१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

नेपालगञ्जमा कोरोना विशेष अस्पताल बन्द



नेपालगञ्ज – एक सय ९७ जना संक्रमितलाई सेवा दिएर खजुराको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले कोरोना विशेष सेवा बन्द गरेको छ।

५ नम्बर प्रदेश सरकारले क्यान्सर अस्पताल खजुरालाई गत बैशाख महिनादेखि कोरोना विशेष आइसोलेसन अस्पताल घोषणा गरेको थियो।

त्यहाँ २ बेड भ्यान्टिलेटर, ६ बेड आइसीयूसहित ५० बेड कोरोना संक्रमितलाई छुट्याइएको थियो ।

सुशील कोइराला प्रखर क्यान्सर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर केसीले क्यान्सर अस्पतालबाट कोरोना विशेष आइसोलेसन सेन्टर हटाइएको जानकारी दिए।

सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराका डा. प्रवीण गुप्ताले बैशाख १९ गते बाँकेका पहिलो कोरोना संक्रमित ६० वर्षीय पुरुषलाई आइसोलेसन सेन्टरमा राखेर दिइएको सेवा शनिबारसम्म आइपुग्दा एक सय ९७ मा पुगेको जानकारी दिए।

उनले शनिबार अन्तिम लटमा २२ जना व्यक्तिहरु कोरोना जितेर घर फर्किएसंँगै आगामी दिनमा क्यान्सरको उपचार गर्नेगरी कोरोना विशेष अस्पतालको सेवा बन्द गरिएको बताए ।

प्रदेश ५ सरकारका भौतिक पूर्वाधार मन्त्री बैजनाथ चौधरीको संयोजकत्वमा कोरोना विशेष अस्पताल सञ्चालनमा थियो।

जुन समितिमा डा. प्रकाश थापाको संयोजकत्वमा बिज्ञ तथा प्राबिधिक टिम, खजुरा गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपतिको संयोजकत्वमा आवास भोजन तथा यातायात लगायतका उप समितिहरु समेत सहभागी भई सफल कोरोना विशेष अस्पतालका रुपमा व्यवस्थापन गरिएको थियो ।

नेपालगञ्जको भेरी अस्पतालमा ७२ बेडको कोरोना विशेष अस्पताल सञ्चालनमा आएपछि खजुराको बन्द गरिएको हो ।


प्रतिक्रिया दिनुहोस !