१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

मन्दिर पुग्ने विशिष्ट पाहुनाले गेरुवस्त्र लगाउनुपर्ने प्रोटोकल नै रहेछ : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री प्रचण्डले आफु जनताको धार्मिक आस्थालाई सम्मान गर्नका लागि गेरुबस्त्र लगाउन तयार भएको बताएका छन् । भारत भ्रमणका क्रममा प्रधानन्त्री प्रचण्डले गेरुबस्त्र लगाएर पूजापाठ गरेको भन्दै विभिन्न कोणबाट उनीमाथि प्रश्न उठिरहेको बेला आफुले जनताको आस्थाको सम्मान गर्न गेरुबस्त्र लगाएको बताएका छन् । उनले भने, म जनताको धार्मिक आस्थालाई सम्मान गर्छु । हिन्दु, बुद्धिस्ट, मुस्लिम, क्रिश्चियन सबै धर्म संस्कृतिमा आस्था राख्ने जनताको भावनालाई म सम्मान गर्छु । झन् हिन्दुको नगर्ने भन्ने त कुरै भएन । यहाँ आएको बेला त्यहाँ जानु स्वाभाविक नै थियो । त्यो मन्दिर पुग्ने विशिष्ट पाहुनाले गेरुवस्त्र लगाउनुपर्ने (प्रोटोकल) नै रहेछ । मैले लगाउँदिनँ भनेर जनताको भावनामा ठेस पुर्‍याउन हुँदैनथ्यो । मैले त यो सबलाई सहज रूपमा लिएँ, त्यसैले सहज रूपमा गएँ प्रधानमन्त्री प्रचण्डले भने ।

त्यस्तै एक सय आठ किलोको रुद्राक्ष माला आफुले नभई परराष्ट्रमन्त्री एनपी साउदले ल्याएको पनि बताएका छन् । उनी रुद्राक्ष मालको विषयमा भन्छन्, आफ्नो क्याबिनेटको मन्त्रीले ल्याइसकेपछि मैले छुन्न भन्नुभएन । त्यसैले त्यसमा सहभागी हुनु पनि स्वाभाविक नै हो । तर, यसलाई यति ठूलो विवाद बनाएर तर्क गर्न खोजिएको छ, त्यसको आवश्यकता छैन । म त अन्यत्र जाँदा पनि मन्दिर गएर दर्शन गर्ने गरेकै छु । जनताको भावनालाई सम्मान गर्ने गरेको छु । खासमा खुला र प्रतिस्पर्धाको राजनीतिमा आइसकेपछि यी सबै सामान्य र स्वाभाविक क्रिया मान्नुपर्छ । यसलाई अन्यत्र जोडेर हेर्नु आवश्यक छैन । तर मैले देखेको छु, कतिपय मान्छेहरूलाई त अब यसले यस्तै गेरुवस्त्र नै लाइदिराखे हुन्थ्यो, यसैमा अडिराखे हुन्थ्यो भन्ने रहेछ । म उहाँहरूलाई पनि धन्यवाद भन्न चाहन्छु । तर, मेरो तर्फबाट यो आम जनताको भावनाको सम्मान मात्रै हो ।


प्रतिक्रिया दिनुहोस !