१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

वायुसेवा निगमको जहाजको इन्जिनमा समस्या देखिएपछि १४२ यात्रु दुबईमा रोकिए



काठमाडौँ । काठमाडौंका लागि उड्नै लागेको नेपाल वायुसेवा निगमको एयरबस ए ३२० जहाजको दायाँ इन्जिनमा समस्या देखिएपछि १ सय ४२ जना यात्रु दुबईमा रोकिएका छन् ।

स्थानीयसमयअनुसार, शनिबार राति १ बजे विमानस्थलमा पुगेका यात्रुहरु १९ घन्टा बितिसक्दा पनि नेपाल फर्किने टुंगो लागिसकेको थिएन । ‘दुबईबाट बिहान साढे ४ बजे जहाज उड्नुपर्ने तालिका थियो । तर बिग्रिएको जहाज मर्मत हुन नसकेकाले १९ घन्टासम्म यात्रुहरु दुबईमै रोकिएका छन्,’ निगमका एक इन्जिनियरले भने, ‘त्यो जहाज काठमाडौंमा आइतबार बिहान १० बजे अवतरण हुने समय थियो तर इन्जिनमा समस्या देखिएकाले उतै छ । के भएको ठ्याक्कै जानकारी पाइएको छैन । यताबाट अर्को जहाज पठाउन वा नपठाउने व्यवस्थापनले केही भनेको छैन ।’
आरए २३० उडान नम्बरको उक्त जहाजमा १ सय ४२ यात्रुबाहेक ८ जना क्याबिन क्रू पनि थिए ।

दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रु राखेर १० मिनेट हाराहारी ट्याक्सी–वेमा गुडिरहेका बेला निगमको अल्फा किलो एक्सरे (नेपाली नाम लुम्बिनी) विमानको दायाँ इन्जिनको तापक्रम ‘आइडल’ अवस्थामै ६ सय डिग्रीमा पुगेपछि चालक दलका सदस्य दिपुराज जुहार्चन र हिरा थापाले जहाज पुनः एप्रोनमै फर्काएका थिए । हाल निगमको विमान त्यहाँ भाडामा लिइएको ग्राउन्ड ह्याण्डलिङ कम्पनीका इन्जिनिर र प्राविधिकको निगरानीमा रहेको छ । नेपाली समय अनुसार, बेलुकी १० बजेसम्म पनि उडान निश्चित थिएन ।

निगमको दुबईस्थित स्टेसनका एक कर्मचारीले अलपत्र यात्रुहरुलाई यहाँ (दुबई) का विभिन्न होटलमा पठाएको जानकारी दिए । यस विषयमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले निगमको प्रणालीअनुसार त्यहाँको स्टेशनले व्यवस्थापन गरिरहेको बताए । उनले अलपत्र यात्रु स्वदेश फर्काउन निगमै अर्को जहाज पठाउनेरनपठाउने वा अरु बायुसेवाबाट स्वदेश ल्याउने केही खुलाएनन् ।


प्रतिक्रिया दिनुहोस !