४ जेष्ठ २०८१, शुक्रबार
 |   Fri May 17 2024
Logo

जिल्लामा पाँच दलीय तालमेल : कांग्रेसलाई रहर छैन, अरुलाई बाध्यता



पोखरा, ३ चैत

एमालेको सत्ता ढलेसँगै कांग्रेस नेतृत्वमा पाँच दलीय गठबन्धनको सरकार बनेको छ । नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र जनमोर्चाको गठजोड गण्डकीमा पनि छ । केन्द्रीय नेताहरू गठबन्धनलाई चुनावसम्म धकेल्न चहान्छन् । त्यसैका लागि माओवादी र एकीकृत समाजवादीले एमसीसीमा विरोध हुँदाहुँदै सहमति जनाए । तर, त्यसको प्रभाव तल्लो तहसम्म आइपुगेको छैन । सबै पार्टीका नेता कार्यकर्ताहरू गठबन्धन नगर्न सुझाव दिन्छन् । त्यसो त केही समयअघि भएको इन्जिनियरहरूको निर्वाचनमा पनि गठबन्धन कायम रहेन । कांग्रेस निकट इन्जिनियरहरू एक्लै चुनाव लडे भने माओवादी र जसपाका इन्जिनियरहरूको एउटा प्यानल बन्यो ।

कास्कीमा गठबन्धनको जिल्लास्तरीय बैठक दुई पटक भइसकेको छ । गण्डकी प्रदेशको बैठक पनि पटक पटक भएको छ । राष्ट्रियसभा निर्वाचनमा गठबन्धनकै करण तीनवटै सिट हत्याउन सफल भयो । कांग्रेस सभपाति किशोरदत्त बरालले केन्द्रको निर्णयमा भर पर्ने बताए । ‘पार्टीभित्र गठबन्धन गर्नु हुँदैन भन्ने आवाज बढी छ । कसैले गर्नुपर्छ भनेका पनि छन्,’ उनले भने, ‘गठबन्धन नगरे पनि कास्कीमा अब कांग्रेस बलियो छ । जिल्लाबाट भनेर मात्र केही भएन ।’

उनले महानगरमा समेत आफूहरू बलियो रहेको भन्दै गठबन्धन अनिवार्य नरहेको बताए । ‘केन्द्रले जाने भन्यो भने विरुद्धमा लाग्ने कुरा भएन । तर, स्थानीय तहमा आवश्यक्ताअनुसार जिल्लाले नै गठबन्धन गर्ने निर्देशन आउन सक्छ । म यसबारे छलफल गर्न काठमाडौं जाँदै छु । त्यसपछि छलफल गर्नुपर्ला,’ उनले अघि थपे, ‘कुनैकुनै वडामा गठबन्धन गर्दा राम्रो हुन्छ भन्ने सुझाव पाएको छु । ३३ वटै वडा जित्छौं भन्ने होइन । २२ वडा चाहिँ हामी जित्छौं ।’

नेकपा माओवादी केन्द्रका महानगर इन्चार्ज दीपक कोइराला केन्द्रमा जस्तो जिल्ला तहमा नेता कार्यकर्ताबीच अझै अन्तरघुलन हुन नसकेको बताए । ‘हिजो एमालेसँग गठबन्धन भयो । पार्टी एकीकरण भयो । परिस्थितिले प्रतिगमनको विरोध गर्दा अहिले कांग्रेस सहितका दलसँग गठबन्धन भएको छ,’ उनले भने, ‘धेरै कुराहरूले अन्तरघुलनमा केही समस्या छ । तर धेरै समस्या छैन । आपसमा भेटघाट र छलफल निरन्तर गरिरहेका छौं ।’

प्रदेश तहका नेताहरूबीच औपचारिक बैठक नै भइरहेको उनले सुनाए । केन्द्रले गठबन्धन नगर्ने निर्णय गरे पनि पोखरामा मिलेर जानुपर्ने उनको सुझाव छ । ‘माथि गर्ने नगर्ने केही कुरा छैन । तर, हामी पोखरामा मात्र पनि गठबन्धन गर्न त सक्छौं,’ उनले अघि थपे, ‘त्यो हिसावले पनि कुरा गरिरहेका छौं । अहिलेको अवस्थामा मिलेरै जानुपर्छ ।’

एकीकृत समाजवादीका अध्यक्ष धनराज आचार्य भने जिल्लाभित्र कुनै समस्या नरहेको बताउँछन् । ‘गठबन्धन गर्ने कुरामा कास्कीभित्र कुनै समस्या छैन । हामी क्लियर नै छौं । पाँच दलसँग छलफल गरिरहेका छौं,’ उनले भने, ‘केन्द्रले निर्णय नगर्दासम्म भाग लगाउने कुरा भएन । केन्द्रलाई कुरेका छौं ।’

अबको बैठकमा वडा र पालिका विभाजनमा केन्द्रित हुने उनले बताए । ‘अब भनेको कुन ठाउँमा कसलाई टिकट दिने भन्ने हो । मेयर उपमेयर केन्द्रबाटै हुन्छ । सैद्धान्तिक हिसावले सँगै जाने भन्ने कुरामा दुई मत छैन,’ उनले भने ।

नेकपा एमाले भने पर्ख र हेरको स्थितिमा छ । एमाले कास्कीमा एक्लै पनि बलियो पार्टी हो । अघिल्लो निर्वाचनमा गठबन्धनविनै चारवटा पालिकामा चुनाव जितेको थियो, त्यो पनि निकै चर्को मतान्तर सहित । अन्नपूर्णमा अध्यक्ष भने कांग्रेसले झिनो मतान्तरमा जितेको हो । ‘गठबन्धन हुने नहुनेसँग एमालेलाई कुनै असर पर्दैन । कोही पार्टी मिल्छु भन्यो भने स्वागत गर्छौं,’ एमाले अध्यक्ष मनबहादुर गुरुङ भन्छन्, ‘नभए पनि हामीलाई समस्या छैन । यसपालि कास्कीबाट कुनै पद पनि फुस्किँदैन । सबै एमालेको हो ।’ स्थानीय निर्वाचनमा अघिल्लाे पटक ठाउँ अनुसार फरक खालकाे तालमेल थियाे । अहिले पनि गठबन्धनकाे निर्णय तल्लाे तहलाइ नै गर्न दिनुपर्ने नेताहरुकाे सुझाव छ ।


प्रतिक्रिया दिनुहोस !