१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

सुरक्षा मापदण्ड पालना गर्दै विद्यालयमा पठनपाठन सुरु



लमजुङ । लमजुङको क्व्होलासोंथर गाउँपालिकाका सामुदायिक विद्यालयमा पठनपाठन सुरु भएको छ । गाउँपालिका भित्र रहेका माध्यमिक तथा आधारभूत विद्यालयमा असोज १ गतेबाट पठनपाठन भइरहेको विद्यालयले जनाएको छ । कोरोना संक्रमणका कारण लकडाउन भएपछि बन्द भएको विद्यालयहरुमा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै पठनपाठन थालिएको छ ।

गाउँपालिकाले सिकाई केन्द्र बनाएर सिकाई सहजीकरण गर्न निर्देशन दिए अनुसार असोज १ गतेबाट विद्यालयलाई सिकाई केन्द्र बनाएर पठनपाठन थालिएको हो । क्व्होलासोंथर गाउँपालिका ४ भुजुङको त्रिभुवन विद्याश्रम माध्यमिक विद्यालयका प्रधानाध्यापक दुर्गाबहादुर गुरुङका अनुसार सोमबारबाट विद्यालय सञ्चालन गरिएको छ । विद्यार्थीको रोल नम्बर अनुसार जोर विजोर प्रणाली अन्तर्गत विद्यालयमा पठनपाठन थालिएको उहाँले बताउनुभयो ।

‘विद्यालय आउँदा अनिवार्य मास्क लगाउन लगाइएको छ । गेटमै स्यानीटाइजर लगाउने व्यवस्था गरिएको छ । थर्मल गर्नमार्फत ज्वरो परीक्षण गरिने गरिएको छ’ उहाँले भन्नुभयो, ‘एउटा बेन्चमा २ जना मात्र राख्ने गरिएको छ । विहान १० बजेदेखि दिउँसो साँढे ३ बजेसम्म विद्यालयमा पठनपाठन भएको छ । सबै विषय पठनपाठन गरिएको छ ।’ २ सय ४४ जना विद्यार्थी रहेको विद्यालयमा अधिकांश विद्यार्थी आएका थिए । जिल्ला बाहिर रहेका शिक्षकलाई १४ दिन क्वारेन्टाइन राखेर, पीसीआर परीक्षण गरेर मात्र विद्यालयमा आउने व्यवस्था गरिएको प्रधानाध्यापक गुरुङले बताउनुभयो ।

क्व्होलासोंथर गाउँपालिका ६ पसगाउँस्थित पसगाउँ ठाँटी माध्यमिक विद्यालयका प्रधानाध्यापक रतनसिंह गुरुङका अनुसार स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर विद्यालयमा पठनपाठन थालिएको छ । सामाजिक दूरी कायम गरेर आइतबारबाट विद्यालयमा पढाई थालेको उहाँले बताउनुभयो । उहाँका अनुसार विद्यालयमा मास्क, स्यानीटाइजर अनिवार्य गरिएको छ । विद्यालयलाई सिकाई केन्द्र बनाएर जोरविजोर प्रणाली अनुसार पढाई भइरहेको उहाँले बताउनुभयो ।

विद्यालयमा १ सय ५० विद्यार्थी छन् । अधिकांश विद्यार्थी विद्यालय आएका छन् । बाहिर गाउँ गएका विद्यार्थीलाई तत्काल आउन दिइएको छैन । क्व्होलासोंथर गाउँपालिका भित्रका सबै विद्यालयमा पठनपाठन भइरहेको छ । अभिभावकसंग छलफल र गाउँपालिकाको निर्देशन विद्यालयमै सिकाई सहजीकरण गर्दै आएको विद्यालयहरुले बताएको छ । विद्यालयमा पठनपाठन गर्दा विद्यालय पोशाक भने अनिवार्य गरिएको छ ।

क्व्होलासोंथर गाउँपालिका ५ सिङ्दीसस्थित हिमालय माध्यमिक विद्यालयमा पनि आइतबारबाट पढाई सुरु भएको छ । वडाध्यक्ष गीतबहादुर गुरुङका अनुसार असोज १ गतेबाट विद्यालय सञ्चालन गर्ने भनिए पनि विभिन्न कारणले ४ गतेबाट सुरु गरिएको छ । स्वास्थ्य सुरक्षाको उच्च सतर्कता अपनाउँदै जोरविजोर प्रणालीबाट पढाई थालिएको उहाँले बताउनुभयो ।

क्व्होलासोंथर गाउँपालिका शिक्षा शाखा प्रमुख दीपक पौडेलका अनुसार कोरोना संक्रमणका कारण लामो समय विद्यालय बन्द रहँदा पढाई प्रभावित भएपछि विद्यालयमा सिकाई सहजीरकण गरिएको छ । करिव ६ महिना पढाई प्रभावित भएपछि विद्यालयलाई पायक पर्ने ठाउँमा सिकाई केन्द्र बनाएर सिकाई सहजीकरण गर्न निर्देशन दिएको बताउनुभयो । असोज १ गतेदेखि सिकाई सहजीकरण गर्न भनिए अनुसार विद्यालयले सिकाई सहजीकरण थालेको उहाँले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाले विद्यालयहरुलाई मास्क, स्यानीटाइजर, थर्मल गनलगायतको स्वास्थ्य सुरक्षा सामाग्री सहयोग गरेको छ ।

गाउँपालिकाले विद्यार्थीलाई अनिवार्य मास्क लगाउन, स्यानीटाइजर प्रयोग गर्न, सामाजिक दूरी कायम गर्न, भनिएको छ । सिट प्लान गर्न, शौचालय छुट्टाछुट्टै प्रयोग गर्न, खाजा घरबाटै लिएर आउन भनिएको छ । गाउँपालिकामा २९ वटा सामुदायिक विद्यालय छन् । ९ वटा माध्यमिक विद्यालय र २० वटा आधारभूत विद्यालय छन् ।


प्रतिक्रिया दिनुहोस !