२२ मंसिर २०७८, बुधबार
 |   Wed Dec 8 2021
Logo

सर्वोच्चले रोक्यो वामदेव गौतमलाई राष्ट्रियसभामा जान



काठमाडौं : सर्वोच्च अदालतले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा जान तत्कालका लागि रोक लगाएको छ।

बुधबार सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले सांसदको हैसियतमा कुनै काम कारबाही नगर्न अन्तरिम आदेश दिएको हो। सर्वोच्चले राष्ट्रपति कार्यालय, सरकार र संसदका नाममा उक्त आदेश दिएको हो।

सर्वोच्चको आदेशमा गौतमको मनोनयनमा गम्भीर ‘संवैधानिक व्यख्या’को प्रश्न रहेको उल्लेख छ। मनोनयनको विषयमा अन्तरिम आदेशको निरन्तरता दिने वा नदिने भन्ने विषयमा असोज १४ गते सर्वोच्चमा छलफल हुनेछ।

सर्वोच्चको आदेशमा उक्त मितिसम्मका लागि गौतमको मनोनय सम्बन्धी सम्पूर्ण कामकारबाही यथास्थितिमा राख्न भनिएको छ। योसँगै तत्कालका लागि गौतमको सांसद बन्ने र सांसदको हैसियतमा मन्त्री बन्ने बाटो बन्द भएको छ।

गौतमलाई राष्ट्रियसभामा गरिएको मनोनयन र उपप्रधानमन्त्री बनाउने तयारीविरुद्ध परेको रिट उपर बुधबार पेसी तोकिएको थियो ।अधिवक्ता दिनेश त्रिपाठी र बद्रीराज भट्टले सर्वोच्च अदालतमा दायर गरेको दुई वटा रिटउपर रिट दर्ता गरेका थिए।

उनीहरुले वामदेवलाई राष्ट्रियसभा सदस्य मनोनीत गरेको सिफ़ारिस बदर गरी नीजलाई मन्त्री तथा सांसदको रूपमा कार्य नगराउनू भनेर सर्वोच्च अदालतमा रिट दर्ता थिए ।

प्रतिनिधिसभा निर्वाचनमा पराजित भएको व्यक्ति उक्त प्रतिनिधिसभाको कार्यकालभर मन्त्री नियुक्त हुन नसक्ने संविधानको धारा ७८ (४) को व्यवस्थाविरूद्ध भएको दाबी रिटमा गरिएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (ख) बमोजिम सरकारको सिफारिसमा गौतमलाई राष्ट्रियसभा सदस्यको रुपमा मनोनित गरेकी थिइन्।

राष्ट्रपति भण्डारीले मनोनित गरे लगत्तै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सिंहदरबारमा गौतमलाई पद तथा गोपनीयताको शपथ गराएका थिए। सरकारले गौतमलाई राष्ट्रियसभामा सिफारिस गर्ने निर्णय गरेको जानकारी प्रधानमन्त्री केपी ओलीले भदौ १८ गतेको नेकपा सचिवालय बैठकमा गराएका थिए।


प्रतिक्रिया दिनुहोस !


कुटपिट गरी हत्या गरेको आरोपमा तीनजना पक्राउ



काठमाडौँ : प्रहरीले कुटपिट गरी हत्या गरेको आरोपमा तीनजनालाई पक्राउ गरेको छ ।

चन्द्रपुर नगरपालिका(१ मंगलपुर बस्ने २८ वर्षीय गोपाल थिङको कुटपिट गरी हत्या गरेको अभियोगमा तीनजनालाई मंगलबार बिहान पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा उनकै दाइ ३५ वर्षीय रविन्द्र थिङ, माईजु नाता पर्ने ४२ वर्षीया दुधिमाया पाख्रिन र काठमाडौं घर भएका मामा नाता पर्ने ३९ वर्षीय आषिश पाख्रिन रहेका छन् ।

मंगलपुरमा कुटपिटबाट मानिसको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय चपुर र प्रहरी चौकी पौराहीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

गन्ने नै हो भने ओलीले एमालेबाट खोसेको सम्पत्ती अरब बढी नै होला : माधव नेपाल



काठमाडौं । नेकपा एमालेको सम्पत्ती केपी शर्मा ओलीले खोसेर लगेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बताएका छन् ।

इटहरीमा पार्टी कार्यालय निरीक्षणका लागि पुगेका उनले एमालेको भौतिक र नगद सम्पत्ती ओली समूहले खोसेर लगेको बताएका हुन् । ‘जोड्दै जाने हो भने कति अरब पुग्ने हो भौतिक सम्पती, नगदहरु पनि छन्,’ उनले भने, ‘यी सबै खोसेर लगेका छन् उनीहरुले, कब्जा गरेका छन् तर पनि केही बात छैन फेरि आर्जन गरौंला ।’ उनले हक लाग्ने भए हक खोज्ने बताए । हक खोज्नका लागि कानूनी बाटो अपनाउने उनले बताए ।

‘हक लाग्छ भने त्यसका निम्ति कानूनी उपायहरु खोजौंला,’ उनले भने,‘ पार्टीलाई व्यवस्थीत बनाउन कार्यालय अपरिहार्य छ ।’

प्रतिक्रिया दिनुहोस !

केपी ओलीको घमण्डले सबैथोक बर्बाद भयो : मन्त्री खतिवडा



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमा रहेको घमण्डले मुलुक सन्त्रासमा गएको बताउनुभएको छ ।

नुवाकोटस्थित त्रिशुली अस्पतालको नवनिर्मित भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रमपछि सदरमुकाम बिदुरमा समाजवादी प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले उक्त कुरा उल्लेख गर्नुुभएको हो ।

आफू मात्रै सर्वेसर्वा भन्ने ओलीको घमण्डले मुलक पछाडि परेको उहाँको भनाइ छ । दुई तिहाईको बहुमतीय सरकारलाई धान्न नसकेर अहिले प्रतिपक्षमा बस्नु परेको बताउदै ओलीकै घमण्डका कारण आफूहरु नयाँ पार्टी गठन गर्न बाध्य भएको मन्त्री खतिवडाले बताउनुभयो ।

उहाँले पार्टी र सत्ता सञ्चालनमा विचार र सिद्घान्तलाई पञ्छाउँदै व्यक्तिगत स्वार्थका योजनाहरुलाई समावेश गरेको उपजका कारण एमाले अहिले प्रतिपक्षमा पुगेको दाबी गर्नुभयो ।

अर्को प्रसंगमा मन्त्री खतिवडाले अब कोरोना संक्रमणकै कारण मुलुकमा लकडाउन नहुने बताउनुभयो । विगतमा संक्रमण नियन्त्रण तथा रोकथामका लागि भएका निषेधाज्ञाले संक्रमणलेभन्दा धेरै भोकमरीको समस्या सिर्जना भएको उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘अहिलेकै अवस्थामा लकडाउन हुँदैन, संक्रमण नियन्त्रण तथा रोकथामका लागी थप योजनाहरु ल्याइन्छ ।’

त्यसअवसरमा उहाँले नेपाली नागरिकलाई आवश्यक पर्ने सबै खोप नेपालले स्टोर गरिसकेको उल्लेख गर्दै उहाँले पुस महिनाभित्रमा सबै नागरिकले खोप लगाइसक्ने बताउनुभयो । उहाँले खोप सुनिश्चितताको लागि अभियाननै सञ्चालन गर्ने तयारी रहेको जानकारी दिनुभएको छ ।

एकीकृत समाजवादीको पत्रकार सम्मेलनमा समाजवादी पार्टीका बागमती प्रदेश सदस्य यमकुमार खाती, पार्टीका जिल्ला अध्यक्ष गोविन्द नेपाली, उपाध्यक्ष शान्ता थापा, उपसचिव उद्वव पनेरु, वुद्धिजिवी विभाग प्रमुख रामहरी गजुरेल, युवासंघ तथा विद्यार्थी नेता र कार्यकर्ताहरुको बाक्लो उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस !

%d bloggers like this: