१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

अमेरिका-मेक्सिको सीमा नजिकै ट्रकमा ४६ जनाको शव फेला



काठमाडौँ । अमेरिकाको टेक्ससस्थित सान एन्टोनियोमा ट्रेलर ट्रकभित्र कम्तीमा ४६ जना मृत फेला परेका छन् । मृत अवस्थामा फेला परेका सबै जना आप्रवासी हुन सक्ने भन्दै उनीहरूको पहिचान भने भइनसकेको टेक्ससका गभर्नरलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ । टेक्ससका गभर्नर ग्रेग एबोटले सोमबार ट्विटरमार्फत् जो बाइडेनको सरकारले ल्याएको घातक खुला सीमा नीतिका कारण यो घटना घटेको आरोप लगाएका छन् । सोही ट्रकमा रहेका कम्तीमा १६ जनालाई अस्पताल पुर्‍याइएको स्थानीय अधिकारीहरूले जनाएका छन् ।मृत्यु भएकाहरू कुन देशका हुन् भन्नेबारे अझै पहिचान हुन नसकेको बीबीसीले उल्लेख गरेको छ । फरार रहेका ट्रकका चालकलाई प्रहरीले खोजिरहेको अमेरिकी समाचार संस्था न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ ।

सान एन्टोनियो अमेरिका(मेक्सिकोको सीमाभन्दा करिब २५० किलोमिटरको दूरीमा छ । उनीहरूको मृत्यु कसरी भयो भन्नेबारे भने अझै प्रहरीले सार्वजनिक गरेको छैन ।अमेरिका आप्रवाससम्बन्धी विषय राजनीतिक मुद्दाको विषय बन्ने गरेको छ । गत वर्ष अमेरिका(मेक्सिकोको बोर्डर हुँदै अवैध रुपमा अमेरिका प्रवेश गर्नेहरूको जमातलाई प्रहरीले पक्राउ गरेको थियो । विभिन्न देशबाट मानिसहरू असुरक्षित बाटो हुँदै अवैध रुपमा अमेरिका छिर्ने गर्दछन् । सोमबार भएको घटना पनि यहि क्रममा भएको हुन सक्ने आशंका गरिएको छ ।

कुनै पनि देशका नागरिकलाई अवैध रुपमा अन्य देश लैजानका लागि प्रायः यस्तै ट्रकहरूको प्रयोग गर्ने गरिन्छ । स्थानीय समयअनुसार साँझको ६ बजे आपत्कालीन उद्धार टोली घटनास्थल पुगेको बीबीसीले उल्लेख गरेको छ । ड्राइभरले उक्त ट्रक छाडेर भागेपछि खानका लागि ट्रकभित्र पानी समेत नभएकाले गर्मीका कारण निस्सासिएर मृत्यु भएको हुनसक्ने सान एन्टोनियोका फायर चिफ चार्ल्स हुडले बताए । सान एन्टोनियोमा सोमबार ३९।४ डिग्री सेल्सियर तापक्रम स्थानीय समाचार संस्थाले जनाएका छन् ।

यो घटनाको अनुसन्धान गर्ने जिम्मा संघलाई दिइसकिएको सान एन्टोनियोका प्रहरी प्रमुख विलियम म्याकमनुसले बताए । उनका अनुसार घटनामा संलग्न भएको आशंकामा अहिले तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।सुख खोज्दै अमेरिका आएकाहरूको सीमामा यसरी मृत्यु हुनु दुखद् भएको सान एन्टोनियोका मेयर रोन नाइरेनबर्गले बताएका छन् ।

यसभन्दा अघि सन् २०१७ मा पनि सान एन्टोनियोको वालमार्टमा एउटा ट्रकमा १० जनाको शव भेटिएको र सन् २००३ मा पनि सान एन्टोनियोकै दक्षिणी क्षेत्र स्वेल्टरिङका १९ जना मृत फेला परेको द गार्जियनले उल्लेख गरेको छ ।सन् २००१ मा अमेरिकी सीमा क्षेत्रमा भएको आतङ्ककारी हमलापछि अमेरिकाले सीमामा यस्ता घटना नदोहोरिउन् भन्नका लागि कडाइ गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस !