१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी



नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिएपछि मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका छन् । राष्ट्रपति र उपराष्ट्रपतिको चुनावपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने तयारी गरेका हुन् ।

‘हामीले तत्काल उपराष्ट्रपतिको चुनाव गर्छौ । त्यसपछि चुनाव सकिएलगत्तै सत्ता साझेदार दलसँग छलफल र परामर्श हुने छ’ माओवादीका एक प्रभावशाली मन्त्रीले भने,‘ हामीले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् पुनर्गठन गर्ने सोचेका छौँ । तर, सत्ता साझेदार दलको बैठकमा कसरी जाने भन्ने सुझाव आउँछ त्यसपछि मात्रै टुङ्गो लाग्छ ।’

प्रधानमन्त्री प्रचण्ड भने विश्वासको मत लिएर मात्रै मन्त्रिपरिषद् पुनर्गठन योजनामा छन् । प्रचण्डले राष्ट्रपति र उपराष्ट्रपतिको चुनावअघि विश्वासको मत लिन खोजेका थिए । समय अभावका कारण विश्वासको मत लिने कार्यक्रम चुनावपछि धकेलिएको हो । प्रधानमन्त्रीले विश्वासको मत पाएपछि कांग्रेस, जसपा, एकीकृत समाजवादी, लोसपा, नागरिक उन्मुक्ति पार्टी लगायतका दल सरकारमा जाने तयारी गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !