Monday, September 16, 2024

ट्रेन्डिङ :

अब नेपालमै अलैँची प्रशोधन, मङ्सिरबाट प्रशोधन गरिने

इलाम – नेपालमा उत्पादित अलैँचीको ठूलो हिस्सा बाहिर निर्यात गर्नुपरिरहेका बेला अब भने स्वदेशमै प्रशोधन गरिने भएको छ।

अब नेपालमा उत्पादित केही हिस्सा अलैँचीलाई आउँदो मङ्सिरबाट नेपालमै प्रशोधन गर्न सकिने छ।

झापाको अर्जुनधारामा तीन करोड लागतमा प्रशोधन उद्योग निर्माण भइसकेको छ।

उद्योगले अलैँचीलाई चार प्रकारमा वर्गीकरण गरेर खरीद गर्ने प्रावधान बनाएको छ। उद्योगका सञ्चालक निर्मल भट्टराईका अनुसार ठूलो अलैँची, मझौला अलैँची, सानो अलैँची र सामान्य अलैँचीका रूपमा उद्योगले खरिद गर्नेछ।

यस्तै अलैँची प्रशोधन गर्ने विभिन्न प्रावधान छन्। गुणस्तरीय अलैँचीलाई १००–१५० ग्रामको प्याकिङ गरेर निर्यात गरिने छ।

अर्को प्रशोधनमार्फत ‘ड्रस’ बनाउने उद्योगको योजना छ। यस्तै अलैँचीलाई ‘माउथ फेवर’ वा मुखलाई सुगन्धित बनाउनका लागि अलैँचीको सानो गेडालाई प्रशोधन गरेर वितरण गर्ने प्रावधान छ।

“हामीले मुखमा गन्ध चाल नपाउनका लागि ‘सिल्भर कोटेड’ मा अलैँचीको सानो दाना मिसाएर बनाउछौँ”, सञ्चालक भट्टराईले भने, “यो प्रविधि सबैभन्दा लाभदायक हुन सक्छ। स्वदेशमा बढी निर्यात हुने सम्भावना छ।”

अहिलेसम्म अलैँचीलाई प्याकेजिङ नै नगरी बोरामा हालेर विदेश निर्यात गरिन्छ। यसरी निर्यात गर्दा सीमा निर्यात समस्यादेखि अलैँचीको भाउमा समेत तलमाथि हुने समस्या आउने गर्छ। नेपालमै उद्योग निर्माणपछि भने यस्ता समस्या न्यूनीकरण हुने व्यवसायीको अनुमान छ।

“एकैचोटि सबै अलैँची नेपालमा प्रशोधन गर्न सकिँदैन र एउटा उद्योगले मात्र सम्भव पनि छैन”, सञ्चालक भट्टराईले भने, “एउटा नमूना सुरुवात गरेको हो ।”

भट्टराईका अनुसार उद्योगको नमूना प्रशोधनसमेत भइसकेको छ । उद्योगमा प्रशोधन भएका वस्तु बाहिरी देशकै मापदण्डमा रहेकाले निर्यात गर्न आह्वान पनि गरिएको छ ।

मुख्यगरी अलैँचीजन्य पदार्थको बजार नेपालमै केन्द्रित गरिने छ भने बाँकी बजार भारत, पाकिस्तान, युएई, युरोपेली मुलुक र अमेरिका हो ।

“हाम्रो उद्योगले हाल प्रमाणपत्र पनि लिइसकेको छ । बाहिरी देशको मापदण्डअनुसारकै भइसक्यो”, उनले भने।

उद्योगले अहिले अलैँचीको मात्र प्रशोधन गर्ने छ । समयान्तरमा माग र दक्षजनशक्ति बढेमा अन्य वस्तुसँग अलैँची प्रशोधन गरेर बेच्ने योजना रहेको भट्टराईको भनाइ छ ।

यो उद्योगले मात्रै देशभर उत्पादित १५ प्रतिशत अलैँची प्रशोधन गर्न सकिने भट्टराईको जिकिर छ । स्वस्थकर चिज निर्माण हुने भएकाले उद्योगबाट प्रशोधित धेरै सामग्री नेपालमै खपत हुने भट्टराईको भनाइ छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?