७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

अब व्यवसाय बढाउन इन्टरनेटको प्रयोग अनिवार्य जस्तै



काठमाडौँ । कोभिड–१९ पछि नेपालमा सञ्चालनमा रहेका व्यवसायले इन्टरनेट, सामाजिक सञ्जाल तथा अन्य डिजिटल माध्यमको प्रयोग बढाएको एक अध्ययनले देखाएको छ । परम्परागत व्यापारमा गिरावट आउन थालेपछि नयाँ व्यावसायिक अवसर प्राप्त गर्न डिजिटल प्रणालीको प्रयोग बढेको अध्ययनको निष्कर्ष छ ।

विश्व बैङ्क समूहअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) र जापान सरकारको सहकार्यमा गत जेठ १२ देखि २८ गतेसम्म गरिएको उक्त अध्ययनमा पाँचमध्ये एकले व्यावसायिक उद्देश्यका लागि इन्टरनेट, सामाजिक सञ्जाल, एप अथवा डिजिटल माध्यमको प्रयोग गरेको पाइएको हो ।

अध्ययनको अर्को पाटोले भने नेपालका साना तथा मझौला उद्योग कोभिडपछि निकै सङ्कटमा परेको देखाएको छ । अध्ययनमा समेटिएका यस्ता उद्योगमध्ये आधाभन्दा बढीले कोभिड प्रभाव सुरु भएको एक महिनाभित्र नै आफ्नो सञ्चालन बन्द गरेको पाइयो । सबै प्रदेशलाई समेटेर सर्वेक्षणमा छनोट गरिएका त्यस्ता उद्योगका ५४० प्रतिनिधिले ८० प्रतिशतले व्यवसाय घटेको र त्यसका लागि आफ्ना कर्मचारीलाई बेतलबी बिदा अथवा काम गर्ने समय र तलब घटाएको उल्लेख गरेको अध्ययनले जनाएको छ । अध्ययनबाट प्राप्त निष्कर्षले कोभिड–१९ पछि नेपालका साना तथा मझौला उद्योगले बेहोरेको बाध्यता देखाउँछ, आईएफसीको परामर्श सेवाका लागि दक्षिण एसियाली प्रबन्धक रोल्फ बेन्र्टले बताउनुभयो । यस्ता उद्योगले नेपालको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेल्ने भए पनि व्यवसायमा आएको स्पष्ट गिरावटले सञ्चालक न्यून आम्दानीसँग जुध्न र भविष्यबारे अन्योल रहेको उहाँको भनाइ छ ।

सर्वेक्षणका अनुसार करिब ४५ प्रतिशत व्यवसायले आफ्ना कर्मचारीलाई बिदा दिएका छन् भने २७ प्रतिशतले काम गर्ने समय घटाएका छन् । त्यस्तै सबै किसिमका व्यवसायमा गरेर १२ प्रतिशत महिला कामदारको तलब घटाइएको छ । यस्ता उद्योगले नेपालको कुल गार्हस्थ उत्पादनमा २२ प्रतिशत योगदान दिएका छन् । त्यस्तै १७ लाख ५० हजारले रोजगारी पनि पाएका छन् ।- गोरखापत्र अनलाइनबाट


प्रतिक्रिया दिनुहोस !