयाँ अनुदान दिँदै आएको छ । चिनी आयातमा पनि कडाई गरेर ४० प्रतिशत भन्सार शुल्क तोकिएको छ ।

राजस्व सचिव कृष्णहरि पुष्करले चिनीमा लाग्ने भ्याटबारे तत्कालै मिलाउन नसकिने बताए । यसमा कृषि मन्त्रालयले नै प्रस्ताव तयार गरेर ल्याए अर्थ मन्त्रालयले समन्वय गर्ने प्रतिबद्धता जनाए । ‘उखु किसानको समस्याका लागि व्यापक सुधार गर्नुपर्ने अवस्था छ । मन्त्रालय जस्तोसुकै निर्णय गर्न तयार छ । अबका दिनमा वाणिज्य, कृषि र समितिका निर्देशन आयो भने हामी तयार छौं,’ उनले भने ।

कृषि मन्त्रालयका सचिव गोविन्द प्रसाद शर्माले उखु किसानलाई सरकारी अनुदानमा भइरहेको ढिलाई हटाउने उपाय सुनाए । ‘निर्धारित प्रतिक्विन्टल ५४५ रूपैयाँमध्ये ६५ रूपैया सरकारबाट पाउँछन् । यो पैसा अहिले कृषि मन्त्रालयबाट जान्छ । प्रत्येक किसानको खातामा पैसा जान्छ । उद्योगतर्फ भुक्तानीमा भने उद्योगबाटै जान्छ,’ उनले भने, ‘किसानको कन्सर्न त्यहिँ वर्ष अनुदान भुक्तानी पाउनुपर्छ, सरकारी अनुदान किन ढिला भन्ने हो । यसमा हामीले चैतसम्म दिनसक्छौं । तर हामीलाई जिल्लाबाट किसानको उत्पादन रेकर्ड पाउनुपर्छ ।’

एक दुई दिनमा उखुको मूल्य निर्धारण

सचिव शर्माले एक दुई दिनमा उखुको नयाँ मूल्य निर्धारण हुने बताए । ‘उखुको मूल्य निर्धारण हुन्छ । हामील सबै तयारी गरेर उद्योग मन्त्रालयमा पठाएका छौं । सम्भव त भोलि क्याविनेटमा पेस हुन्छ । मिल र किसानसँग छलफल गरेर प्रस्ताव गरेका हौं,’ उनले भने ।

शर्माले उखु उत्पादन घट्नुको कारण पनि खुलाए । ‘विगतमा परिवारबाटै खेतीमा लाग्ने जनशक्ति निस्किन्थ्यो । अहिले बाहिरबाट लेबर ल्याउनुपर्ने अवस्थामा नाफा धेरै नहुने अवस्थामा छोड्न थाले,’ उनले भने, ‘अर्को गुणस्तरीय उखु बाली लागत बढेको छ । सिँचाइ र मलको पर्याप्त व्यवस्था भएन । हामी कहाँ जातको विकास भएको छैन । भारतबाट उच्च जातको बिउ पाएका छैनौं । जातीय विकास चुनौती हो ।’


प्रतिक्रिया दिनुहोस !