१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

मधेसमा सत्ता गठबन्धन २२ सीट एमाले र जसपाले १० सीट जित्ने प्रबल संभावना



जनकपुर । मधेश प्रदेशका ८ जिल्लामा सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा ४/४ वटा निर्वाचन क्षेत्र छन्। अर्थात् प्रतिनिधि सभाका ३२ निर्वाचन क्षेत्र छन्।मंसिर ४ मा हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सत्ता गठबन्धनमा रहेका ५ दल र मधेशमा प्रभाव रहेको लोकतान्त्रिक समाजवादी पार्टीहरुले चुनावी तालमेल गरेका छन्। यस्तै मधेशमा प्रभाव रहेको अर्को दल जनता समाजवादी पार्टी (जसपा) सँग नेकपा एमालेले चुनावी तालमेल गरेको छ। 

स्थानीय तह निर्वाचन २०७९ मा वडाध्यक्षहरुले पाएको मतलाई आधार मान्दा मधेश प्रदेशमा सत्ता गठबन्धन बलियो देखिएको छ। उक्त मत परिणामअनुसार मत खसेको अवस्थामा सत्ता गठबन्धन मधेशका ३२ मध्ये २५ स्थान (मित्रवत् प्रतिस्पर्धा गरेकासहित) मा र एमाले–जसपा गठबन्धन ७ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा जित नजिक पुगेका छन्।  

जसअनुसार सत्ता गठबन्धन सप्तरी–२, ३ र ४, सिरहा–२ र ४, धनुषा (२ बाहेक), महोत्तरी, सर्लाही (२ बाहेक), रौतहटका सबै र बाराका १, ४ तथा पर्साका ३ र ४ नम्बर क्षेत्रमा ‘ग्रिन जोन’ मा अर्थात् जित हात पार्ने अवस्थामा छ। स्थानीय तह निर्वाचनको मत परिणाम र मतदाताबीच पछिल्लो चुनावी महोल हेर्दा सप्तरी–१, सिरहा–१ र ३, बारा–२ र ३, तथा पर्सा १ र २ मा एमाले नेतृत्वको गठबन्धनले जित हात पर्ने देखिन्छ।

सत्ता गठबन्धनका तर्फबाट मधेशमा नेपाली कांग्रेसले १४, नेकपा माओवादी केन्द्रले ५, नेकपा एकीकृत समाजवादीले ३ र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले ७ निर्वाचन क्षेत्रमा साझा उम्मेदवार उठाएका छन्। 

सत्ता गठबन्धनमा रहेका कांग्रेस, माओवादी, एकीकृत समाजवादी र लोसपाले स्थानीय तह निर्वाचनमा पाएको मतका आधारमा मधेश प्रदेशमा जित्ने आधार देखिएका निर्वाचन क्षेत्रहरु जम्मा २१ वटा छन्। जसमा सप्तरी–१ (३३,१८४), सप्तरी–३ (३६,०४८), सप्तरी–४ (३६,१९३), सिरहा–२ (३३,८९५), सिरहा–४ (२८,२८९), धनुषा–१ (४०,४१८), धनुषा–३ (३५,५८१), धनुषा–४ (३९,९७७), महोत्तरी–१ (३७,६११), महोत्तरी–२ (४२,२१७), महोत्तरी–३ (२९,५४३), महोत्तरी–४ (३७,९६९), सर्लाही–१ (५४,३३४), सर्लाही–३ (४८,५६८), सर्लाही–४ (५७,०८६), रौतहट–१ (५६,८७९), रौतहट–२ (४४,१७०), रौतहट–४ (५५,२७१), बारा–४ (४५,७०१), पर्सा–३ (३१,२४६) र पर्सा–४ (३२,४४६) पर्छन्।

सत्ता गठबन्धनविरुद्ध छुट्टै गठबन्धन गरेर चुनावी प्रतिस्पर्धामा उत्रिएका एमाले र जसपाका वडाध्यक्षका उम्मेदवारहरुले स्थानीय तह निर्वाचनमा पाएको मतका आधारमा मधेश प्रदेशमा जित्ने आधार देखिएका निर्वाचन क्षेत्रहरु ७ वटा छन्। जसमा सप्तरी–१ (३४,२९५), सिरहा–१ (३४,७१०), सिरहा–३ (३५,२२१), बारा–२ (३८,७५२), बारा–३ (३४,९३३), पर्सा–१ (२९,०४१ र पर्सा–२ (३२,२६३) पर्छन्।

सत्ता गठबन्धनले मधेश प्रदेशमा राम्रो नतिजा ल्याउने राजनीतिक विश्लेषकहरु बताउँछन्। ‘मधेशमा सत्ता गठबन्धनको पक्षमा राम्रो जनलहर देखिन्छ। नेपाली कांग्रेस ठूलो दलको रुपमा आइरहेको छ,’ विश्लेषक झाले भने, ‘नेपाली कांग्रेस डबल डिजिट सिटमा जित्छ।’ उनले मधेशका ३२ सिटमध्ये एमाले र जसपाले बढीमा ५–५ सिट जित्न सक्ने अनुमान आफूले गरेको बताए। 


प्रतिक्रिया दिनुहोस !