१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

मदन राईपछि शुभमका निर्देशक सूर्य राईमाथि पनि बाल यौन दुर्व्यवहार गरेको आरोप



खोटाङ । खोटाङस्थित शुभद्रा मदन फाउन्डेसन (शुभम) का निर्देशक सूर्य राईमाथि पनि बाल यौन दुर्व्यवहार गरेको आरोप लागेको छ। उक्त फाउन्डेसनका संस्थापक मदन राईले बालिकाहरूमाथि यौन दुर्व्यवहार गरेको भन्दै उजुरी परेपछि अहिले हिरासतमा छन्। मदन पक्राउ परेपछि फाउन्डेसनमा दस वर्ष बसेर पढेकी एक युवतीले निर्देशक सूर्य राईले पनि आफूलाई यौन दुर्व्यवहार गरेको हामीलाई बताएकी हुन्। सूर्यले आफूलाई एकपटक यौन दुर्व्यवहार गरेको उनले बताइन्। त्यो एकपटकको घटनाले आफूलाई निकै वर्ष गाह्रो पारेको उनको भनाइ छ।

ुमेरो घर खोटाङमै हो। हामी सानै छँदा बुबा बित्नुभयो। हामी चार पाँच भाइबहिनीलाई एक्लै पढाउन आमाले निकै संघर्ष गर्नुपरेको थियो। शुभम फाउन्डेसन स्थापना हुनुअघि सूर्य राईहरूको अर्कै संस्था थियो। त्यहाँ बसेर म दिक्तेलको स्याम्पल स्कुलमा पढ्थेँ। पछि मलाई शुभम फाउन्डेसनमा पढ्नका लागि एउटा संस्थाले स्पोन्सर गर्‍यो। म त्यहाँ पढ्ने बेलामा दिनभरि स्कुल जाने र बिहानभरि कृषिको सिकाइ भनेर खेतबारी र गोठमा काम गर्नुपर्थ्यो। हामीले राम्रो सिकाइ गरिरहेका छौं भन्ने अनुभव सबै जसोलाई हुन्थ्यो। त्यहाँ जसले जे गरे पनि त्यसलाई सिकाइकै नाम दिइन्छ।

हामी सहरी सिकाइका लागि भनेर तीन चार महिना ललितपुरको ढोलाहिटीमा रहेको मदन राईको घरमा आउनुपर्थ्यो। त्यहाँ मदन बाजेको घर सफा गर्नु, कुखुरा हेर्नु र उहाँका भित्री लुगा धुनुलाई समेत हामीले सिकाइ मान्दै बसेका थियौं। जे भए पनि म शुभममै बसेर दस वर्ष पढेँ। त्यहाँको पढाइ र सिकाइबारे अब मलाई केही भन्नु छैन। म आजभन्दा पाँच वर्षअघि नै शुभम फाउन्डेसनबाट निस्किएकी हुँ। शुभम छोड्नुभन्दा दुई वर्ष अगाडि जतिको कुरा हो। २०७३ साल फागुनमा मेरो भाइ काठमाडौंबाट घर आएको थियो। भाइ काठमाडौं बोर्डिङमा पढ्थ्यो। त्यसपछि भने पढ्न भारत जाँदै थियो। मैले भाइलाई नदेखेको चार वर्ष भइसकेको थियो। भाइलाई भेट्न अझै कति वर्ष लाग्छ भनेर आमाले पनि बिदा लिएर आउन भन्नुभएको थियो।

शुभममा भने दसैंबाहेक अघिपछि घर जान दिइँदैन थियो। एकदम कडा नियम थियो। तैपनि मैले एकपटक सूर्य अंकल (राई) सँग सबै कुरा भन्छु भनेर बिदा माग्ने सोच बनाएँ। मलाई दिन र बार त सम्झना छैन। तर त्यो दिन दिउँसैदेखि नै म सूर्य अंकललाई के भन्ने भनेर सोचिरहेकी थिएँ। दिनभरिमा उहाँलाई भन्ने मौका पाइँन। त्यो बेला म किचन विभागमा काम गर्थेँ। साँझको खाना पकाउनेदेखि खुवाउनेसम्मका काम सकाएँ। अनि सूर्य अंकलको अफिसमा गएँ।

अंकल बसेर ल्यापटप चलाइरहनुभएको थियो। म गएर उहाँको नजिकै बसेँ। मैले अंकल, म घर जाम् भनेको, मेरो भाइ आएको छ रे, एकपटक भेट्न जान्छु। पाँच दिनको टाइम दिनुु भनेको थिएँ। उहाँ चुपचाप नबोली बस्नुभयो। त्यसपछि मैले फेरि अंकल जाम् कि नजाम् मलाई एकपटक जानु मन छ भनेँ। उहाँले किन जाने घर भनेर सोध्नुभयो। मैले भाइ भेट्न भनेर दोहोर्‍याएँ। तर उहाँले उत्तर दिनुभएन। ल्यापटपमा खै के टाइप गरिरहनुभएको थियो।

एकछिनपछि फेरि उहाँले सोध्नुभयो, केको लागि जाने रे ?

मैले फेरि भाइ आएको कुरा भनेँ। उहाँले भाइ कतिमा पढ्छ भनेर सोध्नुभयो। भाइको पढाइबारे भनेँ। अनि ऊ इन्डिया जान लागेकाले भेट्न जान मन लागेको कुरा पनि सुनाएँ। उहाँले ए मात्र भन्नुभयो। जाऊ पनि छैन, नजाऊ पनि छैन। फेरि उहाँले टाइप गरिरहनुभयो। म चुपचाप बसेँ। केही बेरमा उहाँले ुतिम्रो लाइभस्टकको काम सकियो होइन भनेर सोध्नुभयो। मैले सबै सकिएको जानकारी दिएँ।

फेरि तिम्रो सबै रिपोर्ट राम्रो छ भनेर सोध्नुभयो। मैले हप्ताभरिको रिपोर्ट लेख्नुपर्थ्यो। बुझाइसकेकी थिएँ। त्यसपछि उहाँले ए, ल भन्नुभयो अनि ल्यापटप चलाउन छोड्नुभयो। अकस्मात उहाँले आफ्नो हात मेरो छातीतिर ल्याउनुभयो। म शक भएँ, केही बोल्न सकिनँ। हात झट्कारेर फ्यालिदिन पनि सकिनँ। नगर्नू यस्तो भन्न पनि सकिनँ। मलाई त्यो बेला राम्रो त पटक्कै लागेको थिएन।

उहाँले टिसर्ट बाहिरबाटै मेरो छातीमा दुई तीन मिनेटसम्म चलाइरहनुभयो। अनि छातीबाट हात निकाल्नुभयो। त्यही पनि म एकछिन बसिरहेँ। मलाई केही भन्नु थियो। बिदा नि माग्नु थियो। भर्खरै भएको घटनाबारे मलाई सोच्नै मन लागिरहेको थिएन। फेरि मैले म घर जाऊँ भनेर सोधेँ। त्यसपछि म उठेँ र आफ्नो कोठातिर दौडिएँ।

मलाई त्यो बेला आफ्नो शरीर कस्तो नराम्रो लाग्यो। मलाई के भएको होला भन्ने भइरह्यो। आफ्नो शरीरको माया पनि लागेन। यो मेरो छाती नभइदिए हुने, ब्रेस्ट पनि नभइदिए हुने भन्ने लागेको थियो। कोठामा पुगेर फेरि त्यो कुरा सम्झिँदा मलाई रून आयो। डर, लाज र घिन मिसिएको भावना थियो मनमा। रातभरि मलाई त्यही भावनाले सतायो। निद्रै लागेन। पहिलो पटक कोही केटामान्छेको छुवाइ थियो त्यो। बुबाको माया पाएको थिइनँ। सूर्य अंकल र उहाँको उमेरको मान्छे देख्दा मलाई छोरी भन्दिए हुने भन्ने लाग्थ्यो। बाबाजस्तो लाग्थ्यो।

त्यो भन्दाअघि पनि म उहाँको नजिक गएकी थिएँ। तर त्यस्तो गर्नुभएको थिएन। मैले गल्ती गर्दा बरू गाली गर्नुहुन्थ्यो। रिपोर्ट लेख्न लगाउनुहुन्थ्यो। अर्को काम लगाउनुहुन्थ्यो। तर यस्तो कहिल्यै गर्नुभएको थिएन। मलाई त्यो बेला सूर्य अंकलले मलाई दुर्व्यवहार गरेको भन्ने थाहा थिएन। उहाँले त्यसो गर्न पाउनुहुन्न भन्ने चेत पनि थिएन। तर त्यो छुवाइ धेरै नराम्रो थियो। यति नराम्रो थियो कि मैले आफ्नै शरीरसँग घिन मान्न थालेकी थिएँ। मलाई मेरो छाती काटेर फाल्न पाए हुन्थ्यो भन्ने लागिरहन्थ्यो।

मलाई निकै दिनसम्म आफ्नो छातीकै दोष हो भन्ने लागिरह्यो। म आठ कक्षा पढ्दाको कुरा हो त्यो। सात वर्ष बितिसक्यो। तर त्यो छुवाइले मलाई आजसम्म डिस्टर्ब गरिरहेको छ। त्यसपछि मलाई केटा मान्छेहरूसँग डर लाग्न थाल्यो। म साथीहरूसँगै पनि टाढा हुन थालेँ। उनीहरू सबैले मेरो छाती छुन खोज्छन् भन्ने मलाई लाग्थ्यो। यस्तै एक दिनको कुरा हो। किचनमा काम गर्ने भएकाले खाना मैले पकाएकी थिएँ। केही साथीहरू बाँस बोक्न गएका थिए। उनीहरू पनि थाकेर अनि भोकाएर आएका थिए। तर एक जना साथीले मैले पकाएको मिठो भएन भन्दै टेबुलमा थाल हुत्यायो। मैले पनि मतिर आएको थाल ऊतिरै हुत्याएँ। त्यसपछि हाम्रो झगडा भयो।

मैले कुटेँ। ऊ पनि कुट्न आएको थियो। तर मलाई लाग्यो, ऊ पनि सूर्य अंकलले झैं मेरो छातीमा हात हाल्न आइरहेको छ। त्यो बेला मलाई के भयो कुन्नी, मैले पछाडि रहेको कुकरले उसलाई हानिदिएँ। ऊ ढल्यो। केहीबेरपछि फेरि उसको र मेरो कुटाकुट भयो। सबैले छुट्याए। त्यो दिन मलाई कोठामा गएपछि पनि अझ दुई झापड हान्न पाएको भए हुने भन्ने लागेको थियो। मेरो छातीमा हात हाल्न आएको भन्ने ठानेर हान्न खोजेकी थिएँ।

तर आज मलाई लाग्छ, त्यो दिन ऊ मैले कुटेको भएर फर्काउन मात्र आएको थियो। मेरो छातीमा हात हाल्न आएको थिएन। तर म हरेक कुरालाई त्यो दिन सूर्य अंकलले गरेको दुर्व्यवहारसँग लगेर जोड्न थालेकी थिएँ। मैले यो कुरा कसैलाई भन्नै सकिनँ। मलाई यसबारे भन्न मन त हुन्थ्यो तर घाँटीसम्म कुरै आउँदैन थियो। शुभममा मिसहरूले सधैं हामीलाई कसैले दुर्व्यवहार गर्छ भने तिमीहरू प्रतिकार गर्नू वा हामीलाई आएर भन्नू भनेर सिकाउनुहुन्थ्यो। उहाँहरूले मलाई त निकै माया गर्नुहुन्थ्यो। तर मैले यो घटनाबारे भन्नै सकिनँ।

दुई वर्षपछि मैले शुभम छोडेँ। तर त्यो घटनाको नमिठोपनले मलाई छोडेन। झन् धेरै गाँज्यो। शुभम छोडेपछि मलाई बिस्तारै आफ्नो शरीरको कुनै दोष होइन भन्ने चाहिँ महसुस हुन थाल्यो। तर बलात्कार र यौन दुर्व्यवहारका घटनाबारे खबर सुन्दा मलाई त्यही घटना याद हुन्थ्यो। यो विषयमा बोल्नु पनि पर्छ भन्ने कुरा मनमा आउन भने पाँच वर्ष लाग्यो। तीन महिनाअघि मैले एक जना मिसलाई यसबारे भन्छु भनेर कोसिस गरेकी थिएँ। सकिनँ।

बोल्नुपर्छ भन्ने थाहा भएर पनि बोल्न नसक्दा झन् गाह्रो हुने रहेछ। यस्तो कुराले निकै डिस्टर्ब गर्न थालेपछि एक महिनाअघि मैले शुभममै बस्ने एक जना साथीलाई त्यो दिनको घटनाबारे सुनाएँ। ऊ पनि छक्क परी। अस्ति मदन राईले त्यहाँका बहिनीहरूलाई दुर्व्यवहार गरेको खबर आएपछि मलाई मेरो दाजुले फोन गरेर सोध्नुभय, तिमीलाई यस्तो भएको थियो कि थिएन ? त्यो मदनले तिमीलाई केही गरेको भए आजै भन है दाजुले भन्नुभयो।

अनि मैले सूर्य अंकलले मलाई गरेको व्यवहारबारे सुनाएँ। दाजुले पनि सूर्य अंकललाई खुब मान्नु हुन्थ्यो। छक्क पर्नुभयो। मदन राईबारे आएको स्टोरी मैले पनि पढेँ। त्यो सबै सुनेर मलाई निकै गाह्रो भयो। स्टोरी पढिरहँदा मैले भोगेको घटना ताजा भएर आयो। त्यसपछि मैले पनि यसबारे बोल्नुपर्छ भन्ने लागेको हो।

यस्तो अप्रत्याशित भयो मेरो लागि त। मलाई यादै छैन। मेरो व्यवहार त्यस्तो पनि छैन। यहाँ आएर तपाईंले बुझ्नुभए हुन्छ। सोध्नुभए हुन्छ सूर्य राईले भने, म बरू मदन बाजे र अरूलाई पनि सम्झाउने गर्थेँ। म आफैं पनि श्रीमती भएको मान्छे, हामी सँगै यही बस्छौं। आफूले शुभममा बस्ने बालिकहरूलाई कहिल्यै नराम्रो नजरले नहेरेको उनले बताए।

सेतोपाटीबाट ।


प्रतिक्रिया दिनुहोस !