Wednesday, September 18, 2024

ट्रेन्डिङ :

विदेशी मुद्रा भुक्तानी वालेटमार्फत

काठमाडौँ । सामाजिक सञ्जाल फेसबुक, युट्युबलगायतका माध्यमबाट आर्जन हुने विदेशी मुद्रा बैङ्किङ प्रणालीबाट ल्याउन अनलाइन वित्तीय सेवामार्फत पनि रकमान्तर गर्न सकिने नेपाल राष्ट्र बैङ्कले जनाएको छ ।

राष्ट्र बैङ्कले सामाजिक सञ्जाल, ई–कमर्स लगायतका कारोबारबापत बैङ्क खातामा आउने रकम अनलाइन वित्तीय सेवामार्फत रकमान्तर गर्न सकिने जनाएको हो ।

भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेलले बाहिरबाट केही काम गरेर यसरी बैङ्क खातामा ल्याइने रकम वालेटमार्फत पनि भुक्तानी गर्न सकिन्छ भन्ने कुरा बुझाउन सर्कुलर जारी गरिएको बताउनुभयो ।

स्वदेशी बैङ्कको खातामा विदेशी मुद्रा प्राप्त भएपछि भुक्तानी सेवा प्रदायक (बैङ्क तथा वित्तीय संस्थासमेत)ले सञ्चालन गरेको ग्राहकको वालेटलगायत भुक्तानीका उपकरणमा तोकिएको सीमासम्मको रकम स्वदेशी मुद्रामा रकमान्तर गर्न सकिने उहाँले बताउनुभयो ।

यस प्रयोजनका लागि विशेषतः सूचना प्रविधि सम्बद्ध दक्षता÷विज्ञताको निकासी बिक्रीबापत प्राप्त हुने रकम, सामाजिक सञ्जालमा सामग्री राखिएबापत प्राप्त हुने रकम तथा खुद्रास्तरको अन्तर्राष्ट्रिय व्यावसायिक÷व्यापारिक कारोबारबापत प्राप्त हुने रकमलगायतका रकम मान्य हुने उहाँले बताउनुभयो ।

विदेशी मुद्रा आर्जन गर्ने क्रममा तोकिएबमोजिमको शुल्क, रोयल्टीलगायत आवश्यक परी सोको भुक्तानी विदेशमा पठाउनुपर्ने भएमा राष्ट्र बैङ्कको विदेशी विनिमय व्यवस्थापन विभागबाट जारी निर्देशनको पालना गर्नुपर्ने पनि सर्कुलरमा उल्लेख छ ।

सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी ऐन एवं प्रचलित अन्य ऐन, कानुन तथा निर्देशनको अनिवार्य पालना भएको हुनुपर्ने प्रावधान राखिएका छन् । यसप्रकार सम्पन्न कारोबारको मासिक विवरण तोकिएको ढाँचामा महिना समाप्त भएको मितिले १५ दिनभित्र राष्ट्र बैङ्कको भुक्तानी प्रणाली विभागमा पेस गर्नुपर्ने सर्कुलरमा जनाइएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?