
काठमाडौ । नयाँ स्टक एक्स्चेन्जको लाइसेन्स नरोक्न भन्दै सेयरबजारका लगानीकर्ताहरुले सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन्। पूर्वप्रधामन्त्री समेत रहेका देउवासमक्ष लगानीकर्ताले ६ बुँदे मागसमेत पेश गरेका छन्।
विहीबार लगानीकर्ताका विभिन्न संस्थाका प्रतिनिधीहरुले पूर्वप्रधानमन्त्री देउवालाई पुँजीबजारको विद्यमान अवस्था अवगत गराउँदै माग सम्बोधनका लागि ज्ञापनपत्र बुझाएका हुन्।
लगानीकर्ताहरुले खुल्ला रूपमा नयाँ ब्रोकर लाइसेन्स, नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाइसेन्स वितरण प्रक्रिया ढिलासुस्ति बिना कार्यान्वयन गर्न माग गरेका छन्।
यस्ता छन् लगानीकर्ताका माग
१-लगानीकर्ताहरुको प्रमुख माग रहेको खुल्ला रुपमा नयाँ ब्रोकर लाइसेन्स, नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेञ्जको लाइसेन्स वितरण प्रकिया बिना ढिलासुस्ति कार्यान्वयन गर्ने।
२- बाह्र करोडसम्मको सेयर कर्जाको सीमाले सेयरबजारलाई निरुत्साहित गरेकोले सो व्यवस्था फिर्ता लिनका लागि अनुरोध।
३- सेयर कर्जामा लगाइएको १५० प्रतिशतको जोखिम भारित औसतलाई १०० प्रतिशत नै कायम गरिदिनुहुन अनुरोध।
४- लगानीकर्तालाई अल्पकालिन र दीर्घकालिन लगानीकर्ताको रुपमा विभाजन गरी सोहि अनुरुप अल्पकालिन लगानीकर्तालाई ५ प्रतिशत र दीर्घकालिन लगानीकर्तालाई ३ प्रतिशत पुँजीगत लाभकर लगाउने व्यवस्था गर्ने।
५- विद्यमान ब्याजदर उच्च हुन गई लगानी निरुत्साहित हुन गएकाले उक्त व्याजदरमा पुनरावलोकन गरी एकल अंकमा कायम गरिदिनुहुन अनुरोध।
६- तरलता समस्याले देशको अर्थतन्त्रमा नकारात्मक अवस्था सिर्जना हुन गएकाले उक्त समस्याको तत्कील समाधान गर्ने व्यवस्था गरिदिनु हुन अनुरोध।