११ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 23 2024
Logo

पार्टी पुनर्गठनका लागि भन्दै माओवादीका युवा नेता छलफलमा



काठमाडौं । पार्टी झनपछि झन कमजोर बनेको भन्दै नेकपा माओवादी केन्द्रका युवा नेताहरुले छलफल थालेका छन् ।पछिल्लो चुनावी परिणामले आफूहरु चिन्तित भएर पार्टी रुपान्तर र पुनर्गठनका लागि जुटेको उनीहरुले बताएका छन् ।

माओवादी केन्द्रका युवा केन्द्रीय सदस्यहरु लेखनाथ न्यौपाने, हिमाल शर्मा, रामप्रसाद सापकोटा ‘दीपशिखा’, रामदीप आचार्य, डिपी ढकाल, रन्जित तामाङ लगायतको पहलमा छलफल सुरु भएको हो । बिहीबार भृकुटी मण्डपस्थित रत्नराज्य क्याम्पसमा औपचारिक छलफलमा जुट्नुअघि उनीहरु अनौपचारिक छलफलमा समेत बसेका थिए ।

छलफलमा सहभागी वाईसीएल इन्चार्ज समेत रहेका दीपशिखाले पार्टीको जनवर्गीय संगठनका प्रतिनिधिहरुको सुझाव लिने काम भएको बताए । ‘यो गुट रहित, कमिटीरहित छलफल हो,’ उनले भने, ‘माओवादीको रुपान्तरणबारे छलफल भयो ।’छलफलमा जनवर्गीय संगठनकातर्फबाट जनसांस्कृति महासंघका अध्यक्ष मात्रिका पोखरेल, वाईसीएल उपाध्यक्ष सकम गुरुङ, दलित मुक्तिमोर्चाका अध्यक्ष र किसान महासंघका महासचिव सहभागी थिए ।

अर्का केन्द्रीय सदस्य हिमाल शर्माले जनवर्गीय संगठनका प्रतिनिधिहरुको सुझाव लिएको बताए । ‘पार्टी बनाउन सम्भव छ तर संगठनात्मक, सरकार संचाल र विचार निर्माणको परिपार्टी बदल्नुपर्छ भन्ने हो,’ शर्माले भने ।

माओवादी पार्टी अरु पार्टी भन्दा भिन्न किन भएन भन्ने चिन्ताले आफूहरु छलफलमा जुटेको उनले बताए ।

वाम बुद्धिजीवी, पत्रकार र राजनीति शास्त्र अध्ययन गरिरहेका विद्यार्थीबाट पनि उनीहरुले सुझाव लिने बताएका छन् । ‘छलफलबाट आएका सुुझावलाई टिपोटका रुपमा पार्टी नेतृत्वलाई हस्तान्तरण गर्छौं,’ दीपशिखाले भने ।

छलफलको पहल लिइरहेका अधिकांश युवा केन्द्रीय सदस्यहरुले माओवादी सरकारमा जान नहुने र प्रतिपक्षमा बसेर पार्टी निर्माणमा लाग्नुपर्ने धारणा राख्ने गरेका छन् ।

यसबारे केन्द्रीय सदस्य डीपी ढकालले भने, ‘संसदीय राजनीति गरेपछि सरकारमा जानै हुन्न भन्ने त होइन । तर, जाने हो भने किन जाने, त्यहाँ गएपछि के दिन्छौं भन्ने कुरामा छलफल हुनुपर्छ ।’

माओवादीले अघिल्लो वर्षको पुसमा आठौं महाधिवेशन गरेको थियो । उक्त महाधिवेशनबाटै एक वर्षपछि विशेष महाधिवेशन गर्ने घोषणा गरिएको थियो । पार्टीलाई कसरी रुपान्तरण गर्ने भन्नेबारेमा विशेष महाधिवेशन बोलाएर छलफल गनुपर्ने धाराणा समेत उनीहरुको छ ।


प्रतिक्रिया दिनुहोस !