२४ जेष्ठ २०८०, बुधबार
 |   Wed Jun 7 2023
Logo

शरणार्थी प्रकरण : होटलमा बसेर उठाउँथे बादलका छोरा प्रतिकले पैसा



काठमाडौ । नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा जोडिएका पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिक थापा फरार छन्। उनलाई फरारकै सूचीमा राखेर अभियोग दर्ता गरिएको छ। अरुलाई जस्तै प्रतिकलाई पनि ठगी, संगठित अपराध, सरकारी लिखत किर्ते, राज्यविरुद्धको कसुर र एकीकृत कसुरमा सजाय माग गरिएको छ। यी सबै अभियोग जोड्दा २४ वर्ष कैद मागदाबी लिइएको छ।

तर प्रहरीले यसका आरोपिलाई पक्राउ गर्न थालेपछि प्रतिकसहित १७ जना भने फरार छन्। ती मध्ये १४ जनालाई प्रतिवादी बनाइएको छ। अन्य तीन जनाको हकमा ठेगाना खुलेको अवस्थामा पक्राउ गरेर थप अनुसन्धान गर्ने भनिएको छ।

तर प्रतिक अब जुनसुकै बेला अदालतमा उपस्थित हुन सक्नेछन्। उनलाई प्रतिवादी बनाइएको छ। बादल गृहमन्त्री हुँदा प्रतिक प्रमुख स्वकीय सचिव थिए।

तर उनी काठमाडौंको नक्सालस्थित निलगिरी होटलमा बसेर नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने कार्यमा सक्रिय रहेको खुलेको अभियोग पत्रमा उल्लेख छ। उनले बिचौलियासँगको भेटघाटका लागि सम्पर्कस्थान नै उक्त होटललाई बनाएका थिए।

गौशालाको रोजस्टार होटलमा यही मुद्दामा पक्राउ परेका सागर राई लगायत बस्थे। केशव दुलाल, सानु भण्डारी पनि त्यहाँ पुग्थे। होटल सञ्चालकले दिएको बयान अनुसार त्यहाँ बिचौलियाहरु भेला भएर रक्सी खान्थे।

टोपबहादुर रायमाझी र प्रतिकलाई भेट्न दुलाल र भण्डारी त्यहीँ जाने गरेको खुलेको छ।

प्रतिक थापालाई १ करोड नगदै निलगिरी होटलमा दिएको पीडितले बताएका छन्। केशव दुलाल र सानु भण्डारीले भुटानी शरणार्थीको फारम भर्नुपर्छ भनि परिचय पत्रमा नाम भरी सहिछाप गर्न लगाई प्रतिव्यक्ति १० लाख रुपैयाँका दरले ३४ जनाबाट तीन करोड ४० लाख रुपैयाँ लिएको खुलेको छ।

त्यो रकम उनीहरुले बाँडफाँड गरेका थिए। सागर राईलाई त्यो रकमसहित जोरपाटीको साँखु रेष्टुरेन्टमा बोलाएर प्रतिक थापा, सागर राई, प्रेमराज पन्थी र केशव दुलाललाई दिँदा हुन्छ भनेर प्रतिकले भनेको र १ करोड ३४ लाख सानु भण्डारीको आईसीएफसी फाइनान्स, हिमालय बैंक र अर्को बैंकमा जम्मा गरिदिएका थिए। भौचर सागरसँग फेला परेको छ।

प्रतिकले भने अनुसार एक करोड ५० लाख केशव दुलाललाई दिएको रामशरण केसीले बयानमा खोलेको अभियोग पत्रमा उल्लेख छ। प्रतिक थापाले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिने समूहमा आवद्ध भई भुटानी शरणार्थीसँग सम्बन्धित नक्कली प्रतिवेदन, गृह मन्त्रालयका पत्रहरुका आधारमा विश्वास दिलाई करोडौं रकम उठाउन लगाई ठगी गरेको आरोप छ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय