१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

‘क्लिन फिड’ कात्तिक ८ देखि, विदेशी च्यानलमा विज्ञापन बजाउन नपाइने



काठमाडौं । कात्तिक ८ गतेबाटै ‘क्लिन फिड’ अर्थात् विज्ञापनरहित विदेशी च्यानल प्रसारण हुने भएको छ । विगत केही समयदेखि नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलका लागि क्लिन फिड लागू गर्ने विषय चर्चामा रहेको अवस्थामा अब भने कार्यान्वयनमा आउने भएको हो ।

विज्ञापन ऐन–२०७६ को प्रावधानअनुसार आगामी कात्तिक ८ देखि नेपालमा क्लिन फिड लागू हुने सूचना तथा सञ्चार प्रविधि सचिव हरिप्रसाद बस्यालले बताएका छन् । बस्यालका अनुसार तोकिएको समय अनुसार नै क्लिन फिड लागू हुनेछ । यसका लागि आवश्यक प्रक्रिया पुरा गरिसकेको उनले बताए ।

कार्यान्वयन भएसँगै नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरूमा विज्ञापन बजाउन पाइने छैन । गत कात्तिकमा संसदबाट पारित भएर राजपत्रमा प्रकाशित भएको विज्ञापन नियमन गर्ने ऐनको दफा ६ मा एक वर्षभित्र क्लिन फिड लागू गर्नुपर्ने प्रावधान राखिएको छ ।

‘नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरूले विज्ञापनरहित प्रसारण गर्नुपर्ने छ,’ उक्त ऐनको दफा ६ मा भनिएको छ, ‘सम्झौता गरिसकेका संस्थाहरूले ऐन प्रारम्भ भएको एक वर्षभित्र विज्ञापनरहित रुपमा प्रसारण गर्नुपर्नेछ ।’

यसै हिसाबले मन्त्रालयले तयारी पुरा गरेको सचिव बस्यालले बताएका छन् । ‘पूर्ण क्लिन फिड नै लागु हुनेछ,’ बस्याल भन्छन, ‘त्यसमा कुनै दुविधा छैन । कानुनमा जे उल्लेख गरिएको छ, त्यसै अनुसार काम हुनेछ ।’

तर, केही समय अघिमात्रै भारतीय टेलिभिजन च्यानल प्रसारण संस्था इन्डियन ब्रोडकास्टिङ फाउन्डेसन (आईबीएफ)ले नेपाल सरकारलाई थप ६ महिना क्लिन फिड नीति कार्यान्वयनमा नल्याउन आग्रह गर्दै पत्र पठाएको थियो ।

उक्त पत्रको विषयमा सचिव बस्यालले भने, ‘त्यो कहाँ आयो थाहा छैन । हामीसँग आइपुगेको छैन । त्यसमा कतिपय संस्था तथा व्यक्तिको स्वार्थ होला । तर, क्लिन फिड लागू हुनेछ ।’

आईबीएफले कोभिड–१९ को अहिलेको अवस्थामा क्लिन फिड लागू नगरिदिन आग्रह गर्दै पत्राचार गरेको थियो ।

आईबीएफले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालको नाममा पत्र पठाउँदै हालको विषम् परिस्थितिलाई ध्यानमा राखी नीति कार्यान्वयन ६ महिना स्थगित गर्न आग्रह गरेको थियो ।

तर, कार्यान्वयनमा कुनै किसिमको ढिलाइ नुहने सचिव बस्यालले बताएका छन् ।-टेकपानाबाट साभार


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय