१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

राष्ट्रिय सभाका २० जनाको पदावधि सकिँदै, माघ दोस्रो साता निर्वाचन



काठमाडौंँ । राष्ट्रिय सभाको आगामी निर्वाचनका लागि निर्वाचन आयोगले मतदाताको मतभार कायम गरेको छ । आयोगले राष्ट्रिय सभाका १९ सदस्यका लागि माघ दोस्रो साता निर्वाचन गर्ने तयारी गरेको छ । २०७८ को जनगणनाको तथ्यांकअनुसार मतदाताको मतभार पनि कायम गरेको छ । आयोगको बुधबारको बैठकले राष्ट्रिय सभाका मतदाता रहेका प्रदेशसभाका सदस्य र स्थानीय तहका अध्यक्ष उपाध्यक्ष तथा प्रमुख/उपप्रमुखको मतभार कायम गरेको हो । प्रदेशसभा सदस्यको मतभार ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको मतभार १९ कायम गरिएको छ । २०७८ को मतगणनाको प्रतिवेदन आउनुअघि राष्ट्रिय सभा निर्वाचक मण्डलका सदस्यहरू प्रदेश सांसदको मतभार ४८ थियो भने गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिका प्रमुख तथा उपप्रमुखको मतभार १८ थियो ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचक मण्डलका सदस्यहरूको मतभार कायम भइसकेपछि राष्ट्रिय सभा निर्वाचनको मितिबारे सरकारसँग परामर्श भइरहेको जानकारी दिए । निर्वाचन कहिले गर्ने भन्ने प्रस्ताव गृह मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा जाने व्यवस्था छ । थपलियाले मतभार कायम गरिएपछि उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग राष्ट्रिय सभाको आगामी निर्वाचनबारे बुधबार नै छलफल गरेका छन् । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० सांसदको पदावधि २०८० फागुन २० मा समाप्त हुन लागेको छ । राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ बमोजिम सभाका सदस्यको पदावधि सकिनु ३५ दिन पहिले निर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ । फागुन २० मा पदावधि समाप्त हुनेमा एमालेका ७ सांसद छन् ।

पदावधि सकिन लागेका राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना २०७४ मा एमालेबाट निर्वाचित भएका थिए । त्यसबाहेक इन्दु कडरिया, दीपा गुरुङ, दिलकुमारी रावल थापा, नरपति लुवार, भैरवसुन्दर श्रेष्ठ, रामचन्द्र राईको पनि पदावधि सकिन लागेको हो । राष्ट्रिय सभामा कांग्रेसबाट निर्वाचित पाँच सांसदको पनि पदावधि सकिन लागेको छ । त्यसमा अनिता देवकोटा, जितेन्द्रनारायण देव, प्रकाश पन्थ, रमेशजंग रायमाझी र दृगनारायण पाण्डे रहेका छन् । माओवादीका तीन जनाको पनि पदावधि सकिन लागेको छ । जसमा महेशकुमार महरा, बिना पोखरेल र हरिराम चौधरी छन् । एकीकृत समाजवादीका नन्दा चपाईं र सिंगबहादुर विश्वकर्माको पदावधि सकिन लागेको छ भने जसपाकी प्रमिला कुमारीको पनि पदावधि सकिन लागेको छ ।

त्यस्तै, स्वतन्त्रबाट निर्वाचित खिमलाल देवकोटाको पनि पदावधि सकिन लागेको छ । राष्ट्रिय सभा सदस्यमा राष्ट्रपतिबाट मनोनीत विमला राई पौड्यालको पनि पदावधि सकिन लागेको छ । पौड्यालको ठाउँमा मन्त्रिपरिषद्को सिफारिसमा एक जना मनोनीत हुनेछन् भने बाँकी १९ सांसदका लागि निर्वाचन हुन लागेको हो ।


प्रतिक्रिया दिनुहोस !