२६ बैशाख २०८१, बुधबार
 |   Wed May 8 2024
Logo

कांग्रेसले टुंग्याउन सकेन समानुपातिक सांसद, पदाधिकारी बैठक बस्दै



काठमाडौं । नेपाली कांग्रेसको समानुपातिक पद्धतितर्फको सांसद चयनका लागि बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठक विना निश्कर्ष सकिएको छ ।

समानुपातिक पद्धतिबाट चयन गर्नुपर्ने तीन जना पुरुषका लागि धेरै जनाको दावी रहेपछि कार्यसम्पादन समितिको बैठकले टुंगो लगाउन नसकेको हो ।

एक पदाधिकारीका अनुसार अब शनिबार नै बालुवाटारमा बस्ने पार्टीको पदाधिकारी बैठकले सांसद चयन गर्नेछ । शनिबारको बैठक समानुपातिकतर्फको पुरुषका लागि विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, डा. प्रकाशशरण महत, जीवन परियार, फरमुल्लाह मन्सुरलगायत आआफ्नो क्लस्टरको पहिलो स्थानमा रहेका नेताहरु आकांक्षी छन् ।

समानुपातिक निर्वाचन पद्धतितर्फ कांग्रेसले ३२ सिट पाएको छ । संघीय संसदमा ३३ प्रतिशत महिला प्रतिनिधित्व गराउन समानुपातिक पद्धतिबाट २९ जना महिला चयन गर्नुपर्ने बाध्यता कांग्रेसलाई छ ।तर बैठकमा सहमति जुट्न नसकेको र सभापति शेरबहादुर देउवा अर्को कार्यक्रममा जानुपर्ने भएकाले बैठक स्थगित गरिएको एक पदाधिकारीले बताए ।

कांग्रेसभित्र प्रदेश १, मधेश, बागमती र लुम्बिनीका समानुपातिक सांसद चयन गर्न पनि विवाद भएको छ ।कार्यसम्पादन समितिको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै प्रवक्ता डा. प्रकाशशरण महतले पदाधिकारी र कार्यसम्पादन समिति सदस्यको सुझाव लिएर सभापति देउवाले समानुपातिक पद्धतिबाट सांसदको नाम तय गर्ने बताए ।


प्रतिक्रिया दिनुहोस !