१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

हुत्तिएको जहाजको भाग सेती खोच पार गरेर नयाँगाउँ पुग्यो तर बस्ती जोगियो



पोखरा । पुरानै विमानस्थलतिर जहाज आइरहेको देखेपछि पोखरा पृथ्वीचोकका सञ्जय श्रेष्ठ आइतबार द्विविधामा परे । यती एयरको जहाज काहुँ डाँडापट्टिबाट बसपार्क हुँदै पुरानो विमानस्थलतर्फ सोझियो तर त्यहाँ अवतरण नगरी देब्रे मोडियो । जहाज कता जाँदै छ भन्ने पत्तो नपाउँदै ठूलो आवाज आयो । धूवाँको मुस्लो निस्कियो । उनी त्यतैतिर दौडिए ।

माघे संक्रान्तिको दिन उद्योगमा बिदा थियो । कामदार क्यारमबोर्ड खेलेर समय बिताइरहेका थिए । बिहान १०ः५० बजे पुरानो विमानस्थलतिरबाट ब्लक उद्योग ताकेर हल्लिँदै–हल्लिँदै जहाज आयो ।

हेर्दाहेर्दै जहाज पारिपट्टिको भित्तामा धस्सिँदै खोच पार गरेर वारिपट्टि ठोक्किन आइपुग्यो । धन भुजेल र उनका साथीहरूले केही मेसो पाएनन् । विस्फोटको ठूलो आवाज आएपछि भने क्यारमबोर्ड छाडेर उद्योगपछाडि पुगे । ‘आगो र धूवाँको मुस्लोले अगाडि जानै सकिएन,’ उनले भने, ‘आगो बाँसको टुप्पोसम्मै आएको थियो । उद्धार गर्न पनि जान सकेनौं ।’

ब्लक उद्योगकै कामदार कुमार आले भने त्यतिबेला सेती खोचमा थिए । उनी माछा मार्न सेती झरेका थिए । रहमा बल्छी थाप्दै गर्दा माथिबाट एक्कासि ढुंगामाटो बर्सियो । ढुंगाले उनको काँधमा लाग्यो । उनी रहमा हुत्तिए । उनी पानीमै हुँदा दुईपल्ट विस्फोटको आवाज आयो । त्यतिञ्जेलसम्म उनले केही मेसो पाएनन् । झन्डै दुई सय मिटरमुनिको खोचबाट माथि हेर्न सक्ने अवस्था थिएन । उनीभन्दा केही माथि जहाजको भाग खस्यो तर उनले के खसेको भन्ने ठम्याउन सकेनन् । घरि ओढारमा बस्दै, घरि बुटा समाउँदै उनी माथि आएपछि बल्ल जहाज दुर्घटनामा परेको भेउ पाए । उनको काँध, निधार र खुट्टामा चोट लागेको छ ।

त्यसबेला उनका तीन छोरी र एक छोरा उद्योगमै खाना खाइरहेका थिए । जहाज ठोक्किएपछि खाना छोडेर दौडिए । आइतबार साँझ ५ बजे उद्योगमा भेट्दा आलेले भने, ‘छोराछोरीको सातो गएको छ । मैमाथि जहाज खस्दा बाँचेर आइएछ भन्ने भएको छ ।’

नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक उडानका लागि धावनमार्गको पूर्व र पश्चिम दुवैतिरबाट अवतरण गर्न मिल्छ । पाइलटले आइतबार पूर्वपट्टिबाट जहाज अवतरण नगरी पश्चिम रोजे । काठमाडौंबाट पोखरा आउँदा दाहिने हुँदै काहुँ डाँडातिरबाट मोड लिए । उचाइ लिन नसकेको जहाज पुरानो विमानस्थलबाट झन्डै डेढ सय मिटर पर सेती खोचमाथि बजारियो । यती एयरको ९ एनएएनसी कल साइन भएको जहाजको अघिल्लो भाग पोखरा–७ घारीपाटनबाट धस्सिँदै पोखरा–१५ सीताराम हाउजिङतिर आइपुग्यो ।

कोल्टिएर आएको जहाजको एउटा पखेटा स्थानीय गीता सुनारको घरभन्दा झन्डै १०/१२ मिटरनजिक र सेती डिलको झन्डै १० मिटर वरै जमिनमा घिसारिएको थियो । त्यहाँबाट हुत्तिएको जहाजको अघिल्लो भाग सेती खोच पार गरेर पोखरा–१५ नयाँगाउँतर्फ पुगेको थियो भने पछाडिको भाग सेती खोचमा खसेको थियो । ‘अलिकति मात्रै यता जहाज खसेको भए बस्ती नै सखाप हुने रहेछ,’ घटनास्थलनजिकै घर भएकी सुनारले भनिन् ।

उनी माघे संक्रान्तिको दिन भएकाले बिहान मन्दिरमा पूजाआजा गरी फर्केर खाना खान लागेकी थिइन् । एक्कासि ठूलो आवाज सुनेपछि बाहिर निस्किएर हेर्दा धूवाँको मुस्लो निस्किरहेको थियो । सेती खोच, वल्लोपल्लो डिलमा पनि आगलागी भएको थियो । जहाज सुरुमा भुँइमा ठोक्किएको स्थानमा जहाजका केही पार्टपुर्जा र यात्रुका सामान थिए । वरिपरि केही शव छरिएका थिए ।

दुर्घटनास्थल पुरानो विमानस्थलबाट डेढ सय मिटर र नयाँ विमानस्थलबाट डेढ किलोमिटर टाढा छ । बिहान साढे १० बजे काठमाडौंबाट उडेको जहाजमा चालक दलका ४ जना र यात्रु ६८ जना थिए । जहाज वरिष्ठ क्याप्टेन कमल केसीले उडाएका थिए । केसी उनै क्याप्टेन हुन्, जसले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन हुनुअघि उक्त विमानबाट पहिलोपल्ट ‘डेमो’ उडान भरेका थिए । उनीसँग को–पाइलट अञ्जु खतिवडा थिइन् । सिर्जना हुनचुङ र ओसिन आलेमगर एयर होस्टेस थिए ।

आइतबार रातिसम्म ६३ जनाको शव संकलन गरिएको छ । त्यसमध्ये २६ जनाको मात्रै सनाखत भएको छ । केही शव अप्ठेरो ठाउँमा देखिएकाले सोमबार बिहानबाट पुनः निकाल्न सुरु गरिने छ ।


प्रतिक्रिया दिनुहोस !