२३ बैशाख २०८१, आईतवार
 |   Sun May 5 2024
Logo

बालकृष्ण खाँणको फर्मेट मोबाईलको डाटा रिकभर गर्न ल्याबमा पठाईयो, बयान दिन खाँणको इन्कार



काठमाडौं । नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणको मोबाइल पनि गृह मन्त्रालयका पूर्वसचिव टेकनाराण पाण्डेको जस्तै फर्म्याट भएको खुलेको छ । डेटा रिकभरका लागि प्रहरीले उक्त मोबाइल प्रहरी प्रयोगशालामा पठाएको छ । प्रहरीले बुधबार खाण पक्राउसँगै बरामद गरेको मोबाइलको डेटा अनुसन्धान थालेको थियो । तर, ‘डेटा मिसिङ’ भएको भेटिएपछि प्रहरी रिकभर गर्ने निष्कर्षमा पुगेको हो । हामीले ‘डेटा रिकभर’का लागि प्रयोगशाला पठाएका छौँ । रिकभर भएर आएपछि अनुसन्धानले एउटा मोड लेला उक प्रहरी अधिकृत भन्छन् ।

२० वैशाखमा पक्राउ परेका गृह मन्त्रालयका पूर्वसचिव टेकनाराण पाण्डेले तथ्य खुल्ने डरले मोबाइल ‘फर्म्याट’ गराएका थिए । पछि प्रहरीले उनको मोबाइलको ‘डेटा रिकभर’ गरेको थियो । सोही डेटाका आधारमा नक्कली भुटानी शरणार्थी प्रकरणमा खाणको संलग्नता रहेको निष्कर्ष प्रहरीले निकालेको थियो । कारोबारका सन्दर्भमा खाणले पठाएको एसएमएस (सर्ट मेसेज सर्भिस) पाण्डेको मोबाइलमा भेटिनु, तर सोही एसएमएस खाणको मोबाइलमा नभेटिएपछि प्रहरी मोबाइल डेटा रिकभर गर्ने निष्कर्षमा पुगेको हो । डेटा रिकभर भएलगत्तै अुसन्धानले नयाँ मोड लिने आशामा प्रहरी छ । डेटा रिकभरको सन्दर्भमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले अनुसन्धानका लागि आवश्यक सबै प्रक्रिया प्रहरीले अघि बढाएको बताए ।

प्रहरीले खाणले प्रयोग गर्ने ‘सिम’को सिडिआर (कल डिटेल रिपोर्ट) भने पक्राउअघि नै उतारिसकेको छ । सिडिआरमा नक्लकी भुटानी शरणार्थी प्रकरणमा जोडिएका गिरोहका सदस्यसँग उनको पटक–पटक कुराकानी भएको भेटिएको थियो । विशेष गरी धन्दाका सम्बन्धमा उनको सबैभन्दा धेरै संवाद पूर्वगृहसचिव पाण्डेसँग भएको देखिन्छ । त्यसपछि पक्राउ परेका सन्देश शर्मा, पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजित राई, पूर्वउप्रधानमन्त्री तथा निलम्बित एमाले सचिव टोपबहादुर रायमाझीसँग खाणको धेरै संवाद भएको देखिन्छ । अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘उहाँको फोनको सिडिआर उतारेका छौँ । विश्लेषण पनि भएको छ । प्रकरणमा पक्राउ विभिन्न अभियुक्तसँग उहाँको पटक–पटक संवाद भएको देखिन्छ । पक्राउ परेका अभियुक्तले पनि उहाँसँग कारोबारलाई लिएर संवाद भएको स्वीकार गरेका छन् ।

अझै सुरु भएन खाणको बयान
ठगी धन्दामा संलग्नमध्येका मुख्य योजनाकार मोरङका केशव दुलाल पक्राउ गरेको २२ दिनपछि मात्रै प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणलाई संगठित ठगी मुद्दामा रूपान्तरण गरेको थियो । प्रहरीले केशवलाई १२ चैतमा काठमाडौंबाट पक्राउ गरेको थियो । संठगित अपराध अनुसन्धान गर्न प्रहरीलाई ६० दिनको मात्रै म्याद अवधि हुन्छ । त्यसो हुँदा प्रहरीले अबको दश दिनभित्र घटनाको अनुसन्धान सकेर प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गरिसक्नुपर्नेछ । तर, प्रकरणमा एकपछि अर्को नयाँ ‘हाई प्रोफाइल’ जोडिने क्रम जारी छ । पक्राउ परेका खाणको बयानले अनुसन्धानलाई नयाँ दिशा दिने निश्चित छ । प्रहरीले खाणसँग बिहीबार बेलुकासम्म बयान लिन सकेको छैन । स्वास्थ्यको कारण देखाउँदै खाणले प्रहरीलाई बयान दिन इन्कार गरिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस !