१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

साङ्केतिक भाषाको प्रवद्र्धनद्वारा शैक्षिक उन्नयन र वृत्ति विकासमा जोड : राष्ट्रपति



काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले साङ्केतिक भाषाको प्रवद्र्धनद्वारा शैक्षिक उन्नयन र वृत्ति विकासमा थप पहलकदमी लिन सम्बन्धित सबैमा आह्वान गर्नुभएको छ ।

अन्तर्राष्ट्रिय साङ्केतिक भाषा दिवस (सेप्टेम्बर २३)का अवसरमा बुधबार सुनाइसम्बन्धी समस्या भएका सबै दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक शुभकामना दिनुहुँदै राष्ट्रपतिले यस्तो विचार राख्नुभएको हो ।

यसै उपलक्ष्यमा बहिरा समुदाय र साङ्केतिक भाषाको महत्व विषयक भर्चुअल कार्यक्रममा बुधबार साङ्केतिक भाषामा प्रकाशित सामग्रीहरूको विमोचन गरियो ।

भाषा आयोगका अध्यक्ष लवदेव अवस्थीले आगामी जनगणनामा सही रूपमा बहिरा तथा साङ्केतिक भाषा योगकर्ताको तथ्याङ्क ल्याउन जोड दिनुभयो । उहाँले साङ्केतिक भाषाको पहिचान, विकास तथा दोभाषे तालिम प्रदान गर्न भाषा आयोगले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

राष्ट्रिय बहिरा महासङ्घका अध्यक्ष केपी अधिकारीले साङ्केतिक भाषाको विकास तथा बहिरा समुदायको समावेशीकरण र पहुँचका आगामी कदमबारे प्रस्तुतीकरण गर्नुभएको थियो ।

अस्ट्रेलियाली राजदूत पेटे बडले सम्बन्धित महासङ्घसँग मिलेर साङ्केतिक भाषाका शब्दकोश, भिडियो तथा मोबाइल एप्लिकेसन बनाउन सहयोग गर्दै आएको र अब पनि सो सहयोग जारी रहने बताउनुभयो ।

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमका प्रतिनिधि बिन्दा मगरले संयुक्त राष्ट्रसङ्घका हरेक क्रियाकलाप तथा सामग्रीमा साङ्केतिक भाषा प्रयोग गरी बहिरा समुदायको पूर्ण समावेशीकरणका लागि प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा बहिरा विद्यालयहरूको प्रतिनिधित्व गर्दै काभे्रपलाञ्चोकस्थित बहिरा विद्यालयका प्रधानाध्यापक कृष्ण प्यारी नकर्मीले साङ्केतिक भाषाको विकासमा जोड दिनुभयो ।

संयुक्त राष्ट्रसङ्घको दीर्घकालीन लक्ष्यको सूचीमा साङ्केतिक भाषाको प्रवद्र्धन र प्रयोगलाई पनि निकै महत्वका साथ राखिएको छ । सन् २०१८ मा पहिलो दिवस मनाइएको हो । कसैलाई पनि पछाडि नछाड्ने उद्देश्यले सबैलाई एकैसाथ विकासको मूलधारमा उभ्याउन यो दिवस मनाउन थालिएको हो ।- गोरखापत्र अनलाईनबाट


प्रतिक्रिया दिनुहोस !