१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

भारतले नेपाललाई भूकम्प पछिको पुनर्निर्माणका लागि दियो एक अर्ब ५४ करोड रुपैयाँ



काठमाडौँ – भूकम्पपछिको पुनर्निर्माणको क्रममा आवास तथा विद्यालय पुनर्निर्माणका लागि प्रतिवद्धता गरे अनुरुप एक अर्ब ५४ करोड रुपैयाँ बराबरको चेक भारत सरकारले नेपाललाई हस्तान्तरण गरेको छ ।

काठमाडौँ स्थित भारतीय राजदूतावासका नियोग उप–प्रमुख नामग्य खम्पाले अर्थ मन्त्रालयका सचिव शिशिर कुमार ढुङ्गानालाई गएको मंगलबार चेक हस्तान्तरण गरेकी हुन् ।

भारतले आवास परियोजना अन्तर्गत १५० मिलियन अमेरिकी डलर अनुदान सहायता नेपाललाई उपलब्ध गराउने प्रतिबद्धता गरेको थियो ।

चेक हस्तान्तरणसँगै भारतले आवास क्षेत्रको पुनर्निर्माणका लागि नेपाललाई अनुदान सहायताको ७२ मिलियन अमेरिकी डलर उपलब्ध गराइसकेको छ । भारतले गोरखा र नुवाकोट जिल्लाका ५० हजार निजी आवास पुनर्निर्माणका लागि गरेको प्रतिबद्धता मध्ये ९२ प्रतिशत घरधुरीको निर्माण सम्पन्न भइसकेको छ ।

यस्तै भारत सरकारले ५० मिलियन अमेरिकी डलर अनुदान सहायता अन्तर्गत ७० वटा विद्यालय र एक पुस्तकालयको पुनर्निर्माणका लागि पनि सहयोग प्रतिबद्धता गरेको छ ।

यस मध्ये विद्यालय पुनर्निर्माण तर्फको ४.२ मिलियन अमेरिकी डलर बराबरको पहिलो किस्ता भारतले नेपाललाई दिइसकेको छ ।

भूकम्प पछिको पुनर्निर्माण तर्फको प्रयासमा नेपाल सरकार तथा नेपाली जनतालाई निरन्तर सहयोग गर्न प्रतिबद्ध रहेको भारतले बताउँदै आएको छ ।


प्रतिक्रिया दिनुहोस !