१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

गगन भन्छन् : पाँच वर्षपछि जनताले नै प्रदेश खारेजीको नारा लगाउँछन्



काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अबको ५ वर्ष नतिजा देखिने गरी काम गर्न नसके प्रदेश संरचना खारेजी माग गर्दै जनता सडकमा उत्रिने बताएका छन्। नेपाली कांग्रेस  विराटनगर महानगर कार्यसमितिद्वारा मंगलबार आयोजित नेता गुरुराज घिमिरेको ‘बाटो बिराएको राजनीति’ पुस्तक विमोचनका क्रममा बोल्दै उनले यस्तो बताएका हुन्। 

प्रदेश सरकारका कामलाई लिएर अहिलेबाटै आलोचना र प्रश्न उठ्ने गरेको बताउँदै अबको पाँच वर्ष नतिजा दिने गरी काम गर्ने चुनौती रहेको उल्लेख गरेका छन्। 

‘अबको पाँच वर्षपछि कि प्रदेश चाहिन्छ भन्ने अवस्थामा पुग्छ’, उनले भने, ‘कि त प्रदेशको काम छैन भनेर जनताले नारा लगाउँछन्।’

उनले कांग्रेस नेता घिमिरे प्रदेशसभा निर्वाचनमा पराजित भएको प्रसंग पनि झिके। 

गुरु घिमिरेले निर्वाचन हार्ने जित्ने ठूलो कुरा होइन। तर गुरु घिमिरे कहाँ उभिन्छन् महत्वपूर्ण कुरा त्यो हो’, उनले भने, ‘प्रदेशसभामाले गुरु घिमिरेलाई यो पटक मिस गर्यो। विराटनगरले उहाँलाई माया गरेको छ, यहाँको माटोले बनाएको मान्छे हो।’

उनले आफूलाई गुरु घिमिरेको कार्यकर्ता भन्दा गौरव लाग्ने पनि बताए। ‘मलाई गुरु पछाडिको गगन भन्दा गौरव लाग्छ। गुरु घिमिरेको कार्यकर्ता भनिँदा गौरव लाग्छ’, उनले भने, ‘लोकतन्त्रले गुणवान नेता खोज्छ। हामीले प्रदेशसभामा उहाँलाई गुमाएका छौँ।’ 


प्रतिक्रिया दिनुहोस !