१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

अमेरिकी सर्वोच्च अदालतकी वरिष्ठ न्यायाधीश रुथ बाडर गिन्सबर्गको निधन



अमेरिकी सर्वोच्च अदालतकी वरिष्ठ न्यायाधीश रुथ बाडर गिन्सबर्गको निधन भएको छ।

महिला अधिकारकी च्याम्पियन तथा मत्वपूर्ण प्रगतिशील फैसलाका लागि सदैव स्मरण गरिने न्यायाधीश गिन्सबर्गको ८७ वर्षको उमेरमा शुक्रबार निधन भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

सर्वोच्च अदालतले जारी गरेको वक्तव्यमा न्यायाधीश गिन्सबर्गको वासिङ्गटन डिसीस्थित घरमा निधन भएको हो।

मेटिस्टाटिक प्याङ्क्रियाटिक क्यान्सरका कारण उनको निधन भएको हो । न्यायाधीश गिन्सबर्गको निधन हुने बेला परिवारका सदस्य साथैमा रहेको अदालतले जारी गरेको वक्तव्यमा उल्लेख छ ।

यसअघि क्यान्सरको उपचार गरेर निको भएकी उनमा यो वर्ष पुनः क्यान्सर देखिएपछि किमोथेरापी गरिँदै आएको थियो ।

न्यायाधीश रुथले दुई महिनाअघि वक्तव्य जारी गरेर क्यान्सरको उपचारका लागि किमोथेरापीमा रहेको बताएकी थिइन् । उपचारकै बिच पनि गिन्सबर्गले अदालतको काम कारवाही गर्दै आएकी थिइन् ।

सर्वोच्च अदालतमा २७ वर्षअघि न्यायाधीशका रुपमा नियुक्त भएकी गिन्सबर्ग सबैभन्दा बढी उमेरकी सक्रिय न्यायाधीश थिइन् ।

अमेरिकामा सर्वोच्च न्यायाधीशले जीवनभर सेवा गर्न पाउँछन् । उनीहरुले सेवा निवृत्त हुनका लागि इच्छा व्यक्त नगरेसम्म जिम्मेवारीमा रहन्छन् ।

न्यायाधीश रुथ बाडर गिन्सबर्गले सन् १९९३ देखि सर्वोच्चको न्यायाधीशका रुपमा काम गर्दै आएकी थिइन्। अमेरिकाको सर्वोच्च अदालतका ९ न्यायाधीश हुन्छन् । गिन्सबर्गको निधनसँगै एउटा पद खाली भएको छ । यसको अर्थत राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ न्यायाधीश नियुक्त गर्न पाउने भएका छन् ।

राष्ट्रपतिले प्रस्ताव गरेका व्यक्तिलाई संसदले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ । संसदको माथिल्लो सदन सिनेटमा रिपब्लिकन पार्टीको बहुमत छ ।

गिन्सबर्गलाई केही भएमा कन्जरभेटिभ न्यायाधीशले उनको ठाउँ लिन सक्ने भन्दै समर्थकहरुले चिन्ता व्यक्त गर्दै आएका थिए । उनी सर्वोच्चकी वरिष्ठ लिबरल न्यायाधीश धिइन् ।

उनको निधनसँग नयाँ न्यायाधीश को हुने भन्ने राजनीतिक संघर्ष सुरु भएको छ । राष्ट्रपतिको जिम्मेवारीमा आए यता डोनाल्ड ट्रम्पले सर्वोच्चमा दुई न्यायाधीश नियुक्त गरेका छन् । सर्वोच्चका ९ मध्ये अहिले पाँचजना कन्जरभेटिभ न्यायाधीश छन् । ट्रम्पले नै नयाँ न्यायाधीश नियुक्त गर्न पाएमा सर्वोच्चमा लिबरल थप कमजोर बन्ने छन् ।


प्रतिक्रिया दिनुहोस !