१५ माघ २०७९, आईतवार
 |   Sun Jan 29 2023
Logo

जब इसाइहरुले घण्टीको पक्षमा सर्कुलर पठाए



प्रादेशिक तथा संसदीय निर्वाचनहरुले युवादेखि वयोवृद्धसम्मलाई छासमिस जिताएर पठाएकोले युवा उम्मेदवारलाई मात्र मतदाताले रूचाएको भन्ठान्नु सतही विश्लेषण हुनेछ । अवश्य पनि यसपाली संसदमा नयाँ दल तथा अनुहारहरूलाई जनताले अनुमोदन गरेका छन् तर वर्चस्व भने पुरानै दलहरूको रहेको प्रष्ट हुन्छ । 

मधेशको कुरा गर्ने हो भने जो उम्मेदवारले वैशाख ३० को स्थानीय निर्वाचनबाट प्राप्त मतलाई नै आधार मानेर जित सुनिश्चित ठाने, तीमध्ये धेरैले कडा चुनौती भेटे तर जसले कडा मिहिनेत गरेका थिए, उनीहरू चाहे सर्लाही–४ मा डा. अमरेश सिंह वा सप्तरी–२ मा डा. सीके राउत वा सर्लाही–२ मै महिन्द्र राय वा पर्सा–४ लगायत क्षेत्रबाट आदिमा टाई–अप हुँदा पनि मज्जैले जिते । महोत्तरी–४ मा सत्तागठबन्धनको प्रतिनिधिसभा उम्मेदवार महेन्द्रकुमार राय (रूख) को जसपाका सुरेन्द्रकुमार यादव (छाता) को तुलनामा कार्यकर्ता परिचालनदेखि मनी–मसलसम्म केही पनि तयारी थिएन ।

मनोजकुमार कर्ण

स्थानीय तहमा एमाले–जसपा अलायन्सले पाएको सत्तारूढ गठबन्धनभन्दा झण्डै १७ हजार कम मतलाई पनि बढाउँदै लगेर जीतहारको बेला केही हजारमा झार्नुको अर्थ त्यही हुन आउँछ । तर महोत्तरी–४ (क) मा सत्तागठबन्धनका कौशल यादव (साइकल) र (ख) मा माओवादीका लालेन्द्र यादवहरूले क्रमशः सरोज यादव र सरोजसिंह कुशवाहाबाट हार्नुको कारणमा कांग्रेसबाट पूरा मत ट्रान्सफर नभएर सिके राउतको जनमत तथा स्वतन्त्र र पंखातिर जातीय मत बाँडिएको देखिन्छ । यसरी महोत्तरीमा सत्ता गठबन्धनका केन्द्रीय सांसदहरूले जितिरहँदा प्रदेशमा सोत्तर भएका छन् भने ती समग्रमा एमालेले ७–१० सिटसम्म ल्याउने मेरो यसै साप्ताहिकको मिति २०७९ कात्तिक १६ गते प्रकाशित पूर्व विश्लेषण मिलेको छ । 

मधेशमा एमाले–जसपाहरूले नगद, दारू, पेट्रोल, मासु, माछा आदि बाँडेर आचारसंहिता ठाडो उल्लंघन गर्दै नाबालिकालाई प्रचारमा उतार्दा जनमत पार्टीले बरू कतैकतै भिडियो बनाएर प्रतिरोधमा उत्रने प्रयाससम्म ग¥यो, त्यहीं सत्तारूढ अलायन्सले न ती अवैध रकमहरूलाई प्रहरीमा सूचना दिएर जफत गरायो, न कतै आचारसंहिताको प्रतिकूल विपक्षीका गतिविधिबारे लगाम लगाउन सक्यो, अल्छिपना, कार्यकर्ता परिचालन गर्न नसक्नुजस्ता कारण जेसुकै होस् । यी सबैका बावजुद पनि सप्तरी–२ मा जसपा अध्यक्ष उपेन्द्र यादवले जनमतका डा. सीके राउतसँग हार्न पुगे ।

जहाँ मधेशमा कांग्रेस र माओवादी, एकीकृत समाजवादीहरूको मत उम्मेदवार मन नपरेर वा विविध कारणले ट्रान्सफर नभई जनमत वा स्वतन्त्रतिर बाँडियो, त्यहीं पहाडतिर यी पार्टीका मतहरू राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, नागरिक उन्मुक्ति तथा स्वतन्त्र (बागी) हरूतिर बाँडिएको देखिन्छ । मंसीर ४ गतेको यो निर्वाचनमा चितवनमा देशैभरका ईसाईहरूले घण्टी छापमा मत हाल्न गरेको सर्कुलरले अमेरिकीहरू अति सक्रिय भई चिनियाँहरूलाई वामएकता गर्न नदिन लागिपरेको देखाउँछ अर्थात्, पहाडतिर कांग्रेस र माओवादीका मत घण्टीतिर सारिएका छन् ।

यसपालि केन्द्रमा कुनै एक ठूलो पार्टीको बहुमतको सरकार बन्न सक्दैन त्यसैले ठूलो दलको हैसियतमा संविधानतः कांग्रेसले राष्ट्रपतिबाट सरकार बनाउन निम्तो पाउने देखिन्छ । नेपालमा निर्वाचनक्षेत्र पुनर्निर्धारण हुँदा विमलेन्द्र निधिहरूले पहाडमा भूगोल र मधेशमा जनसंख्याको आधारमा हुनुप¥यो भनिरहँदा केही पनि भएन र पछि (२० वर्षपछि) सोच्ने भनियो अर्थात्, जबसम्म नेपालमा यो शिशु गणतन्त्र पूर्ण संस्थागत हुँदैन, तबसम्म जानीजानी हङ्ग पार्लियामेन्ट राख्ने व्यवस्था गरियो ताकि बाध्यात्मकरूपले संयुक्त सरकार बनाएर केही क्षति नेपाललाई पु¥याउन सकियोस् ।

यो सोच यदि दलहरूमा रहिरहेको छ भने वर्तमान सत्तारूढ अलायन्स नै रहने र जसपा पनि कालान्तरमा जोडिने देखिन्छ तर बीचैमा दलपतिहरूमा चरम् महत्वाकांक्षा बढ्न गयो भने कांग्रेसले लोकतान्त्रिक शक्तिको नाममा राप्रपा, रास्वपा, लोसपा, जसपासँग मिल्न र वामपन्थीहरू वामएकताको नाममा ध्रुविकृत हुन सक्छन् । वास्तवमा वर्तमान संसदलाई अस्थिर बनाउने पात्र अरु कोही नभएर एमालेका केपी ओली हुन्, जसले भ्रष्टाचारका घटनाहरू लुकाउँदै एकछत्र राज गर्ने भनेर विगतको संसदलाई २–२ पटक विघटन गरिदिए तर उनले चाहेजस्तो अब कसको एकल सरकार बन्ला त ? जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोसपा तथा जसपाहरूले मधेश र काठमाडौंबीच दूरी बढेको बुझेर देशमा द्वन्द्व निम्त्याउन सक्छन् । 


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय