५ जेष्ठ २०८१, शनिबार
 |   Sat May 18 2024
Logo

चोरीको आरोप लागेका एक बालक तरकारी खेतमा मृत फेला



जनकपुरधाम । सिरहाको अर्नमा गाउँपालिका ४ लक्ष्मीपुरमा चोरीको आरोप लागेका एक बालक तरकारी खेतमा मृत फेला परेका छन् । मृत फेला पर्नेमा स्थानीय बेचन महराका ११ वर्षीय छोरा निरज मोची छन् । घरदेखि करिब एक किलोमिटर दुरीमा रहेको एकान्त तरकारी खेत नजिकै उनको शव फेला परेको हो ।

स्थानीय पबित्तर महतोको पसलमा शुक्रवार बिहान चोरी भएको थियो । उक्त चोरी घटनामा मृत फेला परेका मोचीसहित पाँच जनाको संलग्नता रहेको आरोप लागेको थियो ।

पसलमा चोरीको आरोपमा पसल सञ्चालक महतो र गाउँपालिकाले दुई जनालाई पक्रेर वडा कार्यालयको निगरानीमा घर थुनेर हिजो राखेको थियो । थुनिएका ती दुई जनाले मोची र अन्य २ जनाको पनि चोरीमा संलग्नता रहेको बताएका थिए ।

तर मोचीसहित तीन जना फेला पर्न सकेका थिएनन् । उनीहरूलाई खोजेर चोरी गरेको विषयमा छलफल गर्न अभिभावकलाई जिम्मेवारी दिइएको थियो । अभिभावकले दुई जनालाई खोजे । मोचीलाई भने उनका अभिभावकले पनि खोज्न सकेनन् ।

राति समेत घरमा नगएका बालक मोची आज बिहान करिब ९ बजे खेतमा मृत फेला परेको बुझिएको छ । सिरहा प्रहरी प्रवक्ता डिएसपी रविन्द्र पाण्डेका अनुसार मृत फेला परेका बालक मोचीको बायाँ हातमा करेन्ट लागेको देखिएको छ । अनुसन्धानमा करेन्ट लागेरै उनको मृत्यु भएको देखिको छ ।


प्रतिक्रिया दिनुहोस !