४ जेष्ठ २०८१, शुक्रबार
 |   Fri May 17 2024
Logo

नदीजन्य पदार्थ निकाल्न नियमविपरीत एक्साभेटर प्रयोग 



कपिलवस्तु, ३ चैत्र

कपिलवस्तुको शिवराज नगरपालिकाअन्तर्गत सुकवेल खोलामा एक्साभेटर प्रयोग गरी नदीजन्य पदार्थ निकालिएको छ । नगरपालिकाले ढुङ्गा, गिट्टी, मिस्कट र बालुवाका लागि मिसिन प्रयोग नगर्ने गरी ठेक्का दिएको खोलामा सम्झौताविपरीत मेसिन प्रयोग भएको छ । महाराजगन्ज नगरपालिका-६ का रामदयाल पासी प्रोप्राइटर रहेको ओम शान्ति कन्स्ट्रक्सने नियमविपरीत माल निकाल्दा सरोकारवाला निकाय चुप लागेर बसेका छन् ।

सो खोलामा सेटिङ मिलाएर एक्साभेटर प्रयोग गरिएको स्थानीयको आरोप छ । स्थानीयको सूचनाको आधारमा पत्रकारको सुकवेल नाकामा पुग्दा एक्साभेटर प्रयोग गरी टिपरमा मिस्कट लोड गरिएको प्रत्यक्ष देखिएको थियो । लु २ ख २५०८, लु २ ख ४३३६, रा १ ख १०४४ नम्बरको टिपरमा एक्साभेटर प्रयोग गरी मिस्कट लोड गर्दै गरेको भेटिएको थियो । सो खोला नगरपालिकाले ७७ लाख ७४ हजार चार सय रुपैयाँमा २२ पुस २०७८देखी आउँदाे जेठ मसान्तसम्मका लागि ठेक्का दिएको थियो ।

नदीमा मेसिनरी प्रयोग गरिए पनि पालिका र जिल्ला समन्वय समितिले अनुगमनमा चासो नदिएको स्राेतको दाबी छ । वन क्षेत्र भित्रकै सो वनमा मेसिनरीको प्रयोग हुँदा ठेक्का लगाएको शिवराज नगरपालिका मात्र नभई सोही कार्यक्षेत्रको गौतम बुद्ध डिभिजन वन कार्यालयको भूमिकासमेत शंकास्पद बन्न पुगेको छ ।

वन क्षेत्रमा रहेको सुकवेल खोलामै जेसिबीसहितको मेसिनरी प्रयोग गरिएकोबारेमा आफूहरूलाई जानकारी नभएको डिभिजन वन कार्यालय गौतम बुद्धका सहायक वन अधिकृत एजाज आलमले बताउँछन् । आफूहरूले सो क्षेत्रमा विशेष निगरानी गर्ने प्रस्ट्याउँदै वन क्षेत्रमा हुने नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन र निकासी रोक्न सबै पक्ष लागी पर्नुपर्ने आलमको तर्क छ ।

यता ठेक्का लिएको कम्पनीका सञ्चालक रामदयाल पासीले मिसिन प्रयोग गरिएको स्वीकार गरेका छन् । उनले ठेक्काको कबुलियतनामाको ८ नम्बर बुँदामा मेसिनरी प्रयोग गर्न पाउने उल्लेख रहेको दाबी गरे । तर, शिवराज नगरपालिकाका इन्जिनियर रामजी थापा नेपालीले ठेक्का सम्झौतामा मेसिन प्रयोग गर्ने नमिल्ने उल्लेख भएको बताए । बुँदा नम्बर ८ को विषयका बारेमा थापाले खोलामा मेसिन प्रयोग गर्ने उल्लेख नरहेको र नगरपालिकाले समेत कुनै स्वीकृति नदिएको स्पष्ट पारे ।


प्रतिक्रिया दिनुहोस !