६ चैत्र २०८०, मंगलवार
 |   Tue Mar 19 2024
Logo

सन्दीप लामिछानेको निलम्बन फुकुवा



काठमाडौ । नेपाल क्रिकेट संघ (क्यान) ले नाबालिगलाई जबरजस्ती करणी गरेको अभियोग झेलिरहेका क्रिकेटर सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गर्ने निर्णय गरेको छ ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दको अध्यक्षतामा पोखरामा बसेको बोर्ड बैठकले अनुशासन उल्लंघनको कारबाहीमा परेपछि निलम्बित भएका राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो ।

बैठकले नेपाली यु–१९ राष्ट्रिय क्रिकेट टिमको कप्तानमा गुल्सनकुमार झालाई मनोनयन गर्ने र आगामी फागुन १४ र १५ गते सुर्खेतमा संघको वार्षिक साधारणसभा गर्ने जानकारी गराएको छ ।

यस्तै, बागलुङ र पर्वत जिल्ला क्रिकेट संघ तदर्थ समितिलाई मान्यता दिने र अनुमोदनका लागि आगामी वार्षिक साधारणसभामा पेश गर्ने पनि बताइएको छ ।

क्यानको उक्त बैठकले नेपाल टी–२० लिग क्रिकेट प्रतियोगिता सम्पन्न भइसकेकाले गभर्निङ काउन्सिल विघटन गर्न उक्त प्रयोगिता आयोजना गर्ने जिम्मेवारी दिएको भारतको सेभेन थ्रि स्पोर्टस् प्रालिसँगको सम्झौतालाई निरन्तरता नदिने र आगामी वार्षिक साधारणसभाबाट निर्णयका लागि पेश गर्ने पनि जनाइएको छ ।

त्यस्तै, कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले जिम्मेवारी छाडेकोमा कार्यसमिति सदस्य दुर्गाराज पाठकलाई कार्यवाहक सचिवको जिम्मेवारी दिनेसमेत भनिएको छ । नेपाल टी–२० सम्बन्धमा एभरेष्ट प्रिमियर लिगका सञ्चालक आमिर अख्तरलगायतले नेपाल क्रिकेट संघ र संघका अध्यक्ष चतुरबहादुर चन्दको नाममा सर्वोच्च अदातमा दायरा गरेको मुद्दा फिर्ता लिनका लागिसमेत आग्रह गरिएको छ ।

साथै, नेपाल क्रिकेट संघको विशेष साधारणसभा आगामी २०८० जेष्ठ मसान्तभित्र आयोजना गरी जिल्ला, प्रदेश र केन्द्रीय कार्य समितिको निर्वाचन सम्पन्न गराउने पनि बताइएको छ । उमेर नपुगेकी किशोरीमाथि बलात्कार गरेको आरोप लागेपछि क्यानले लामिछानेलाई गत २३ भदौमा निलम्बन गरेको थियो ।

त्यस्तै, २० असोजमा पक्राउ गरेका उनलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि कारागार पठाएको थियो । तर, उच्च अदालत पाटनले लामिछानेलाई २८ पुसमा २० लाख धरौटीमा शर्तसहित रिहा गर्न आदेश दिएको हो । लामिछाने रिहापछि क्यानमा उनको निलम्बनबारे छलफल सुरु भएको थियो ।


प्रतिक्रिया दिनुहोस !