१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

सप्तरीका प्रमुख जिल्ला अधिकारीका भान्सेको कोरोना संक्रमणबाट मृत्यु



राजविराज । सप्तरीका प्रमुख जिल्ला अधिकारीको (सिडिओ) भान्सेको कोरोना संक्रमणबाट बिहीबार मृत्यु भएको छ । यससँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ । जिल्ला प्रशासन कार्यालयका कार्यालय सहयोगी रहेका पुरुष लामो समदेखि सिडिओको खाना पकाउने कार्य गर्दै आएका थिए । राजविराज नगरपालिका ८ निवासी ६२ वर्षीय उनको होम आइसोलेसनमै मृत्यु भएको हो ।

गत भदौ ३० गते कोरोना संक्रमण पुष्टि भएका उनलाई भोलिपल्ट साइकृष्णा मेडिकल कलेज भवनमा सञ्चालित संस्थागत आइसोलेसन केन्द्रमा राखिएको थियो । एक दिन त्यहाँ बसेपछि सुरक्षा मापदण्ड अपनाई घरमै बस्ने इच्छा जाहेर गरेपछि पुनः उनलाई फर्काएर होम आइसोलेशनमा राखिएको बताइएको छ । विहान घरको छतमाथि हिँड्डुल गरी चिया नास्ता खाएर बसिरहेका बेला अचानक ओछ्यानमै ढलेको पारिवारजनले जनाएको छ ।

चिकित्सकले जाँच गरेर मृत घोषित गरेपछि आवश्यक सुरक्षा मापदण्ड अपनाएर शवको अन्त्येष्टी गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत तथा सूचना अधिकारी आनन्द ठाकुरले बताउनुभयो । संक्रमणको शुरुमा ज्वरो देखिए पनि पछिल्लो चार दिन यता मृतकको स्वास्थ्य अवस्था सामान्य रहेको प्रशासकीय अधिकृत ठाकुरले भन्नुभयो, स्वास्थ्य अवस्था सामान्य रहेको अवस्थामा उनको मृत्यु भएको देखियो ।


प्रतिक्रिया दिनुहोस !