१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

नयाँ राजकुमार बालेन शाहको ४० सेकेन्ड चेकमा पर्दा सिंहदरबारमा आगो लगाउने धम्की



काठमाडौं । शनिबार राति करिब ९ः३० बजे काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहको फेसबुक स्टाटस एकाएक भाईरल भयो । फेसबुकमा उनले लेखे, ‘आजको लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ।’ बालेनको उक्त स्टाटसपछि कतिपयले नशामा रहेको कारण त्यस्तो स्टाटस लेखेको टिप्पणी गरे भने कतिपयले सरकार र प्रहरीप्रतिको आक्रोश भएको भन्दै समर्थन गरे ।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहकी पत्नी सविना काफ्ले चढेको सरकारी नम्बर प्लेटको कार शनिबार साँझ ८ बजेर ४९ मिनेट जाँदा ललितपुरको बालकुमारी क्षेत्रबाट कोटेश्वरमा आइपुगेको थियो । त्यहाँ ट्राफिक चेकिङ पनि चलिरहेको थियो भने सवारी साधनहरू लाइनमा रहेका कारण उक्त गाडी केही पछाडि थियो । जब उक्त गाडी ट्राफिक चेकिङ भइरहेको स्थानमा आइपुग्यो, त्यसपछि ट्राफिक प्रहरीले सेतो नम्बर प्लेट देखेपछि गाडीलाई रोकेर कागजात र शनिबार चलाउनका लागि स्थानीय प्रशासनबाट लिइएको पास माग गरे ।

तर चालकले शनिबार उक्त सवारीसाधन चलाए पनि पास नबनाएको र उक्त गाडी काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको भएको बताए । तर गाडीमा बालेन शाह नदेखेपछि ट्राफिक प्रहरीले उहाँ को हो भनी प्रश्न गरेपछि चालकले उहाँ बालेनकी पत्नी भएको र अस्पतालबाट फर्किँदै गरेको जवाफ दिएका थिए । त्यसलगत्तै ट्राफिक प्रहरीले चालकलाई सम्झाएर अब शनिबार सरकारी सवारीसाधन नचलाउन र चलाउन परे अनिवार्यरुपमा पास लिएर मात्रै चलाउनका लागि सुझाव दिँदै सवारीसाधनलाई छाडिदियो । उक्त सवारीसाधन शनिबार साँझ ८ बजेर ५१ मिनेट २ सेकेन्ड जाँदा त्यहाँबाट गएको देखिन्छ । अर्थात्, ट्राफिक लाइट, कोटेश्वर चोकको सवारी जाम र ट्राफिक चेकिङ गरी मात्रै २ मिनेट २ सेकेन्ड उक्त गाडी रोकिएको छ । ट्राफिक चेकिङका लागि उक्त सवारीसाधन करिब ४० सेकेन्ड रोकिएको ट्राफिक प्रहरीले जनाएको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेन्द्र प्रसाद भट्टका अनुसार बिदाको दिन भएकाले पास छ कि छैन भनेर सोधेको र चालकको लाइसेन्स हेरेर पास बोकेर हिँड्नु भनी सम्झाएर पठाइएको हो । त्यसबाहेक अरू केही भएकै थिएन । तर कोटेश्वर चोकमा ट्राफिक प्रहरीले बिदाको दिन चलाउने पास मागी ४० सेकेन्ड गाडी रोकिँदा मेयर बालेन शाहले अबदेखि फेरि महानगरको गाडी रोकेमा सिंहदरबारमा आगो लगाइदिने चेतावनी दिए ।

सामाजिक सञ्जालमा बालेनका समर्थकहरुले बालेनकी पत्नी सविना काफ्ले प्रसव पीडामा रहेको र सन्तान जन्माउन अस्पताल जाँदै गरेको टिप्पणीसमेत गरेका छन् । बालेनको विषयमा स्टाटस आएलगत्तै ‘रुटिन अफ नेपाल बन्द’को पोस्ट बालेनप्रतिको नकारात्मक टिप्पणी रोक्न र सहानुभूति बटुल्ने उद्देश्यका साथ आएको थियो । यद्यपि बालेन र सविनालाई सन्तान प्राप्ति भएको कुरा सत्य थियो । तर शनिबार साँझ बालेन पत्नीलाई प्रसव पीडा भएर अस्पताल लगिँदै गरेको भने होइन ।

करिब एक साता अगाडि नै उनले सन्तान जन्माइसकेकी थिइन् र उनी डिस्चार्ज समेत भइसकेकी थिइन् । तर नवजात शिशुलाई अस्पतालामै राखेर उपचार गर्नुपर्ने भएकाले बच्चा अस्पतालमै उपचारको क्रममा थियो । बालेनपत्नी सविना शनिबार अस्पताल पुगेर राति घर फर्किँदै थिइन् । त्यही क्रममा बालेनले चढ्ने गरेको उक्त सवारीसाधनलाई ट्राफिक प्रहरीले चेकजाँच गरेको थियो । मेयर बालेन शाहको अभिव्यक्ति पूर्वयुवराज पारस शाहसँग मेल खाएको भन्दै उनको अहिले सामाजिक संजालमा चर्को आलोचना भईरहेको छ । कतिपय आलोचकहरुले बालेन शाहलाई गणतन्त्रका राजकुमारको सिंहदरबार जलाउने धम्की भन्दै आलोचना गरिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस !