१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

धेरै बैङ्कहरुले सार्वजनिक गरे नयाँ ब्याजदर



काठमाडौं | नेपालीहरुको महान् चाड दसैँ तथा तिहार नजिकिँदै छ । चाडवाडमा विशेष गरी नयाँ नयाँ सवारी साधन, नयाँ घर खरिद गर्ने पम्परा नयाँ होइन । यसैलाई मध्यनजर गर्दै नाडा अटो सो र घरजग्गा मेला हुँदै आएको छ ।

सवारी साधन र घर खरिद गर्नेहरु पनि दसैँलाई नै कुरेर बस्ने गरेकोमा यस पटक कोरोना महामारीका कारण अवस्था फेरिएको छ । सवारी साधनका लागि यो समय भनेको बिक्री हुने समय हो । तर गत वर्षभन्दा ५० प्रतिशत कम सवारी साधन बिक्री भइरहेको अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष कृष्ण दुलाल बताउँछन् । यद्यपि असोज १ गतेबाट (भोलि) सरकारले व्यापार व्यावसाय खुला गरेपछि व्यवसाय विस्तारै रिकभरीतिर जाने आशामा व्यवसायीहरु छन् ।

हरेक वर्ष दसैँ नजिकिँदै जाँदा सावारी साधनहरुको महामेला हुने गरेकोमा यस पटक त्यसको सम्भावना छैन । जसले आफ्ना नयाँ उत्पादनको प्रचार प्रसार गर्न व्यावसायीलाई सघाउँथ्यो र उपभोक्ताले पनि एकै छानामुनिबाट आफूलाई मनपर्ने सवारी साधन खरिद गर्न पाउँथे । बैङ्कहरुले पनि उनीहरु लक्षित विभिन्न कर्जा योजनासमेत ल्याउने गरेका थिए । दशैँको समयमा सवारी साधन किन्नेहरु अन्य बेलाको तुलनामा बढी देखिन्छ ।

यदि तपाईं पनि सवारी साधन तथा घर खरिद गर्न चाहनुहुन्छ तर रकम छैन भने बैङ्कहरुले ल्याएका छन् सस्तोमा घर तथा सवारी कर्जा । बैङ्कहरुले कर्जा तथा निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाले हरेक महिना सुरु हुनुभन्दा अघिल्लो दिनसम्ममा नयाँ ब्याजदर सार्वजनिक गर्नुपर्ने निर्देशन दिएपछि बैङ्कहरुले महिना सुरु हुनु एक दिनअगावै ब्याजदर सार्वजनिक गरेका छन् ।

सवारी तथा घर कर्जामा कुन बैङ्कले दिन्छन् कति ब्याजदरमा ऋण ?

राष्ट्रिय वाणिज्य बैङ्क

बैङ्कले घर कर्जामा न्यूनतम ७.३ प्रतिशतदेखि अधिकतम ८.८ प्रतिशतसम्म ब्याजदर तोकेको छ । बैङ्कले घर कर्जातर्फ ५ वर्षसम्मका लागि ७.३ प्रतिशतदेखि ७.८० प्रतिशतसम्म र १० वर्षका लागि ७.८० प्रतिशतदेखि ८.३ प्रतिशतसम्म र १५ वर्षका लागि ८.३ प्रतिशतदेखि ८.८ प्रतिशतसम्म ब्याजदर तोकेको हो ।

यता गाडी कर्जामा आधारदरमा ३.२५ प्रतिशतसम्म र विद्युतीय सवारीमा १.५० प्रतिशतसम्म थप लिन पाउने व्यवस्था छ । यसको आधारदर ५.८ प्रतिशत छ ।

माछापुछ्रे बैङ्क

बैङ्कले कर्जाको ब्याजदरमा न्यूनतम १०.६९ प्रतिशतदेखि अधिकतम १३.६९ प्रतिशतसम्म ब्याजदर तोकेको छ । बैङ्कले हालको आधारदर ८.६९ प्रतिशत तोकेको छ । सो आधारदरमा अधिकतम ५ प्रतिशतसम्म थप गरेर घर तथा सावारी कर्जा प्रवाह गराउने बैङ्कले जनाएको छ ।

मेगा बैङ्क

मेगा बैङ्कको आधारदर ८.३० प्रतिशत छ । सो अनुसार बैङ्कले कर्जाको ब्याजदर निर्धारण गरेको छ । बैङ्कले न्यूनतम १ वर्षसम्मका फिक्स्ड ब्याजदरमा पनि कर्जा प्रवाह गर्ने भएको छ । जसमा होम लोन, टम लोन, अटो लोन, एजुकेसन लोन लगायत कर्जामा १३.३ ब्याजदरमा प्रवाह गर्ने घोषणा गरेको छ ।

नेपाल इन्भेस्टमेन्ट बैङ्क

हाल बैङ्कले कायम गरेको बेसरेट ७.४९ प्रतिशत छ । जस अनुसार बैङ्कले कर्जाको ब्याजदर निर्धारण गरेको हो । बैङ्कले ७ वर्षे घर कर्जाको १०.५० प्रतिशत र १० वर्षे घर कर्जाको १२.५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यस्तै बैङ्कले ७ वर्षे र १० वर्षे सवारी कर्जाको ब्याजदर क्रमशः ११ प्रतिशत र १३ प्रतिशत निर्धारण गरेको छ ।

नबिल बैङ्क

बैङ्कको २०७७ साउन मसान्तसम्म आधारदर ७.१९ प्रतिशत छ । यसले घर तथा गाडी कर्जामा अधिकतम पाँच प्रतिशतसम्मको ब्याजदरमा कर्जा प्रवाह गर्नेछ । बैङ्कले स्थापनाको ३६औँ वर्ष पुगेको अवसरमा कर्जाको ब्याजदरमा नयाँ अफर ल्याएको छ ।

जसअनुसार आर्थिक वर्ष सुरु भएको पहिलो त्रैमासमा ऋण लिने ऋणीले यो अफर सदुपयोग गर्न सक्छन् । बैङ्कका अनुसार यो अफर एक वर्षका लागि मान्य हुनेछ भने एक वर्षसम्म ब्याजदर परिवर्तन हुने छैन ।

एनसीसी बैङ्क

एनसीसी बैङ्कको असार मसान्तसम्मको आधारदर ९.०३ प्रतिशत रहेको छ । बैङ्कले यसै आधारदरका आधारमा कर्जाको ब्याजदर निर्धारण गरेको छ । बैङ्कबाट कर्जा लिँदा ११.०३ देखि १४.०३ प्रतिशतसम्म ब्याज तिर्नुपर्ने छ ।

बैङ्कबाट सवारी कर्जा लिँदा १३.०३ प्रतिशत ब्याज लाग्ने छ भने घर कर्जा लिँदा १४.०३ प्रतिशत ब्याज तिर्नुपर्ने छ ।

एभरेस्ट बैङ्क

बैङ्कको साउन मसान्तसम्मको आधारदर ७.४८ प्रतिशत रहेको छ । बैङ्कबाट कर्जा लिँदा १२.४८ प्रतिशतसम्म ब्याज तिर्नुपर्ने छ । बैङ्कबाट हाउजिङ, भेहिकल ऋण लिँदा १२.४८ प्रतिशत ब्याज तिर्नुपर्ने छ ।


प्रतिक्रिया दिनुहोस !