कोभिड-१९ महामारीले उब्जाएको मुख्य चुनौती गरिबी- प्रधानमन्त्री « Name of Truth News : News Portal in Nepal
   ३० आश्विन २०७८, शनिबार
 |   Sat Oct 16 2021
Logo

कोभिड-१९ महामारीले उब्जाएको मुख्य चुनौती गरिबी- प्रधानमन्त्री



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को महामारीले उब्जाएको सङ्कटको घडीमा मानिसलाई गरिब हुनबाट रोक्नु अहिलेको मुख्य चुनौती भएको बताउनुभएको छ ।

संयुक्त राष्ट्रसङ्घको ७५औँ साधारण सभाको अवसरमा बिहीबार आयोजना गरिएको ‘गरिबी चौबाटोमा: भविष्यलाई सुन्दर बनाउन नेतृत्व र बहुआयामिक गरिबी सूचकाङ्कको प्रयोग’ विषयक उच्चस्तरीय बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले वर्तमानमा स्वास्थ्य र आर्थिक सङ्कटका बीच नागरिकमा लगानी गर्नु र उनीहरूलाई पुनः गरिब बन्नबाट रोक्नु एउटा महìवपूर्ण चुनौती हुने बताउनुभएको हो ।

महामारीले पूर्ण गरिबी अन्त्य गर्न र चाँडोभन्दा चाँडो गरिबीका अन्य सबै रूपलाई कम गर्न भइरहेको प्रयासमा गम्भीर असर पारेको उहाँले औँल्याउनुभयो । “हामी महामारीका कारणले उत्पन्न भएका स्वास्थ्य र आर्थिक दुवै असरबाट हाम्रा नागरिकको जीवन बचाउन सक्दो प्रयास गरिरहेका छौँ, म दृढ विश्वास गर्दछु कि इमानदार राष्ट्रिय प्रयास र बृहत्तर विश्वव्यापी विकास सहयोग र समर्पित समर्थन उपायहरूका साथ हामी यस महामारीलाई पार गर्न, आर्थिक सुधार प्राप्त गर्न र छिटो विकासको बाटोमा जान सक्दछौँ,” प्रधानमन्त्री ओलीले नेपालको प्रयासबारेमा भन्नुभयो ।

दिगो विकासको एजेन्डा २०३० प्राप्त गर्न अब एक दशक मात्र बाँकी रहेका बेला निम्तिएको यस्तो चुनौतीमा गरिबी न्यूनीकरण गर्न गरिएको प्रगति र समग्र विकास प्रयासहरूको मूल्याङ््कन गर्ने प्राथमिक सूचक हुनुपर्छ, उहाँले भन्नुभयो ।

गरिबीलाई बहुआयामिक समस्याका रूपमा हेर्ने नेपालको दृष्टिकोणलाई जोड दिँदै नेपालको संविधानले बहुपक्षीय गरिबीका धेरै सूचकलाई नागरिकको मौलिक हकका रूपमा समावेश गरेको भन्नुहुँदै उहाँले खान पाउने अधिकार, आधारभूत शिक्षा र प्राथमिक स्वास्थ्य सेवाको अधिकार, सफा पानी र सरसफाइको अधिकार, सभ्य आवासको अधिकार र सामाजिक संरक्षणको अधिकार समावेश रहेको बताउनुभयो । संविधानले समतामूलक समाज स्थापना गर्नका लागि प्रयास गर्न मार्गदर्शन गरेकाले नेपालको आर्थिक नीतिहरूले समानता र सामाजिक न्यायका साथ आर्थिक वृद्धिलाई लक्षित गरिरहेको उहाँले उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीले नेपालको लक्ष्यका बारेमा प्रस्ट्याउँदै थप्नुभयो, “सबै प्रकारका विभेद, वञ्चितता अन्त्य गर्नु र जनताको जीवनस्तर सुधार गर्नु हाम्रो लक्ष्य हो । कोही पनि भोको हुँदैन र कोही भोकले मर्दैन, त्यसप्रति हामी प्रतिबद्ध छौँ । सबै प्रकारका गरिबी अन्त्य गर्न सकेसम्म चाँडो मानव सुरक्षाको रक्षा गर्नु नै हाम्रो लक्ष्य हो ।” पछिल्लो समय कोभिड–१९ बीमासमेत कार्यान्वयनमा रहेको उहाँले जनाउनुभयो ।

उहाँका अनुसार सरकारी लक्षित कार्यक्रमहरू, लघु वित्त सेवाहरू, सहकारी र सामुदायिक सङ्गठनहरूको हस्तक्षेपमार्फत आय आर्जनका गतिविधिहरू केही वर्षका लागि निरपेक्ष गरिबीलाई प्रतिवर्ष एक प्रतिशतभन्दा बढी अङ्क कम गर्न नेपाल सफल भएको छ । यी सबैले समग्र गरिबी घटाउने र मानव विकास सूचकाङ्कमा सुधारका लागि योगदान पु¥याएका छन् ।

निरपेक्ष आम्दानी बाहेकको अवधारणाबाट गरिबीलाई हेर्ने फरक दृष्टिकोण नेपालले संस्थागत गरेकाले गरिबीलाई बहुआयामिक घटनाका रूपमा हेर्दै राष्ट्रिय विकास रणनीतिमा गरिबीको मौद्रिक र गैरमौद्रिक दुवै पक्षमा बहस गरिरहेको जानकारी उहाँले बैठकमा गराउनुभयो ।

नेपालले गरिबीको मौद्रिक र गैरमौद्रिक उपायहरूको अनुगमनका लागि जीवित मानक सर्वेक्षण, बहुसूचक सर्वेक्षण र जनसाङ्ख्यकीय स्वास्थ्य सर्वेक्षण गरिसकेको छ । त्यस्तै सन् २०२१ मा हुने जनगणनाको १२औँ चरणले यस प्रक्रियामा उल्लेखनीय मूल्य थप्ने विश्वास प्रधानमन्त्रीले व्यक्त गर्नुभयो । उच्च सङ्कटको यो घडीमा देशहरूका लागि आर्थिक प्राथमिकता पुनर्संरचना गर्ने उत्तम समय हो, जसले आधारभूत सामाजिक सुरक्षा, स्वास्थ्य सेवा र शिक्षाको निर्माणका लागि स्रोतहरूको पुनः विनियोजन गर्छन्, उहाँले भन्नुभयो । सो अवसरमा अफगानिस्तानका राष्ट्रपति, चिली, कोस्टारिका र इक्वेडरका उपराष्ट्रपति, होन्डुरस र पाकिस्तानका प्रधानमन्त्री पनि सहभागी हुनुहुन्थ्यो ।


प्रतिक्रिया दिनुहोस !


मलिका महत फिल्ममा फ्लप, म्युजिक भिडियोमा हिट



काठमाडौं । पछिल्लो समय भिडियोमा खोजिनेमध्येकी एक मोडल हुन्, मलिका महत । फिल्म यात्रा : म्युजिकल भ्ल्ग मार्फत रजतपटमा डेब्यु गरेकी मलिकाले दोस्रो फिल्म ‘पानीफोटो’मा समेत अभिनय गरिसकेकी छिन् । फिल्ममै आफूलाई स्थापित गर्ने तयारीमा रहेकी मलिका केही समययता भिडियोमा व्यस्त छिन् । फूलबुट्टे सारी’ मा अभिनेता पल शाहसँग देखिएपछि दर्शकमाझ उनको लोकप्रियता बढ्दो छ । दर्शकले पल र मलिकालाई ’पिएम’ जोडीसमेत भन्न थालिसकेका छन् । भिडियोमा अभिनय गर्न थालेको केही समयमै उनको आँखामा आउने सपनी, टाढा भए पनि, तिम्रो मनमा ए कान्छा लगायतका गीत दर्शकले सर्वाधिक रुचाएका छन् ।

भिडियोमा पछिल्लो समय खोजिने मोडलको लिस्टमा मलिकाको नाम अगाडि आए पनि फिल्ममा भने उनले त्यो लोकप्रियता पाउन सकेकी छैनन् । उनले दुई फिल्ममा अभिनय गरे पनि ’पानीफोटो’ भने प्रदर्शन हुन बाँकी छ । तर, उनको भिडियोझैँ लोकप्रियता फिल्ममा भने कम छ । केही दिन अगाडि मात्र फिल्म ’सत्यम’मा अनुबन्धित् भएकी मलिका आफूलाई फिल्ममै सफल देख्न चाहन्छिन् । केहि समयअगाडि मात्र उनी एक प्रतिष्ठित ब्यानरको अडिसनमा रिजेक्ट भएकी थिइन् । उनले पाएको रोललाई अडिसनमा न्याय गर्न नसकेपछि उनलाई लिन नसकिएको उक्त फिल्मको टिमका एक सदस्यले बताए ।

प्रतिक्रिया दिनुहोस !

विश्वभरी चर्चामा किमको नयाँ फेसन, माथि सुट पाइन्ट र तल चप्पल



एजेन्सी । अस्वभाविक अभिव्यक्तिका कारण बारम्बार चर्चामा आउने उत्तर कोरियाली नेता किम जोङ उन फेरि सञ्चार माध्यममा चर्चामा आएका छन् । यस पटक उनी अभिव्यक्तिभन्दा पनि आफूले लगाएको फेसनका कारण चर्चामा आएका हुन् । ३७ वर्षीय तानशाह किम आइतबार राजधानी प्योङयाङमा आयोजित एक कार्यक्रममा अस्वभाविक पहिरनमा देखिएका थिए । किमले चप्पल र मोजामाथि सुट लगाएका थिए । कालो सुट र टाइममा सजिएका किमले चप्पल लगाएपछि धेरैको ध्यान उनीप्रति तानिएको थियो ।

उनको पछिल्लो पहिरनले किमको स्वास्थ्यबारे फेरि अड्कलबाजी सुरू भएको छ । उनको खुट्टाको शल्यक्रिया वा गहिरो घाउका कारण जुत्ता लगाउन नमिलेर चप्पल लगाएको हुन सक्ने अनुमान गरिएको छ । अस्वभाविक रूपमा मोटा किम पछिल्लो समयमा केही छरितो देखिएका छन् । उनले १० केजी भन्दाबढी तौल घटाएको कोरियाली सञ्चार माध्यमहरूले जनाएका छन् ।

उनको स्वास्थ्यबारे विज्ञहरूले बारम्बार चासो दिँदै आएका छन् । अत्यधिक धुमपान गर्ने किम मुटुसँग सम्बन्धित समस्याबाट पीडित छन् । उनका हजुरबुबा र बाबु दुबैको ह्यदघातका कारण मृत्यु भएको थियो । सत्तारुढ कोरियाली पार्टीको स्थापना दिवसको अवसरमा सहभागी भएका किमले आफ्नो पार्टी आर्थिक लक्ष्य प्राप्तीका लागि दृढ भएको बताएका थिए । कोरियाले सामान गरेको समस्यासँग जुध्न नेतृत्वपंक्ति अनुशासित हुनुपर्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस !

एकीकृत समाजवादी बैतडीको इन्चार्जमा भट्ट, दार्चुला इन्चार्जमा बैतडीकै बिष्ट



बैतडी । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को बैतडी जिल्ला इन्चार्जमा प्रमानन्द भट्ट चयन भएका छन् । भट्ट केन्द्रीय पोलिटब्यूरो सदस्यसहित जिल्ला इन्चार्ज चयन भएका हुन् । नेकपा एमाले विभाजनपछि बनेको नेकपा (एस) मा गएका भट्टलाई पार्टी स्थायी कमिटीको बैठकले जिल्ला इन्चार्जमा चयन गरेको हो । भट्ट बैतडीमा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता हुन् । यसैगरी, पूर्व प्रदेश मन्त्री तथा नेकपा (एस) का केन्द्रीय सदस्य माया भट्ट प्रदेश सहसचिवमा चयन भएकी छन् । यसअघि एमाले हुँदा र माओवादीसँगको एकतापछि बनेको नेकपा हुँदाका बेला प्रदेश कमिटी सदस्य रहेकी भट्ट अहिले नेकपा (एस) को प्रदेश सहसचिव पदमा चयन भएकी हुन् ।

यसैगरी, नेकपा एमाले बैतडीका पूर्व अध्यक्ष तथा प्रदेश कमिटी सदस्य रहेका नरेन्द्र बिष्ट नेकपा (एस) को केन्द्रीय सदस्यसहित दार्चुलाको जिल्ला इन्चार्जमा चयन भएकाछन् । गत बिहीबारदेखि जारी स्थायी कमिटीको बैठकले नेताहरुको जिम्मेवारी बाडँफाड गरेको प्रदेश कमिटी सदस्य नरेन्द्र बिष्टले बताए । पार्टीका नियमित कामकाजहरु अब अगाडि बढाउने नेता बिष्टले बताए । आउँदो ३ कात्तिकमा बैतडी जिल्ला कमिटीको बैठक बसेर आगामी कार्यक्रमहरू तय गरिने उनले बताए । आगामी दिनमा पार्टीको पालिका तथा वडास्तरका कार्यक्रमहरू सञ्चालन गरिने उनले बताए । पालिका र वार्डस्तरमा संगठन विस्तार तथा सुदृढीकरणका कार्यक्रम आयोजना गरिने नेकपा (एस) बैतडीले जनाएको छ । न्युजकारखाना ।

प्रतिक्रिया दिनुहोस !

%d bloggers like this: