१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

६० किलो सुन प्रकरणमा जोडिए एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल र उपाध्यक्ष बादलका छोराहरु



काठमाडौं । हङकङ हुँदै नेपालमा सुन तस्करी गरेको आरोपमा पक्राउ परेका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङले तीन व्यापारिक साझेदारको नाम खुलाएका छन्। ६० किलो ७ सय १६ ग्राम सुन तस्करी सम्बन्धमा गरिएको सोधपुछका क्रममा उनले केही वर्ष अघिबाटै नेपालका शीर्ष नेताका निकटस्थ व्यक्तिहरुसँग मिलेर काम गरिरहेको बताएका हुन्। दावासँग केहीको कनेक्सन देखिने प्रमाणहरु राजस्वले मुद्दाको फाइल बुझाउँदा प्रहरीलाई दिएको छ। दावाले नेकपा एमालेका दुई जना पदाधिकारीका छोरासँग मिलेर लामो समयदेखि काम गरिरहेको बयानमा बताएका हुन्। दावाले एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलका छोरा स्वराज पोखरेल र उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतीक थापासँग मिलेर विगतदेखि व्यवसाय गरिरहेको बयान गरेका छन् । आफूलाई अप्ठेरो पर्दा उनीहरुले नै सहयोग गर्ने गरेको दावाको प्रारम्भिक बयान छ।

‘काठमाडौंको र्‍याडिसन होटलको साइडमा रहेको एक रेन्टुरेन्टमा म, मिस ली र स्वराजबीच हाम्रो बिजनेसका बारेमा छलफल हुन्थ्यो,’ दावाको बयान उधृत गर्दै एक अधिकारीले भने, ‘उहाँहरुसँग मिलेरै कोभिडको बेला पनि स्वास्थ्य सामग्री खरिद गर्थ्यौँ। प्रतीक थापा काम गर्न धेरै सहज हुनुहुन्छ। साउन १० गते दावालाई होटल भियनामा छापा मार्दै राजस्वको टोलीले पक्राउ गरेको थियो। पक्राउलगत्तै उनले नेताका परिवारसँग साझेदारी रहेको खुलाएका थिए। तर, अरु व्यवसायमा साझेदारी रहेको बयानबाट खुले पनि सुन तस्करीमा स्वराज र प्रतीकको संलग्नता खुलेको छैन।

राजस्वको अनुसन्धानमा उनीहरु समेत संलग्न रहेको आशंका गरिए पनि सीआईबीले उनीहरुमाथि अनुसन्धान गरेको छैन। यसैगरी, दावाले लिएको तेस्रो व्यक्ति रामेछापका किशोर बस्नेतको नाम पनि लिएका छन् । उनी भने तस्करीमा प्रत्यक्ष संलग्न नै रहेको खुलेको अनुसन्धान अधिकारीहरुको दाबी छ। बस्नेतले तस्करीको सुन गाल्ने कारखाना व्यवस्थापन गर्नेदेखि सुन गाल्ने उपकरण खरिदमा समेत सहयोग गरेको अनुसन्धान अधिकारीले बताए। ‘दावाको सम्पर्क सूत्र नै किशोर बस्नेत देखिन्छ।

विद्युतीय चुरोट (भेप) मा राखेर ९ किलो सुन तस्करी गर्ने गिरोहसँग पनि किशोरको कनेक्सन देखिएको छ। यो प्रकरणमा किशोरनिकट व्यक्तिहरु पनि पक्राउ परेका छन्,’ अर्का एक अधिकारीले भने। किशोर हाल फरार छन्। उनले मोबाइल समेत बन्द गरेको अनुसन्धान अधिकारीले बताए। उनले दावालाई एमालेका अन्य नेतासम्म भेटघाट गराएको अनुसन्धान अधिकारी बताउँछन्। दावाले प्रयोग गरेका दुई वटै मोबाइल नेपाल प्रहरीको फरेन्सिक ल्याबमा पठाइएको छ।

त्यसबाट दावाको कनेक्सन को–कोसँग थियो प्रष्ट खुल्ने छ। यद्यपि चिनियाँ व्यक्ति जिक्वाङ लिन पक्राउ परेपछि दावाले मोबाइल फर्म्याट गरेको पाइएको छ। साउन २ मा ब्रेक सुमा राखेर हङकङ हुँदै नेपाल भित्रिएको ६० किलो सुन कसको हो भन्ने अझै खुलिसकेको छैन। सुन बरामद भएदेखि राजस्व अनुसन्धान विभागले १७ दिन यसको अनुसन्धान गरेको थियो। राजस्वले १८ जनालाई हिरासतमा राखेर बयान लिएको थियो। तर, संगठित अपराध, त्रिदेशीय कनेक्सन लगायतका कारण थप अनुसन्धान गर्न सीआईबीलाई जिम्मा दिएको छ।


प्रतिक्रिया दिनुहोस !