२६ बैशाख २०८१, बुधबार
 |   Wed May 8 2024
Logo

प्रतिनिधिसभामा कर्णालीबाट एमाले ‘शून्य’



सुर्खेत । गत प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कर्णाली प्रदेशमा पहिलो दल बनेको एमालेले यसपल्ट प्रतिनिधिसभाका सबैजसो सिट गुमाएको छ । ०७४ मा १२ मध्ये ६ सिट जितेर पहिलो भएको एमालेले यसपटक सबै ठाउँमा हार बेहोर्ने निश्चित भएको हो । मतगणना भइसकेका जिल्लामा एमालेले प्रतिनिधिसभामा कुनै ठाउँ जितेन भने गणना भइरहेका क्षेत्रमा पनि एमालेको अग्रता कमजोर छ ।

यसअघि दैलेखका दुवै क्षेत्र जितेको एमालेले अहिले दुवै सिट गुमाएको छ । ०७४ मा क्षेत्र १ मा रवीन्द्र शर्मा र २ मा राजबहादुर बुढा विजयी भएका थिए । यसपालि शर्मालाई उनकै पूर्वसहकर्मी एकीकृत समाजवादीका कर्णाली प्रदेश अध्यक्ष अम्बरबहादुर थापाले पराजित गरे । थापाले १८ हजार २ सय ९७ मत ल्याउँदा शर्माले १७ हजार ४ सय ३७ मत पाए । क्षेत्र २ मा पनि कांग्रेसका दिक्पालकुमार शाही थोरै मतान्तरले निर्वाचित भएका छन् । उनले २० हजार १ सय ५८ मत ल्याउँदा एमालेका लक्ष्मीप्रसाद पोखरेल २० हजार ५ मत ल्याएर पराजित भए ।

यसअघि सुर्खेतका दुवै क्षेत्र जितेको एमालेले यसपटक दुवै गुमाएको छ । सुर्खेत–१ मा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का ४२ हजार ६ सय ७ मत ल्याउँदै विजयी भएका छन् । एमालेका ध्रुवकुमार शाहीलाई उनले ११ हजार ६ सय १९ मतान्तरले पराजित गरेका हुन् । शाहीले ३० हजार ९ सय ८८ मत ल्याएका छन् । सुर्खेत–२ मा कांग्रेसका हृदयराम थानी ३४ हजार ६ सय २५ मतसहित विजयी हुँदा एमालेका जिल्ला अध्यक्ष अमृतकुमार बीसी ५ हजार ६७ मतान्तरले पराजित भएका छन् । ०७४ मा एमालेका नवराज रावतसँग पराजित भएका थानीले यसपटक गठबन्धनको बलमा जित निकालेका हुन् ।

डोल्पामा गत निर्वाचनमा एमालेबाट जितेका धनबहादुर बुढा यसपालि एकीकृत समाजवादीमा छन् । उनले एमालेका गणेशबहादुर शाहीलाई भारी अन्तरले पराजित गरेका छन् । बुढा ११ हजार २ सय २५ मतसहित विजयी हुँदा उनकै पूर्वसहकर्मी शाहीले ५ हजार ४ सय ९८ मतमा चित्त बुझाए । यसअघि मुगुबाट एमालेका गोपालबहादुर बमले प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका थिए । अहिले त्यहाँ पनि एमाले पछाडि छ । बिहीबार राति ९ बजेसम्म कांग्रेसका ऐनबहादुर शाही ठकुरी ५ हजार २ सय ५५ मतसहित अघि रहँदा एमालेका राजबहादुर कार्कीले ४ हजार २ सय ४४ मतसहित उनलाई पछ्याइरहेका छन् । मतगणना गर्न बाँकी रहेका कालीकोट, हुम्ला र रुकुम पश्चिम माओवादीका प्रभाव क्षेत्र मानिन्छन् ।

प्रतिनिधिसभामा सबैजसो सिट गुमाउनुमा गठबन्धनलाई पहिलो कारण मान्छन् एमाले प्रदेश अध्यक्ष विनोदकुमार शाह । ‘कहाँ ४/५ वटा दलको गठबन्धन, कहाँ एउटै पार्टी,’ दैलेखबाट प्रदेशसभा २ (२) मा ९ हजार ४ सय ६४ मतसहित विजयी उनले भने, ‘उनीहरूले जितेका ठाउँमा पनि हाम्रो झिनो मतान्तर छ ।’ उनले पनि झिनो मतले जितेका हुन् । उनका प्रतिस्पर्धी माओवादीका योगेन्द्रबहादुर शाहीले ९ हजार ३ सय ८१ मत पाएका थिए । प्रदेशसभामा भने एमालेले ४ सिट जितेको छ ।

यसअघि प्रदेशसभामा माओवादी पहिलो दल थियो । ४० सदस्यीय कर्णाली प्रदेशसभामा यसअघि एमालेले प्रत्यक्ष र समानुपातिक दुवै गरी २० सिट जितेको थियो । एमालेका प्रदेश इन्चार्ज यामलाल कँडेलले प्रदेशमै जित दोहोर्‍याएका छन् । मुख्यमन्त्रीको आकांक्षासहित आफूभन्दा कनिष्ठ नेताहरूलाई प्रतिनिधिसभाको उम्मेदवार बनाएका उनले कांग्रेसका कालीप्रसाद शाक्यलाई पराजित गरेका हुन् ।

०७४ मा कर्णालीका ६९ स्थानीय तहमध्ये २७ वटा जितेर पहिलो भएको एमालेले वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा १५ ठाउँमा चित्त बुझाएको थियो । एमालेको अवस्था कमजोर हुनुमा शीर्ष नेताको दम्भ, हेभिवेट नेताको अभाव, संगठन राम्रो भए पनि यसअघि जितेर गएका सांसदले कार्यकर्ताका मागलाई बेवास्ता गर्नु प्रमुख कारण रहेको बताउँछन् राजनीतिक विश्लेषक अर्जुन अयडी । ‘कर्णालीको सन्दर्भमा कार्यकर्ताको माया पनि पछिल्लो समय एमालेप्रति घट्दै गएको छ,’ उनले भने, ‘अरू पार्टीभन्दा संगठन बलियो भए पनि कर्णालीमा यामलाल कँडेलबाहेक हेभिवेट नेता खासै छैनन्, उनमा पनि स्पष्ट भिजन र मिसन नहुँदा कार्यकर्तामा पार्टीप्रति आकर्षण छैन ।’ उनले पार्टीमा बढ्दो अन्तद्र्वन्द्व र विभाजनको असर पनि गहिरो हुँदै गइरहेकाले एमाले कमजोर बन्दै गएको दाबी गरे ।


प्रतिक्रिया दिनुहोस !