११ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 23 2024
Logo

मुलुक आर्थिक समृद्धिको दिशातर्फ: रास्ट्रपति



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अब मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अगाडि बढाउनुपर्ने महान् दायित्व हाम्रो काँधमा आएको बताउनुभएको छ ।

उहाँले जनताको राजनीतिक अधिकार प्राप्तिका लागि गरिने सङ्घर्षको चरण सम्पन्न भएकाले संविधानको मर्म र भावनालाई व्यवहारमा रूपान्तरण गर्न मन, वचन र कर्मले समर्पित भई आ–आफ्नो तर्फबाट इमानदार प्रयास जारी राख्न सबैमा आह्वान पनि गर्नुभएको छ ।

संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा दिनुभएको शुभकामना सन्देशमा राष्ट्रपतिले देशभित्र र बाहिर रहनुहुने सबै नेपालीमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ । नेपाली जनताको लामो सङ्घर्ष र बलिदानपछि पाँच वर्षअघि आजकै दिन जननिर्वाचित संविधान सभाद्वारा नेपालको संविधान जारी भएको थियो । त्यही ऐतिहासिक क्षणको सम्झना र सम्मान गर्न संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा समेत मनाइने गरिएको छ ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएका विभिन्न आन्दोलनका क्रममा अमूल्य जीवन गुमाउनुहुने ज्ञात–अज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै राष्ट्रपतिले आन्दोलनलाई पथ प्रदर्शन गर्नुहुने अग्रजहरूप्रति सम्मान एवं श्रद्धा व्यक्त गर्नुभएको छ । संविधानले निर्दिष्ट गरेको समाजवाद उन्मुख आर्थिक–सामाजिक प्रणाली विकास गर्न नयाँ कानुनहरूको कार्यान्वयनका लागि नेपाल सरकार अग्रसर रहेको भनाइ राख्नुहुँदै राष्ट्रपतिले सबै जनप्रतिनिधिमूलक संस्था, राजनीतिक दल तथा राज्यका सबै अङ्गलाई संवैधानिक मूल्य एवं मान्यता कार्यान्वयन गर्न प्रेरणा दिने अपेक्षासमेत लिनुभएको छ ।

यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले दिनुभएको शुभकामना सन्देशमा संविधान जारी भएको पाँच वर्ष पुगिसकेको सन्दर्भमा संविधानअनुसार बन्नुपर्ने कतिपय संरचनाको निर्माण र संविधान कार्यान्वयनका कतिपय काम बाँकी रहेको बताउनुभएको छ ।

उहाँले संविधान दिवसले बाँकी काम सम्पन्न गर्दै संविधानको पूर्ण कार्यान्वयन गर्न हामी सबैलाई प्रेरणा दिने र संविधान कार्यान्वयनका बाँकी काम यथाशक्य चाँडो पूरा हुने विश्वास व्यक्त गर्नुभएको छ । उपराष्ट्रपति पुनले संविधान एक गतिशील दस्तावेज भएकाले कतिपय असन्तुष्टिलाई संविधानभित्रै रहेर सम्बोधन गर्न र यसलाई थप परिस्कृत गर्न सकिनेतर्फ सबै पक्षको ध्यान जाने अपेक्षा पनि गर्नुभएको छ ।

यसैबीच प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले संविधानले सुम्पिएको भूमिकाप्रति न्यायपालिका संवेदनशील रहेको बताउनुभएको छ । उहाँले प्रभावकारी न्याय सम्पादनका माध्यमबाट सबैलाई न्याय सुनिश्चित गर्न अदालत सदैव क्रियाशील रहेको उल्लेख गर्नुभएको छ ।

संविधानले प्रत्याभूत गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा विधिको शासनको सुनिश्चितता गर्दै उहाँले भरोसायोग्य न्याय प्रणालीको स्थापना र संविधानको कार्यान्वयनमा प्रतिबद्धतासमेत जनाउनुभएको छ ।

यस्तै प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले जनगुनासो सम्बोधन गर्दै संविधान कार्यान्वयनलाई गतिशील बनाउनुपर्नेमा जोड दिनुभएको छ । संविधानमा उल्लिखित व्यवस्थाको कार्यान्वयन अहिले पनि मुख्य कार्यभार रहेको सभामुख सापकोटाको भनाइ छ ।

उहाँले सङ्घ, प्रदेश र स्थानीय तहबीचका साझा अधिकार क्षेत्रका विषयमा विवाद उत्पन्न हुन नदिन सचेत हुनुपर्ने पनि बताउनुभएको छ । संविधानअनुसार निर्माण भएका ऐनको नियमावली निर्माणमा ढिलाइ भएको गुनासो सम्बोधन गर्न पनि उहाँले सचेत गराउनुभएको छ ।

यसैगरी राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अब हाम्रा प्रयासहरू व्यवस्था परिवर्तन गर्नेतर्फ होइन कि व्यवस्था सुदृढ र संस्थागत गर्नेतर्फ केन्द्रित हुनुपर्छ भन्नुभएको छ । लोकतन्त्रको विकल्प लोकतन्त्र मात्र हो भन्ने मान्यतालाई स्थापित गराउन सानातिना राजनीतिक स्वार्थलाई बिर्सेर सामाजिक रूपान्तरणको प्रक्रियालाई अगाडि बढाउनु जरुरी छ भन्दै उहाँले यसका लागि एकातिर राज्यको नेतृत्व गर्नेसँग दृढ राजनीतिक इच्छाशक्ति र इमानदारिताको आवश्यकता औँल्याउनुभएको छ ।

नेपाली काँग्रेसका सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले दिनुभएको सन्देशमा संविधानको संरक्षण र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गर्दै अबका दिनमा मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउन यस दिवसले सबैलाई प्रेरणा प्रदान गर्ने उल्लेख गर्नुभएको छ ।


प्रतिक्रिया दिनुहोस !