१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

सफ्टवेयर विदेशमा बेचेको आम्दानी नेपाल भित्र्याउन सहज पारियो



काठमाडौं | नेपाल राष्ट्र बैंकले विदेशमा निर्यात गरेको सूचना प्रविधि सम्बन्धि सेवा तथा वस्तुहरुको आम्दानी भित्र्याउन सहज बनाईदिएको छ।

नेपालमा रहेको कम्पनी तथा संस्थाले आफ्नो दक्षता तथा विज्ञता बापतको विदेशी मुद्रा स्वदेश ल्याउन सहज पारिदिएको हो। यसका साथै सामाजिक संजालहरुबाट हुने आम्दानीलाई समेत सहजरुपमा नेपाल भित्र्याउन सकिने भएको छ ।

इकमर्श कारोबार बापतको अनलाइन वित्तीय सेवाको रकम स्वदेश ल्याउनका लागि सजिलो बनाउँदै बैंकले विदेशबाट नेपालमा विदेशी मुद्रा रकमान्तरण गर्न सकिने नयाँ व्यवस्था गरेको हो।

विशेषतः सूचना प्रविधि सम्बद्ध दक्षता/विज्ञताको निकासी विक्रीवापत प्राप्त हुने रकम, सामाजिक सञ्जालमा सामग्रीहरु राखिए वापत प्राप्त हुने रकम तथा खुद्रास्तरको अन्तरराष्ट्रिय व्यावसायिक/व्यापारिक कारोबार वापत प्राप्त हुने रकम लगायतका रकमहरु मान्य हुनेछन्।

नयाँ व्यवस्थाले नेपालबाट विदेशी मुलुक र कम्पनीहरुमा सफ्टवेयर तथा परामर्श लगायतका कार्यहरु दिईरहेका कम्पनीहरुलाई सहज हुने भएको छ।

यसअघि यस्तो व्यवस्था नहुँदा नेपालमा रहेका सफ्टवेयरमा काम गर्ने कम्पनीहरुले विभिन्न प्रयोजन तथा स्रोत देखाएर रकम ल्याउने गरेका थिए भने उनीहरुले वैकल्पिक व्यवस्था अपनाउनुपर्ने बाध्यता थियो।

यससहित अब विशेषगरि यूट्यूबलगायतका सामाजिक संजालबाट हुने आम्दानी भित्र्याउन समेत सहज हुने भएको छ।

नेपालबाट इकमर्श वा अनलाइन माध्यमबाट बिक्री गरिएको वस्तु तथा अन्य सेवाको भुक्तानी पनि अनलाइन माध्यमबाट लिन सकिने भएको छ ।

स्वदेशी बैंकको खातामा विदेशी मुद्रा प्राप्त भए पश्चात भुक्तानी सेवा प्रदायक(बैंक तथा वित्तीय संस्था समेत) ले सञ्चालन गरेको ग्राहकको वालेट लगायत भुक्तानीका उपकरणमा तोकिएको सीमा सम्मको रकम स्वदेशी मुद्रामा रकमान्तर गर्न सकिने व्यवस्था केन्द्रीय बैंकले मिलाईदिएको छ ।


प्रतिक्रिया दिनुहोस !