५ जेष्ठ २०८१, शनिबार
 |   Sat May 18 2024
Logo

नेपाली पत्रकारितामाथि सभामुख घिमिरेको आक्रमणको पत्रकार महासंघले गर्‍यो विरोध



काठमाडौं । नेपाल पत्रकार महासंघले सभामुख देवराज घिमिरेलाई आफ्नो अभिव्यक्ति पुष्टि गर्न वा सच्याउन आग्रह गरेको छ । संघीय संसद्ले बनाउने सञ्चार क्षेत्रसँग सम्बन्धित कानूनका विषयमा छलफल गर्न र र बधाई दिन पत्रकार महासंघको प्रतिनिधिमण्डलले शुक्रबार सभामुख घिमिरेसँग भेट गरेको थियो । त्यसक्रममा घिमिरेले दिएको अभिव्यक्तिले सञ्चार क्षेत्रको आत्मसम्मानमा गम्भीर चोट पुगेको महासंघले बताएको छ ।

सार्वभौम संसदको मूल नेतृत्वको पदीय हैसियत र मर्यादाविपरीत भएको भन्दै महासंघका महासचिव रोसन पुरीले विज्ञप्तिमार्फत भनेका छन्, ‘सार्वभौम संसद्को मूल नेतृत्वबाटै आफ्नो पदीय हैसियत र मर्यादाविपरित सञ्चार क्षेत्रप्रति आधारहीन र आपत्तिजनक अभिव्यक्ति प्रकट हुनु अत्यन्त दुःखद् छ ।’

शुक्रबार महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा सभामुख घिमिरेले पत्रकारहरु बिक्रीमा रहेको र पित पत्रकारिता भइरहेको अभिव्यक्ति दिएका थिए । नेपाली सञ्चार क्षेत्र क्रमशः व्यावसायिकतातर्फ उन्मुख भइरहेको बेला जिम्मेवार व्यक्तिले समग्र प्रेस जगतलाई लान्छित गर्ने अभिव्यक्ति दिँदा यस क्षेत्रको विश्वसनीयता र व्यावसायिकतामा आँच आउन सक्ने महासंघको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !