१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

इजरायल र हमासबीच अस्थायी युद्धविराम लम्ब्याउने सहमति



एजेन्सी । इजरायल र हमासबिच दुई दिनका लागि अस्थायी युद्धविराम लम्ब्याउने सहमति भएको छ । अमेरिकी राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले यस विस्तारित सम्झौता अन्तर्गत हमासले थप २० जना इजरायली बन्धकहरूलाई रिहा गर्ने बताएका छन्। योसँगै इजरायलको प्रधानमन्त्रीको कार्यालयले थप ५० जना प्यालेस्टिनी बन्दीलाई आफ्नो जेलबाट रिहा गर्ने जानकारी दिएको छ । प्रधानमन्त्रीको कार्यालयले मंगलबार बिहान भन्यो , ‘सरकारले थप ५० प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्न अनुमोदन गरेको छ, जसको बदलामा थप इजरायली बन्धकहरूलाई रिहा गरिएको छ।’

गएराति हमासले ११ इजरायली बन्दीलाई रिहा गरेको छ । जसमा जर्मन, फ्रान्सेली र अर्जेन्टिनाका नागरिक पनि सामेल थिए। यसैबिच, इजरायलले राति अबेरसम्म आफ्नो जेलबाट ३३ प्यालेस्टिनी नागरिकलाई रिहा गरेको छ । कतारको विदेश मन्त्रालयका प्रवक्ता माजेद अल अन्सारीले ट्विटरमा रिहा भएका ११ इजरायलीमध्ये धेरैसँग दुई देशको नागरिकता रहेको बताएका छन् । उनले लेखेका छन्, ‘गाजाबाट रिहा भएका इजरायलीहरूमा तीन फ्रान्सेली नागरिक, दुई जर्मन र छ अर्जेन्टिनाका नागरिक छन्।’

हमास र गाजाको स्थानीय मिडियालाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले सोमबार राति इजरायलले रिहा गरेका ३३ जनामध्ये ३० जना पुरुष र तीन जना महिला रहेको बताएको छ । यस अस्थायी युद्धविरामको विस्तारसँगै, राहत सामग्रीले भरिएका थप गाडीहरू गाजा पुग्न सक्नेछन्। अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेको थियो जसमा १२०० मानिस मारिएका थिए भने २४० जनालाई हमासले बन्धक बनाएको थियो । यसपछि इजरायलले गाजामा लगातार आक्रमण गरिरहेको छ जसमा १४५०० जनाको मृत्यु भएको छ ।


प्रतिक्रिया दिनुहोस !