नेपालले खरिद गरेका दुई रेल आज आउँदै « Name of Truth News : News Portal in Nepal
   ६ कार्तिक २०७८, शनिबार
 |   Sat Oct 23 2021
Logo

नेपालले खरिद गरेका दुई रेल आज आउँदै



काठमाडौँ । जनकपुरदेखि जयनगरसम्म सञ्चालन गर्न भारतसँग खरिद गरिएका नेपालको राष्ट्रिय झण्डा अङ्कित दुईवटा रेल शुक्रबार नेपाल आउँदैछन् । बन्द भएको झण्डै आधा दशकपछि नेपाली भूमिमा रेल सेवा सुुरु हुन लागेको हो । छ वर्षअघि २०७१ सालबाट सो रेल सेवा बन्द रहेको छ । नेपाल र भारतबीच ‘जीटूजी’ प्रक्रियाबाट रेल खरिद गरिएको हो ।

नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जनकपुरदेखि जयनगरसम्म सञ्चालन गर्न भारतसँग खरिद गरिएका दुईवटा रेल शुक्रबार मध्याह्न जनकपुर रेल्वे स्टेसनमा आइपुग्ने जानकारी दिनुभयो । उहाँले जनकपुरमा रेल सञ्चालन हुने प्रतीक्षाको घडी अब समाप्त भएको छ भन्नुभयो ।

महाप्रबन्धक भट्टराईले रेल आउने कार्यक्रममा नेपालका तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका पदाधिकारी, रेल विभागका महानिर्देशक, रेल्वे कम्पनीका महाप्रबन्धक लगायतका पदाधिकारीको सहभागिता रहनेछ ।

भारतका तर्फबाट कोङ्कर्ण रेल्वे कर्पोरेसनका बीस जना उच्च प्राविधिकको सहभागिता रहनेछ । नेपाली अधिकारी शुक्रबार बिहानै जयनगरस्थित ‘नेपाल रेल्वे स्टेसन’ पुग्नुहुन्छ र त्यहाँबाट भारतीय पदाधिकारीसँगै रेलमा चढेर जनकपुर आउनु्हुन्छ भन्नुभयो । अहिले भारतको विहारस्थित हाजिपुर स्टेसनमा राखिएका ती रेल जयनगर हुँदै जनकपुर आइपुग्न करिब चार घण्टा लाग्नेछ ।

उहाँले दुईटै रेल शुक्रबार जनकपुर रेल्वे स्टेसनमा नै रहनेछन्, दुवै मुलुकका उच्च पदाधिकारीको रोहवरमा परीक्षण गरिनेछ, रेल शनिबार पुनः जयनगरस्थित ‘नेपाल रेल्वे स्टेसन’मा पुगेपछि त्यही पार्किङ हुनेछ भन्नुभयो ।

कोरोना महामारीको सङ्क्रमण सामान्य नभएसम्म दुइटै रेल जयनगरमा राखिने उहाँले बताउनुभयो । रेलको इन्जिन लामो समयसम्म त्यत्तिकै थन्क्याएर राख्न नमिल्ने र बेला बेलामा त्यसको मेकानिकल पार्टस्को ‘मेन्टेनेन्स’ गरिरहनुपर्ने भएको र नेपालमा तत्काल त्यो सेवा उपलब्ध नहुने भएकाले जयनगर स्टेसनमा नै पार्किङ गर्नुपर्ने बाध्यता रहेको उहाँले स्पष्ट पार्नुभयो ।

रेल नेपाल र भारतबीच ‘क्रस बोर्डर’ चलाउनुपर्ने भएकाले दुवै मुलुकमा अहिले कोरोना महामारीको सङ्क्रमण दर उच्च रहेको हुँदा तत्काल सञ्चालनमा आउन नसक्ने महाप्रबन्धक भट्टराईले स्पष्ट पार्नुभयो ।

रेल्वे लिक हस्तान्तरण

यसैबीच भारतीय प्राविधिक र आर्थिक सहयोगमा निर्माण भएको जनकपुर–जयनगर रेल्वे लिक भारतले नेपाललाई हस्तान्तरण गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार असोजभित्र नै भारतले नेपाललाई सो ट्रयाक हस्तान्तरण गर्नेछ ।

रेल सेवा सञ्चालन गर्न आवश्यक प्राविधिक कर्मचारी तत्काल भारतबाट नै ल्याइनेभएको छ ।


प्रतिक्रिया दिनुहोस !


अध्यात्मिक शिक्षाले मानव कल्याण र विश्व शान्तिको मार्ग देखाउँछः मुख्यमन्त्री राउत



जनकपुरधाम, ६ कात्तिक

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले भौतिकवादी युगमा मानिसलाई अहिंसाको बाटोमा डोर्‍याउन अध्यात्मिक शिक्षाको महत्व रहेको बताएका छन् ।

जनकपुरधाम उपमहनगरापालिका–१४ मुजेलियास्थित ब्रह्मकुमारी राजयोग सेवा केन्द्र जनकपुरद्वारा मुजेलियामा नवनिर्मित प्रशिक्षण केन्द्र ॐ शान्ति मिथिला बाटिकाको शनिबार उद्घाटन समारोहमा मुख्यमन्त्री राउतले भने, ‘कुनै पनि धर्मका धार्मिक शिक्षाले मानिसलाई अहिंसाको मागमा चल्न सिकाउछन् । धार्मिक शिक्षाले पनि समाजलाई जोड्छ,धार्मिक सदभाव बढाउछन, भाइचारा, मानव कल्याण र विश्व शान्तिको वकालत गर्छन् ।’

पाँच कठ्ठा क्षेत्रफलमा चार करोड पचास लाखको लागतमा निर्माण भएको उक्त भवनमा राजयोग सेवा केन्द्रसँग सम्बन्धित प्रशिक्षणहरु सञ्चालन हुने जनाइएको छ । सेवा केन्द्रको नेपाल निर्देशक राज दादी मा को अध्यक्षतामा भएको उद्घाटन समारोहमा प्रदेशसभा सदस्य सत्रुधन महतो, राम अशिष यादव , परमेश्वर साह, शारदा थापासहित समाजसेवीको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस !

कांग्रेसद्वारा कुशवाहामाथि दुव्र्यवहार गर्नेउपर कारवाहीको स्वागत



नेपाली कांग्रेसले खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका प्रमुख राजेश कुशवाहामाथि दुव्र्यवहार गर्ने दोषीलाई कानुनी कारवाही गर्न सरकारले अघि बढाएको प्रक्रियाको स्वागत गरेको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्तिमार्फत राजनीति, प्रशासन तथा समग्र समाजमा रहेका बेथितिविरुद्ध प्रश्न उठाउनु र स्वच्छ समाजको खोजी गर्नु सबैको कर्तव्य भएको उल्लेख गर्दै कानुन हातमा लिने, बलजफती र हुल हुज्जत गर्ने कार्य भने सभ्य समाजको परिचायक हुन नसक्ने बताउनुभएको छ ।

यस्तो घटना आपत्तिजनक र निन्दनीयसँगै कडा कारवाहीको विषय बन्ने जनाउँदै उहाँले जनकपुरको घटनाले नेपाली इञ्जिनीयर, कर्मचारी र सभ्य समाजमा विश्वास गर्ने सबैलाई मर्माहत बनाएको उल्लेख गर्नुभएको छ ।

कांग्रेसले सहकर्मीउपर गम्भीर दुव्र्यवहार हुँदा इञ्जिनीयर आक्रोशित र आन्दोलित हुनु स्वभाविक भएको जनाउँदै सुरु कानुनी कारवाहीसँगै राज्यको सक्रियताले यसलाई सम्बोधन गर्ने विश्वास लिएको छ । शान्तिपूर्ण राजनीतिमा सहभागी हुने उद्घोष गरेका हरेक दल र संस्थाले आफ्ना समर्थक तथा सदस्यलाई तदनुकूलको संस्कार र व्यवहारमा रुपान्तरण गर्नु सम्बन्धित दल नेतृत्वको कर्तव्य हुने कांग्रेसले स्मरण गराएको छ ।

हुलहुज्जतको बाटोबाट समुन्नत समाजमा पुग्न नसकिने उल्लेख गर्दै कांग्रेसले हरेक दल, नेतृत्व, सदस्य, समर्थक र नागरिकले यसलाई गहिरो आत्मसात् गर्नुपर्ने आवश्यकताका साथ थप सजगता तथा कडाइका लागि सरकारसँग अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस !

सहकारीका माध्यमबाट जनताको जीवनस्तर उठाउनुपर्छ : ऊर्जामन्त्री भुसाल



ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सहकारीका माध्यमबाट गरिबीको रेखामुनि रहेका जनताको जीवनस्तर माथि उठाउन सहिने बताउनुभएको छ ।

सरकारले आर्थिक, सामाजिक न्याय तथा गरिबी न्यूनीकरणका लागि सार्वजनिक, निजी र सहकारीसहित तीन खम्बे अर्थनीति अवलम्बन गरेको उल्लेख गर्दै मन्त्री भुसालले सहकारी क्षेत्रले आर्थिकरूपमा बिपन्न परिवारलाई सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिभा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २१औँ वार्षिक साधारसभाको उद्घाटन गर्दै मन्त्री भुसालले भन्नुभयो, “सहकारीका माध्यमबाट आर्थिक सशक्तीकरण गर्नुपर्छ, सामाजिक न्यायमा आधारित समतामूलक समाज निर्माणमा यस क्षेत्रले भूमिका खेल्नुपर्छ ।” सहकारीले गरिब परिवारलाई सीप र रोजगारी उपलब्ध गराएर जीवनस्तर माथि उठाउनुपर्नेमा उहाँको जोड थियो ।

आर्थिक अधिकारमा महिलाको समान पहुँच नभएको भन्दै उहाँले विगतमा अधिकारका लागि सङ्घर्ष गरेको र अब अधिकार कार्यान्वयनका लागि सङ्घर्ष गर्नुपर्ने समय आएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले प्राप्त गरेका राजनीतिक, आर्थिक र सामाजिक अधिकार घरपरिवारबाटै कार्यान्वयन गर्नुपर्छ, अधिकार कार्यान्वयनको जागरुकता राख्नुपर्छ ।”

सो अवसरमा संस्थाका अध्यक्ष माधवप्रसाद तिमल्सिनाले आर्थिक वर्ष २०७६/७७ मा महिला सदस्य आठ हजार २५ र पुरुष सदस्य एक हजार ६२४ रहेकामा आव २०७७/७८ मा सदस्यता वृद्धि भई महिला सदस्य आठ हजार १७९ र पुरुष सदस्य तीन हजार ४२३ गरी जम्मा ११ हजार ६०२ सदस्य संस्थामा आबद्ध भएको जानकारी दिनुभयो ।

आव २०७६/७७ मा रु पाँच करोड ५५ लाख ८८ हजार १०० शेयर पुँजी सङ्कलन भएकामा आव २०७७/७८ असार मसान्तसम्ममा रु एक करोड ४१ लाख २९ हजार ७०० सेयर पुँजी वृद्धि भइ हाल संस्थाको शेयर पुँजी रु छ करोड ९७ लाख १७ हजार ८०० पुगेको छ ।

संस्थाले २०७६/७७ मा रु ५४ करोड १८ लाख ४४ हजार ९२४ बचत सङ्कलन गरेकामा आव २०७७/७८ असार मसान्तसम्ममा रु आठ करोड ७५ लाख ६६ हजार ९१० वृद्धि भई हाल संस्थाको बचत निक्षेप रु ६२ करोड ९४ लाख ११ हजार ८३५ पुगेको छ ।

आव २०७६/७७ मा रु ४० करोड तीन लाख ६३ हजार ६१७ कर्जा लगानी गरिएकामा आव २०७७/७८ सम्ममा संस्थाको लगानीमा रहेको कर्जा रु ६९ करोड २४ लाख ३५ हजार ४६१ पुगेको उल्लेख गरिएको छ । सो अवसरमासरोकारवालाले सहकारीका माध्यमबाट गरिबी न्यूनीकरण तथा समृद्धिमा महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

ताजा

लोकप्रिय

%d bloggers like this: