२६ बैशाख २०८१, बुधबार
 |   Wed May 8 2024
Logo

केपी ओली सिमरा विमानस्थलमा डेढ घण्टा एक्लै, सुरक्षाकर्मी अक्क न बक्क



काठमाडौं । सधैँ नेता, कार्यकर्ताको भिडमा देखिने पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सोमबार सिमरा विमानस्थलमा एक्लै थिए । उनी करिब डेढ घण्टा विमानस्थलको भीआइपी कक्षमा एक्लै रहे ।

पार्टी प्रवेश कार्यक्रमका लागि रौतहट जाने क्रममा मौसम खराबीका कारण एक्कासी हावाहुरीसहित पानी परेपछि ओली चढेको हेलिकप्टर सिमरा विमानस्थलमा आकस्मिक अवतरण गरिएको थियो । पूर्व जानकारीबिनै पूर्वप्रधानमन्त्री ओली विमानस्थलमा आएपछि सुरक्षाकर्मी समेत अचम्मित भए । ‘हामीलाई त एक्कासी पूर्व प्रधानमन्त्री ओली सिमरा विमानस्थल आउदै हुनुहुन्छ भनेर चारैतिरबाट फोन आयो, एकछिन त के गर्नुजस्तै अक्क न बक्क भइयो,’ सिमरा विमानस्थलका एक सुरक्षाकर्मीले भने, ‘मौसम खराबीका कारण उहाँ एक डेढ घण्टाजस्तो विमानस्थलको भीआइपी कक्षमा एक्लै बस्नु भो, पछि हिँड्ने बेलाका केही कार्यकर्ता आइपुग्नु भयो ।’

एक घण्टासम्म मौसम नखुलेपछि गाडीबाट रौतहट जाने तयारी भए पनि केही समयपछि मौसम खुलेको थियो । पूर्व खेलकुद मन्त्री तथा एमाले पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेलले पार्टी अध्यक्ष ओली सिमरा विमानस्थलमा हुनुहुन्छ भन्ने ढिलोगरी थाहा पाएपछि हतारहतारमा विमानस्थल पुगेको बताए । ‘उहाँले तपाईहरु कता हुनुहुन्छ, म सिमरा विमानस्थलमा छु भनेर फोन गरेपछि निजगढबाट हतार हतार सिमरा पुग्दा एकैछिन भेट भयो, खासै कुराकानी गर्न पाइनँ,’ पौडेलले भने, ‘उहाँले बारामा एमालेको अवस्था कस्तो छ भनेर सोध्नुभयो, हामीले सुध्रिँदैछ भन्यौँ ।’

सिमरा विमानस्थलमा करिब डेढ घण्टाको बसाईको क्रममा पोलिटब्युरो सदस्य पौडेल, जीतपुर  सिमरा उपमहानगरका उपप्रमुख भोला अधिकारी, एमाले जिल्ला सचिवालय सदस्य मनोज पौडलसहित केही कार्यकर्ताले ओलीसँग केहीबेर भेट्न पाए । ओली पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका केन्द्रीय अध्यक्ष माधव नेपालको गृह जिल्लामा पार्टी प्रवेश कार्यक्रमका लागि आएका हुन् ।  


प्रतिक्रिया दिनुहोस !