१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

राष्ट्रपतिको सवारीका क्रममा चिकित्सकलाई कुट्ने वरिष्ठ हवल्दार कारबाहीमा



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा चिकित्सकलाई दुर्व्यवहार गर्ने प्रहरी वरिष्ठ हवल्दार कारबाहीमा परेका छन् । प्रहरी प्रधान कार्यालयले प्रहरी वृत्त, जनसेवामा कार्यरत प्रहरी वरिष्ठ हवल्दार शम्भुजंग गुरुङलाई निलम्बन गरेको हो ।

केन्द्रीय प्रहरी प्रवक्ता पोषराज पोखरेलका अनुसार सुरक्षा व्यवस्थापनका लागि प्रहरीले आफ्नो ड्यूटी गरेको भए पनि चिकित्सकमाथि कुटपिट हुनु राम्रो नभएको बताए । उनले भने, ‘हातपात गर्नुले राम्रो देखिएन, त्यसैले छानबिन गर्नलाई निलम्बन गरेका छौं ।’

शुक्रबार राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभालाई संयुक्त सम्बोधन गर्ने कार्यक्रम थियो । त्यसका लागि शितलनिवासबाट बानेश्वरसम्म आउने र पुन शितलनिवास फर्कने क्रममा उपत्यका ट्राफिक प्रहरी कार्यालयले सडक खाली गराएको थियो ।

त्यस क्रममा राष्ट्रिय ट्रमा सेन्टर बाहिर चिकित्सक जनिथलाल सिंह कुटपिटमा परेका थिए । प्रहरीले फिल्मी शैलीमा आफूमाथि कुटपिट गरेको उनले बताएका छन् । चिकित्सक कुटिएपछि राष्ट्रपतिको सवारी शैलीबारे सामाजिक सञ्जालमा व्यापक विरोध भएको छ । सवारीका कारण लामो समयसम्म सर्वसाधारणले जाम पनि व्यहोर्नु परेको थियो ।


प्रतिक्रिया दिनुहोस !