१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

६ वर्ष कैद छल्न ७७ वर्षदेखि फरार



२००२ माघ २३ मा चोरीडकैती मुद्दामा दिलिप पाख्रिन, कोमल खत्री र ठुले चौरेललाई तत्कालीन चिसापानी अदालतले ६ वर्ष कैद र ३ हजार १ सय ७२ रुपैयाँ जरिमाना तोक्यो । ६ वर्ष कैद तोकिएका उनीहरू कैद तोकिएको ७७ वर्ष नाध्दासम्म पक्राउ परेका छैनन् ।

उनीहरू एउटा उदाहरण मात्रै हुन् । अदालतबाट दोषी ठहर भई कैद र दण्ड जरिमाना तोकिएका मकवानपुरका २ हजार ९ सय १५ जना अभियुक्त अझै फरार नै छन् । फरार सूची लम्बिने क्रम जारी छ तर प्रहरी प्रशासनले फरार अभियुक्तलाई खोजी तथा नियन्त्रणमा खासै चासो देखाएको छैन । उनीहरूको ज्युँदो रहेको वा नरहेको भन्ने बारेमा समेत प्रहरी प्रशासन तथा अदालत जानकार छैन । तत्कालीन पीडितहरूको अवस्था र उनीहरूको मनोदशाको अवस्थाको बारेमा त झन् चासो राखिँदैन ।

स्वेदशी मात्रै होइनन्, विदेशी पनि फरार सूचीमा छन् । फरार सूचीमा ९५ जना विदेशी नागरिक छन् । दोषी ठहर भएर पनि फरार रहेकाहरूको सूची जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय र स्थानीय तहमा पठाइने गरे पनि अझै धेरै अभियुक्त पक्राउ नपरेका जिल्ला अदालतका श्रेस्तेदार तीर्थराज भट्टराईले बताए । केही वर्षयता दोषी ठहर भई फरार भएकाहरूको सेवा सुविधा रोक्का गर्न अदालतले जिल्लास्थित विभिन्न सरकारी निकाय र स्थानीय तहलाई परिपत्र गर्दै आएको छ । सोही आधारमा गत वर्ष मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिकाले लागूऔषधसम्बन्धी मुद्दामा फरार चार जनाको सेवा सुविधा रोकेको थियो ।

फैसलाअनुसारको दण्ड जरिमाना संकलन नहुँदा जिल्ला अदालतले उठाउनुपर्ने जरिमाना रकम पनि बढ्दो रहेको छ । हालसम्म ३२ करोड ६२ लाख ३४ हजार १ सय ८२ रुपैयाँ बक्यौता रहेको । त्यस्तै, कैद लगत ३ हजार ७ सय ६६ वर्ष १ महिना ९ दिन पुगेको छ । यो आँकडा पछिल्लो एक वर्षमा १ सय ११ वर्ष थपिएको हो । ‘कैद र जरिमाना तोकिएका लुकीछिपी हिँडिरहेकै छन्,’ अधिवक्ता ईश्वर ढकाल भन्छन् ‘अदालतको गरिमा फैसलामा भन्दा कार्यान्वयनमा रहन्छ ।’

थोरै जनशक्ति कामको चाप धेरै भएको कारण पनि निगरानी गर्न नसकिएको सम्बन्धित पक्षको दाबी छ । प्रहरीले दैनिक काम गर्न नै जनशक्ति अपुग भएको बताउँदै आएको छ । गत आर्थिक वर्ष २०७८÷७९ मा मकवानपुर प्रहरीले १ सय २६ जना फरार अभियुक्तलाई पक्रेर कैद र जरिमाना भुक्तानीका लागि अदालतमा उपस्थित गराएको थियो । मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले कसुर प्रमाणित भइसकेका र फरार रहेका व्यक्ति पक्राउ गर्न सबै क्षेत्रका प्रहरीलाई अनुरोग गर्दै परिपत्र गरेको बताए । ‘दोषीलाई पक्रेर सजाय दिलाउन सके मात्र पीडितलाई न्यायको अनुभूति मिल्छ, त्यसमा प्रहरीको ध्यान रहन्छ नै,’ कार्कीले भने ।


प्रतिक्रिया दिनुहोस !